काठमाण्डौ । देशका १९ वटा जीवन बिमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ मा ३ हजार ३८० करोड प्रथम बिमा शुल्क आर्जन गरेका छन् । 

जीवन बिमा कम्पनीहरुको विजिनेश ग्रोथलाई मापन गर्ने एक महत्वपूर्ण सूचक प्रथम बिमा शुल्क आर्जन हो । यसले कुन कम्पनीले नयाँ विजिनेशमा कुन स्तरको ग्रोथ गरेको छ भन्ने देखाउँछ । अर्थात, कुन कम्पनीले नयाँ विजिनेश कति ल्यायो भन्ने हो । 

बिमा समितिले तयार गरेको एक तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा १९ वटा जीवन बिमा कम्पनीहरुले ३ हजार ३८० करोड रुपैयाँ बराबरको प्रथम बिमा शुल्क आर्जन गरेका छन् । 
प्रथम बिमा शुल्क आर्जनमा गत आबमा कुन जीवन बिमा कम्पनीको रफ्तार कस्तो छ त ?

बिमा समिति स्रोतका अनुसार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले १०१६ करोड प्रथम बिमा शुल्क आर्जन गरेको छ । एलआइसी नेपालले ४१६ करोड, युनियन लाइफले २८६ करोड, नेशनल लाइफले १६७ करोड प्रथम बिमा शुल्क आर्जन गरेको छ । 

विभिन्न जीवन बिमा कम्पनीहरुको शाखा संख्या(आउटलेट संख्या) फरक फरक हुनाले प्रथम बिमा शुल्क आर्जनको कुल रकमलाई मात्र हेरेर कुन बिमा कम्पनीले कति प्रगति गर्यो भन्ने हो भने राम्रो गर्नेमाथि अन्याय हुनसक्छ । तसर्थ हामीले यहाँ शाखा संख्याको तुलनामा प्रति शाखा औसतमा कुन कम्पनीले प्रथम बिमा शुल्क आर्जनमा कति ग्रोथ गर्यो भन्ने कुरा विश्लेषण गर्न खोजेका छौ । 

कुल आउटलेट(शाखा)को आधारमा प्रथम बिमा शुल्क आर्जनतर्फको ग्रोथलाई हेर्ने हो भने राष्ट्रिय बिमा संस्थान सबैभन्दा अगाडि देखिएको छ । यो कम्पनीको आउटलेट संख्या १४ मात्र छ । गत आबमा कम्पनीले ९२ करोड रुपैयाँ बराबरको प्रथम बिमा शुल्क आर्जन गरेको थियो । यो हिसाबले यो कम्पनीले प्रतिशाखा औसतमा ६ करोड ५७ लाख रुपैयाँ बराबरको प्रथम बिमा शुल्क आर्जन गर्ने सफलता पाएको देखिन्छ । 

दोश्रोमा लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेड रहेको छ। यसका ७९ वटा आउटलेट छन्, कुल प्रथम बिमा शुल्क आर्जन ४१६ करोड रुपैयाँ छ । यसरी हेर्दा औसतमा प्रतिआउलेट प्रथम बिमा शुल्क आर्जन रु. ५ करोड २७ लाख रहेको छ । 

तेश्रोमा नेपाल लाइफ इन्स्योरेन्स छ । यो कम्पनीको कुल प्रथम बिमा शुल्क सबैको भन्दा बढी १ हजार १६ करोड रहे पनि शाखा संख्या(आउटलेट संख्या) १९६ रहेकोले प्रति आउटलेट औसतमा प्रथम बिमा शुल्क रु. ५ करोड १८ लाख रहेको छ । शाखा संख्या यति धेरै भएर पनि प्रथम बिमा शुल्क आर्जनमा नेपाल लाइफले कायम गरेको यो स्तर निकै उत्साहवद्र्धक देखिन्छ । 

मेटलाइफका ३३ वटा आउटलेट छन् । कुल प्रथम बिमा शुल्क आर्जन १३३ करोड रहेकोले उसको प्रति आउटलेट औसत प्रथम बिमा शुल्क आर्जन ३ करोड ९४ लाख रुपैयाँ देखिन्छ । 

टप टेनमा को–को ?

आउटलेट संख्या र सम्बन्धित कम्पनीले आर्जन गरेको प्रथम बिमा शुल्कलाई हेरी औसत विजिनेश ग्रोथको यो सूचिको टप टेनमा नेशनल लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स, रिलायवल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र प्रभू लाइफ इन्स्योरेन्स रहेका छन् । 

नेशनल लाइफले प्रति आउटलेट औसतमा १ करोड ६७ लाख प्रथम बिमा शुल्क आर्जन गरेको छ भने युनियन लाइफले १ करोड ६० लाख आर्जन गरेको छ । 

जीवन बिमाको भीडमा कान्छो कम्पनी महालक्ष्मी लाइफको प्रगति लोभलाग्दो देखिएको छ । कान्छो कम्पनी भएर पनि आउटलेट संख्याको आधारमा निकालिएको औसत प्रथम बिमा शुल्क आर्जनमा उसले ७ औं स्थानमा उक्लिने सफलता पाएको छ । महालक्ष्मी लाइफको देशभर ६० वटा आउटलेट छन् । उसले गत आबमा ८० करोड प्रथम बिमा शुल्क आर्जन गरेको छ । यो हिसाबले प्रतिआउटलेट औसतमा प्रथम बिमा शुल्क आर्जन १ करोड ३३ लाख कायम गर्न महालक्ष्मी सफल देखिएको छ । 

रिलायवल लाइफ इन्स्योरेन्सको प्रतिआउटलेट औसत बिमाशुल्क आर्जन १ करोड ३० लाख, सूर्याको १ करोड २२ लाख र प्रभूको १ करोड १९ लाख रुपैयाँ रहेको छ। 

यो सूचिमा आइएमई लाइफ, सन–नेपाल लाइफ र सानिमा लाइफ अन्तिममा पुगेका छन् । सानिमा लाइफका ९२ आउटलेट छन्, उसले गत आबमा कुल ५५ करोड मात्रै प्रथम बिमा शुल्क आर्जन गर्न सक्यो । यसो हुँदा प्रतिआउटलेट औसत प्रथम बिमा शुल्क ६० लाख रुपैयाँ मात्र आर्जन गर्न सकेको देखिन्छ । 

पुरानो कम्पनी भएर पनि प्राइम लाइफ प्रतिआउटलेट प्रथम बिमा शुल्क आर्जनमा निकै पछाडि देखिएको छ । यो कम्पनीको औसत प्रतिआउटलेट प्रथम बिमा शुल्क आर्जन ९४ लाख रुपैयाँ मात्र देखिएको छ । प्राइमको देशभर १२७ आउटलेट छन् र उसले गत आबमा कुल ११९ करोड प्रथम बिमा शुल्क आर्जन गरेको थियो । 

प्राइमसँगै रिलायन्स लाइफ, आइएमई लाइफ र सन–नेपाल लाइफ इन्स्योरेन्सको प्रतिआउटलेट औसत प्रथम बिमा शुल्क आर्जन १ करोड रुपैयाँभन्दा तल छ । 

गुराँस लाइफ, सिटिजन्स लाइफ, एशियन लाइफको औसत प्रतिआउटलेट प्रथम बिमा शुल्क आर्जन १ करोड रुपैयाँभन्दा माथि छ ।