काठमाण्डौ । दैलेखका हरि थापा रोजगारीको सिलसिलामा विदेश जाने योजनामा छन्। त्यसका लागि छिटो प्रक्रिया अगाडि बढाउन उनी पासपोर्ट बनाउन काठमाण्डौ आएका छन्। तर, मंसिरबाट सरकारले लागू गरेको ई–पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि उनी अहिले जिल्ला प्रशासन कार्यालय काठमाण्डौको सयौँको भीडमा घन्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन्। 

सरकारले ई–पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ। तर, हरिले आफ्नै जिल्लामा राष्ट्रिय परिचयपत्र नबनाएका कारण घन्टौँदेखि काठमाण्डौ प्रशासनको राष्ट्रिय परिचयपत्र बनाउन आएका उनीजस्तै थुप्रै सेवाग्राहीबीच उभिन बाध्य भएका हुन्। 

काठमाण्डौमा ७७ वटै जिल्लाका मानिसहरु बसोबास गर्छन्। राष्ट्रिय परिचयपत्र अनलाइन आवेदन दिएर जिल्लाबाटै बन्ने भए पनि ई–पासपोर्ट बनाउनका लागि काठमाण्डौमै रहेका अन्य जिल्लाका बासिन्दा काठमाण्डौ प्रशासनमार्फत राष्ट्रिय परिचयपत्र बनाउन पाउने सरकारले व्यवस्था गरेको छ। सोहीका कारण केही दिनयता काठमाण्डौ प्रशासन कार्यालयमा बिहान २ बजेदेखि नै सयौँको भीड लाग्ने गरेको छ। 

कोभिडको जोखिम एकातिर अर्कोतिर विदेश जाने मोहमा परेकाहरुको भीड नियन्त्रण गर्न काठमाण्डौ प्रशासनले राष्ट्रिय परिचयपत्र बनाउन आउनेहरुका लागि टोकन प्रणाली लागू गरेको छ। तर सोही टोकन लिन पनि सयौँ मानिस पुग्दा अहिले काठमाण्डौ प्रशासन कार्यालयको कन्तबिजोग भएको छ। ‘टोकन पाउनै मुस्किल छ’, सप्तरी राजविराजका अर्का युवा महेश साहले भने, ‘अनलाइनबाटै टोकन लिने व्यवस्था गरिदिएको भए यसरी घन्टौँसम्म लाइन बस्नुपर्ने थिएन।’

त्यसो त सरकारले ई–पासपोर्टका लागि आवेदन भने अनलाइनबाटै दिन सकिने व्यवस्था गरेको छ। तर राष्ट्रिय परिचयपत्र पाउन अनलाइन आवेदन दिएर दर्ताका लागि भने भौतिक रुपमै उपस्थित भएर लिनुपर्ने बाध्यता छ।

अहिले काठमाण्डौ प्रशासनले दैनिक २०० वटा टोकन बाँड्ने गरेको छ। ‘तर राष्ट्रिय परिचयपत्र बनाउन आउने उपलब्ध गराइने टोकनको ४–५ गुणा बढी सेवाग्राहीहरु आउने गरेका छन्’, काठमाण्डौ प्रशासनकै एक अधिकारीले भने, ‘त्यसैले भोलिबाट ३०० वटासम्म टोकन बाँड्ने तयारी भइरहेको छ।’

अहिले भीड नियन्त्रण गर्न प्रशासनका कर्मचारी र सुरक्षा गार्डलाई हम्मेहम्मे पर्ने गरेको छ। 

त्यसो त सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र जिल्ला प्रशासन कार्यालय ललितपुरबाट पनि राष्ट्रिय परिचयपत्र बनाउन सकिने व्यवस्था गरेको छ। ‘यी ठाउँबाट पनि राष्ट्रिय परिचयपत्र बन्छ भन्ने सायद कमैलाई थाहा छ’, काठमाण्डौ प्रशासनका एक अधिकारीले भने, ‘नत्र यहाँ यतिधेरै भीड हुने थिएन।’