– रेखा चन्द

काठमाण्डौ । पछिल्लो समय वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटेको जानकारी ऋणीहरुलाई दिइरहेका छन्। हालसम्म आउँदा सानिमा, सिटिजन्स र एभरेस्ट बैंकले बेस रेटमा जोडिने प्रिमियम घटाएको जानकारी ऋणीलाई दिइसकेका छन्।

सानिमा र सिटिजन्सले २–२ प्रतिशत र एभरेस्टले १ प्रतिशत घटेको जानकारी आफ्ना ऋणीहरुलाई दिएका हुन् । पुस मसान्तसम्म सानिमा, सिटिजन्स, र एभरेस्ट बैंकको स्प्रेड रेट ४.३९ प्रतिशत, ४.३१ प्रतिशत र ४.३८ प्रतिशत रहेको थियो।

चैत मसान्तमा मात्रै ब्याजदर घटाउन पाउने व्यवस्था भए पनि नेपाल राष्ट्र बैंकले तोकेको औसत ब्याजदर अन्तर (स्प्रेड दर) कायम गर्नका लागि वाणिज्य बैंकहरुले प्रिमियम भने घटाउन सुरु गरेका हुन्।

बैंकहरुको ब्याजदर घटाउनुपर्ने माग राख्दै उद्योगी–व्यवसायीहरु सडक आन्दोलनमा उत्रिएर चर्को आलोचना गरेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले चैतबाट औसत स्प्रेड दर घटाउन निर्देशन दिएको थियो। राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको कार्यन्वयनको लागि जारी गरेको निर्देशनमा चैतबाट वाणिज्य बैंकहरुलाई औसत ब्याजदर अन्तर ४.२ प्रतिशत कायम गर्न भनेको थियो। असारदेखि भने वाणिज्य बैंकले स्प्रेड दर ४.० प्रतिशतमा झार्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा थियो। सोही अनुसार वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाउनतर्फ लागेका हुन्। 

स्प्रेड दर साइजमा ल्याउन वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएको हुन सक्ने एक पूर्वबैंकर बताउँछन्। ‘अहिले धेरैजसोको स्प्रेड दर ४ प्रतिशतभन्दा माथि रहेको छ’, ती पूर्वबैंकरले भने, ‘त्यसैले राष्ट्र बैंकले तोकेको समयमा तोकिएको स्प्रेड दर कायम गर्न बैंकहरुले कर्जाको ब्याजदर घटाएको हुन सक्छ।’

हाल अधिकांशको स्प्रेड दर सो सीमाभन्दा माथि रहेको छ। त्यसकारण सीमाभन्दा माथि रहेका बैंकलाई स्प्रेड दर घटाउनुपर्ने बाध्यता छ। पुस मसान्तसम्मको तथ्यांकका अनुसार नबिल बैंकको सबैभन्दा उच्च ४.४८ प्रतिशत स्प्रेड दर रहेको छ। 

नेपाल बैंकको ४.२६ प्रतिशत, राष्ट्रिय वाणिज्यको ४.०६ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाको ४.११ प्रतिशत, हिमालयनको ४.१५ प्रतिशत, नेपाल एसबिआईको ४.४० प्रतिशत, एनआईसी एसिया ४.३९ प्रतिशत, माछापुच्छ््रे ४.२५ प्रतिशत, कुमारीको ४.४२ प्रतिशत, लक्ष्मीको ४.३१ प्रतिशत, सिद्धार्थको ४.२२ प्रतिशत र ग्लोबल आइएमईको ४.३८ प्रतिशत रहेको छ। 

त्यसैगरी प्राइमको ४.३३ प्रतिशत, सनराइजको ४.०८ प्रतिशत, एनएमबीको ४.१९ प्रतिशत, प्रभुको ४.३४ प्रतिशत, ४.११ प्रतिशत स्प्रेड दर रहेको छ। यी बैंकहरुलाई स्पे्रड दर घटाउनुपर्ने बाध्यता छ।

यस्तै कृषि विकासको ३.७४ प्रतिशत र स्टान्डर्ड चाटर्डको भने ३.९३ प्रतिशत स्प्रेड दर रहेको छ। 

राष्ट्र बैंकका अनुसार विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि चैतबाट ४.८ प्रतिशत र असारदेखि ४.६ प्रतिशतमा झार्नुपर्नेछ।