– रेखा चन्द

काठमाण्डौ । कम जोखिम र प्रतिफल बढी आउने क्षेत्रका रुपमा म्युुचुुअल फन्डलाई हेरिन्छ। म्युचुअल फन्डमा लगानी गर्ने लगानीकर्ताको पनि उत्तिकै चाप हुन्छ।

अघिल्ला वर्षहरुमा म्युचुअल फन्डहरुले मनग्य नाफा कमाए र लगानीकर्तालाई पनि सतप्रतिशतसम्म रिटर्न पनि दिए। तर, गत आर्थिक वर्षका लागि म्युुचुुअल फन्डहरुले घोषणा गरेको प्रतिफलमा निकै संकुचन आएको छ। 

गत आर्थिक वर्षका लागि आज बिहीबारसम्म ७ वटा म्युुचुुअल फन्डले प्रतिफल घोषणा गरेका छन्। अहिलेसम्म लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्विटी फन्ड, एनएमबी हाइब्रिड फन्ड, एनएमबी फिफ्टी, सिद्धार्थ इक्विटी फन्ड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम र एनआईबिएल प्रगति फन्डले नगद लाभांश घोषणा गरेका हुन्। यी सबैको प्रतिफलमा भारी गिरावट आएको हो। 

पछिल्लो एक वर्षयता निरन्तर सेयर बजार घटिरहेको छ। त्यसको असर म्युुचुुअलमा पनि परेको देखिन्छ। म्युचुुअल फन्डको नाफा घटेसँगै प्रतिफल घटेको हो। 

अघिल्ला वर्षहरुको तथ्यांक हेर्ने हो भने म्युचुअल फन्डहरुले आफ्ना लगानीकर्तालाई आकर्षिक प्रतिफल दिएका थिए। तर, अहिले बैंक तथा वित्तीय संस्थाहरुको मुुद्दति निक्षेपमा पाइने ब्याजदरभन्दा म्युचुअल फन्डहरुले दिने प्रतिफल अहिले एकदमै कम देखिएको छ। बैंकहरुले व्यक्तिगत मुुद्दति निक्षेपमा ११.०३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् भने संस्थागत मुुुद्दति निक्षेपमा भने ९.०३ प्रतिशत ब्याजदर दिइरहेका छन्। त्यसको तुलनामा केही म्युुचुुअलले भने अत्यन्तै कम प्रतिफल इकाइधनीहरुलाई दिएका छन्।

गत आर्थिक वर्षका लागि लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डले आफ्ना इकाइधनीलाई ५ प्रतिशतमात्रै प्रतिफल दिएका छन्। एनएमबि हाइब्रिड फन्ड र एनएमबि फिप्टीले २१.०५२६ प्रतिफल प्रदान गरेका छन्। सिद्धार्थ इक्विटी फन्डले ९ प्रतिशत, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमले १० प्रतिशत र एनआईबिएल प्रगति फन्डले ४.०२ प्रतिशत प्रतिफल दिएका छन्। 

अघिल्लो वर्ष लक्ष्मी उन्नति कोषले २५ प्रतिशत, लक्ष्मी इक्विटी फन्डले ३५ प्रतिशत, एनएमबि हाइब्रिड फन्डले २० प्रतिशत प्रतिफल दिएका थिए। यस्तै एनएमबि फिफ्टी, सिद्धार्थ इक्विटी फन्ड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमले ३० प्रतिशत र एनआईबिएल प्रगति फन्डले ५० प्रतिशत प्रतिफल इकाइधनीलाई दिएका थिए।

कुनै बेला लगानीकर्ताले मुुद्दति निक्षेपको रिटर्नभन्दा फन्डबाट धेरै रिटर्न पाइरहेको अवस्था थियो। तर, पछिल्लो समय म्युुचुुअलमा लगानी गर्न लगानीकर्ता नै झस्किएको अवस्था छ। जसकारण उनीहरुले सुुरक्षित र कम जोखिमका बाटो खोजिरहेका छन्। 

लगानीकर्ताले सुुरक्षित लगानीको बाटो खोजिरहेका बेला बैंकहरुले १० गुुणासम्म रकम फिर्ता पाइने योजना ल्याएपछि लगानीकर्ता बैंकतिर आकर्षित भएको हुन सक्ने जानकारहरु बताउँछन्। ‘अधिकांश लगानीकर्ताले फन्डमा लगानी नगरी बैंकले ल्याएको योजना सुरक्षित देखेर लगानी गरिरहेका हुन सक्छ’, एक बजार जानकारले भने। 

ग्लोबल आइएमई क्यापिटलका सीईओ पारसमणि ढकाल क्यासमा परिणत भएको नाफा नहुँदा म्युचुअल फन्डहरुको प्रतिफल घटेको हुन सक्ने बताउँछन्। ‘सेयरको प्राइसमात्रै बढेर हुँदैन, जस्तो १०० रुपैयाँमा किनेको सेयर ५०० रुपैयाँ भएको छ। तर, त्यो भएरमात्रै हुँदैन, त्यो सेयर ५०० रुपैयाँमा बेचेर पैसा आएको हुुनुुपर्छ’, उनले भने, ‘सायद त्यसैले म्युुचुुअल फन्डको प्रतिफल घटेको हुन सक्छ।’ 
सीईओ ढकालले सेयर बजार घट्दा म्युुचुुअल फन्डको नाफा, प्रतिफललगायत अटोमेटिक घट्ने बताए। 

एनआईबिएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना म्युुचुुअल फन्डले डाइरेक्ट मार्केटमा लगानी गर्ने र मार्केट तल आउँदा फन्डको लगानी घटेकाले प्रतिफलमा ह्रास आएको बताउँछन्। ‘म्युचुअल फन्डहरुले डाइरेक्ट मार्केटमा लगानी गरेका हुन्छन्, मार्केट तल आउँदा फन्डको प्रतिफल पनि घट्छ’, उनले भने। 

‘एनआईबिएल एस क्यापिटलको कुरा गर्ने हो भने पोहोर ५० प्रतिशत प्रतिफल दिएका थियौँ, त्यसले पनि न्याभ झरिसकेको थियो’, ढुंगानाले भने, ‘यसपालि ३० प्रतिशतसम्म प्रतिफल दिने सोचमा थियौँ तर लगानी गरेको सेयर घट्दा प्रतिफल खुुम्चियो।’