काठमाण्डौ । कुनै समय भारतमा लामो समय शासन गर्यो। आज उसैको अर्थतन्त्र नाजुक अवस्थाबाट गुज्रिरहेको छ। हो, हामी बेलायतको कुरा गर्दैछौँ। तर, बेलायती शासनबाट स्वतन्त्रता प्राप्त गरेपछि मात्रै सात दशकमा विश्वकै तीव्रगतिमा वृद्धि भएको भारतको अर्थतन्त्रको तुलनामा बेलायतको अर्थतन्त्र ३०० वर्षयताकै ठूलो गिरावट आएको छ।

कोरोनाबाट अर्थतन्त्रमा नराम्ररी प्रभावित

रोयटर्सको रिपोर्टका अनुसार बेलायतलगायत विश्वभर कोरोना महामारीको प्रकोप जारी रहँदा सन् २०२० मा उत्पादनमा सबैभन्दा ठूलो गिरावट आएको थियो। सोमबार जारी गरिएको आधिकारिक तथ्यांकले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमध्येको एक बेलायतले महामारीमा ठूलो प्रभाव पारेको खुलासा भएको छ। जसका कारण बेलायतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अन्य ठूला अर्थतन्त्रहरुको तुलनामा धेरै खराब देखिएको छ। 

जीडीपीमा ११ प्रतिशतको गिरावट

तथ्यांक सार्वजनिक गर्दै अफिस फर नेसनल स्ट्याटिस्टिक्स (ओएनएस) ले सन् २०२० मा बेलायतको जीडीपी ११ प्रतिशतले घटेको जनाएको छ। यो तथ्यांक ओएनएसले गरेको प्रक्षेपणभन्दा धेरै हो। प्रतिवेदनका अनुसार यो सन् १७०९ यता बेलायतको जीडीपीमा सबैभन्दा ठूलो गिरावट हो।

ग्रेट फ्रस्टपछिको सबैभन्दा ठूलो गिरावट

ओएनएसले यसअघि बेलायतको अर्थतन्त्रमा आएको गिरावटको मापनलाई ९.३ प्रतिशतमा परिमार्जन गरेको थियो। जुन पहिलो विश्वयुद्धपछिको सबैभन्दा ठूलो हो। तर, जीडीपीमा यो अनुमानभन्दा धेरै गिरावट देख्न सकिन्छ। 

प्रतिवेदनका अनुसार सन् २०२० मा उत्पादनमा आएको गिरावट सन् १७०९ को ‘ग्रेट फ्रस्ट’ पछिको सबैभन्दा ठूलो गिरावट हो। नयाँ तथ्यांकले स्पेनलाई पनि उछिनेको छ। जहाँ सोही अवधिमा उत्पादन १०.८ प्रतिशतले घटेको छ।

सेप्टेम्बर ३० मा आउनेछ नयाँ आँकडा

जीडीपीमा आएको गिरावटले बेलायतमा स्वास्थ्य सेवा र खुद्रा बिक्रेताहरुको योगदान पहिलेको तुलनामा कम भएको देखाउँछ। ओएनएस अर्थशास्त्री क्रेग म्याक्लारेनले भने, ‘स्वास्थ्य सेवाले सुरुमा हामीले सोचेको भन्दा बढी लागतको सामना गर्नुपरेको थियो। यसको अर्थ अर्थतन्त्रमा यसको समग्र योगदान कम थियो।

ओएनएसले सन् २०२१ र २०२२ को पहिलो ६ महिनाको आर्थिक वृद्धिदरको तथ्यांक आउँदो सेप्टेम्बर ३० मा सार्वजनिक गर्नेछ। 

मुद्रास्फीति १८ प्रतिशत पुग्ने प्रक्षेपण

बेलायतमा सन् २०२३ मा मुद्रास्फीति १८ प्रतिशत पुग्ने अनुमान गरिएको छ। जुन बेलायतको केन्द्रीय बैंक ‘बैंक अफ इंग्ल्यान्डले गरेको अनुमानभन्दा बढी हो। केन्द्रीय बैंकले १३ प्रतिशत रहने अनुमान गरेको थियो। 

अमेरिकी बैंक सिटीका अर्थशास्त्री बेन्जामिन नाबारोले सोमबार यस्तो अनुमान गरेका हुन्। ‘मुद्रास्फीति नियन्त्रण गर्न बेलायतले कस्तो खाले नीति निर्माण गर्ला भन्ने प्रश्न उठेको छ’, उनले भने।

बेलायतको यो मुद्रास्फीति ४६ वर्षयताकै उच्च हो। यसअघि सन् १९७६ मा बेलायतको मुद्रास्फीति १८ प्रतिशत थियो। –एजेन्सी