काठमाण्डौ । भारतको केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलले डाभोसमा चलिरहेको सम्मेलनमा गहुँ र चिनीको निर्यातमा भारत सरकारले लगाएको प्रबन्धको बचाउ गरेका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार केन्द्रीय मन्त्री गोयलले घरेलु मागलाई ध्यानमा राखेर यो कदम चाल्नु आवश्यक भएको बताए। वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा विश्वव्यापी व्यापारको एकसत्रमा गोयलले यस विषयमा धेरै अनावश्यक हल्ला फैलिरहेको पनि बताए। गोयलले विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का प्रमुखलाई पनि छुट्टै भेटेका थिए।

‘भारतले हरित क्रान्ति सुरु हुनु अघिसम्म खाद्यान्नको निर्यातक कहिल्यै थिएन र आयात गरिरहेको थियो’, गोयलले भने, ‘केही वर्षदेखि हामीले स्वदेशी उपभोगका लागिमात्र उत्पादन गर्दै आएका थियौँ र दुई वर्षअघि मात्रै हामीले अतिरिक्त उत्पादन निकासी गर्न थालेका थियौँ, त्यो पनि एकदमै कम मात्रामा।’

‘हाम्रो धेरैजसो गहुँ गरिब देशहरुमा निकासी हुन्छ। दुर्भाग्यवश, गत वर्ष जलवायुको समस्या थियो र त्यसले गर्दा गहुँको उत्पादनमा ह्रास आयो र हामीले हाम्रो खाद्य सुरक्षा भण्डारबाट गहुँ फिर्ता लिनुपर्यो’, गोयलले भने।

भारतबाट गहुँ लिएर गरिब देशलाई महँगो मूल्यमा बेच्ने बिचौलियाप्रति पनि आफूहरुको ध्यान केन्द्रित रहेको गोयलले बताए। ‘डब्ल्यूटीओको नियमले अनुमति दिन्छ भने हामी समस्याग्रस्त देशहरुलाई सहयोग गर्न तयार छौँ’, उनले भने। 

रुसबाट तेल किन्ने निर्णयका सम्बन्धमा गोयलले भने, ‘भारतले रुसबाट आयात गर्ने तेल युरोपको तुलनामा सानो हिस्सा हो भनेर सरकारले पहिले नै स्पष्ट गरिसकेको छ। यसले कुनै पनि प्रतिबन्धहरु उल्लंघन गर्दैन।’ – एजेन्सी