काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लि (साबिकको एनआरएन) ले थप सार्वजनिक निष्कासन (फर्दर पब्लिक इस्यु) मार्फत १२ लाख ९८ हजार २५९ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। 

धितोपत्र निष्कासनसम्बन्धी सम्झौतापत्रमा किसान लघुवित्त वित्तीयका तर्फबाट प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाह र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्। किसान लघुवित्तको अधिकृत पुँजी १ अर्ब रुपैयाँ, जारी पुँजी ५२ करोड २६ लाख रुपैयाँ र चुक्तापुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ भने एफपीओमार्फत सेयर जारी गरेपश्चातसंस्थाको चुक्तापुँजी ५२ करोड २६ लाख रुपैयाँ हुनेछ। 

किसान लघुवित्त कम्पनी ऐन, २०६३ अन्तर्गत २०७५ साल माघ ७ गते पब्लिक लिमिटेड कम्पनीका रुपमा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको हो। २०७५ साल फाल्गुण ३ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस वित्तीय संस्थाले २०७५ साल फागुन १६ गतेदेखि आफ्नो वित्तीय कारोबारको शुुभारम्भ गरेको थियो। 

कैलालीको धनगढी–२ बैहाबेहडीमा  केन्द्रीय कार्यालय र काठमाण्डौ बुढानिलकण्ठ–८ मन्डीखाटारमा कर्पोरेट कार्यालय रहेको वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै किसान माइक्रोफाइनान्स, रामारोशन, क्रिएटिभ र दिव्य लघुवित्त मर्ज गरी आफ्नो कार्यक्षेत्र ४६ जिल्लामा विस्तार गरिसकेको छ। हाल यसका १३६ वटा शाखाबाट १ लाख १० लाख ५७८ ग्राहक सदस्यलाई सेवा दिइरहेको र हालसम्म १ अर्ब ७ करोड २५ लाख रुपैयाँ बचत र ५ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी रहेको छ।