काठमाण्डौ । ई–कमर्स प्लेटफर्म रिचार्जरले प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएकोमा क्षमा याचना मागेको छ। 

रिचार्जरले शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सम्म ह्याप्पी आवरमा ९९९ रुपैयाँमा अक्सिमिटर उपलब्ध गराउने घोषणा गरेको थियो। जसका कारण रिचार्जरको मोबाइल एप तथा वेब पोर्टलमा एकै समयमा लाखौँको संख्यामा आएको ट्राफिकका कारण एप तथा पोर्टल तत्कालका लागि अवरुद्ध हुन पुगेको छ। यसबाट आमसेवाग्राहीमा पर्न गएको असुविधाप्रति रिचार्जरले माफी मागेको छ।

दुवै प्लेटफर्ममा देखिएको समस्या निराकरणको काम भइरहेको बताउँदै ग्लोबल कि टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले सेवाग्राहीसँग क्षमा याचना मागेका छन्। 

एप सुचारु भएपछि पूर्वनिर्धारित मूल्यमा नै अक्सिमिटर उपलब्ध गराउने ग्लाइडरले जानकारी दिए। उनका अनुसार शुक्रबार ५ घन्टाका लागि मात्र बुकिङ तथा अर्डर लिने व्यवस्था गरिएकोमा एप सुचारु भएपछि सामान्य अवस्थामा पनि सोही मूल्यमा अक्सिमिटरका साथै अन्य कोभिडसम्बन्धी वस्तु तथा उपकरण उपलब्ध हुनेछ।