काठमाण्डौ । शुक्रबार बसेको बिमा समिति बैठकले बिमा कम्पनीहरुको चुक्तापूँजी साबिकको व्यवस्था भन्दा चार गुणाको दरले वृद्धि गर्न २०७५ को असार मसान्तसम्मको म्याद दिएपछि यसले बजारमा तरंग पैदा गरेको छ । 

नयाँ व्यवस्थाअनुसार जीवन बिमा कम्पनीको अब न्यूनतम चुक्तापूँजी २ अर्ब हुनुपर्नेछ भने निर्जीवन बिमा कम्पनीको चुक्तापूँजी १ अर्ब पुर्याउनुपर्नेछ । 

अधिकांश बिमा कम्पनीहरुले साबिककै व्यवस्था अनुसार समेत चुक्तापूँजी पुर्याउन नसकिरहेको बेला बिमा समितिले तोकेको नयाँ सीमाले धेरैलाई सकस हुने देखिन्छ । हालसम्म निर्जीवन बिमा कम्पनीको चुक्तापूँजी २५ करोड र जीवन बिमा कम्पनीको चुक्तापुँजी ५५ करोड हुनुपर्ने प्रावधान थियो । यो अवस्थामा धेरैले चुक्तापूँजी पुर्याउन सकेका छैनन् । कतिपयको अवस्था त अझ दयनीय छ । यो अवस्थामा हकप्रदको बाढी आउने संभावना हुनेछ भने अर्कोतर्फ बिमा कम्पनीहरुबीच मर्जरको संभावना पनि उत्तिकै प्रवल हुनेछ । 

तर, केही बिमा कम्पनीहरुको अवस्था चाहि चुक्तापूँजीको हिसाबले निकै सुदृढ छ । उनीहरुले तोकिएको पूँजी पुर्याउनुपर्ने आवश्यकता नै छैन । कतिपय बिमा कम्पनी सुविधाजनक अवस्थामा समेत छन् । 

हेरौं कुन बिमा कम्पनीको चुक्तापुँजीको अवस्था के छ ?

जीवन बिमा कम्पनीतर्फ


बिमा समितिले जीवन बिमा कम्पनीको चुक्तापूँजी २ अर्ब हुनैपर्ने नयाँ प्रावधान ल्याएको छ । यो व्यवस्था अनुसार अहिले नै उच्च चुक्तापूँजी भएको एक मात्र कम्पनी नेपाल लाइफ इन्स्योरेन्स हो । जसको चुक्तापुँजी ३ अर्ब ९ करोड बढी रहेको छ । यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको हाल चुक्तापूँजी १ अर्ब ३३ करोड बढी छ । यो कम्पनीले सतप्रतिशत हकप्रदको प्रस्ताव गरिसकेको छ । हकप्रदपछि नेशनल लाइफको चुक्तापूँजी २ अर्ब ६७ करोडको उचाईमा पुुग्नेछ । यो हिसाबले नेशनल लाइफलाई पनि तोकिएको चुक्तापूँजीको मापदण्ड पूरा गर्न कुनै सकस हुनेछैन । बाँकी ५ जीवन बिमा कम्पनीलाई भने केही सकस हुने देखिएको छ । त्यसमध्ये पनि ४ कम्पनीको चुक्तापूँजी अहिले १ अर्ब समेत छैन । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको चुक्तापूँजी १ अर्ब ७ करोडको हाराहारीमा छ । यस्तै, प्राइम लाइफको सबैभन्दा कम ४९ करोडको हाराहारी, गुराँस लाइफको ५५ करोड, सूूर्य लाइफको साढे ६२ करोड र एशियन लाइफको साढे ८० करोड रहेको छ । यीमध्ये एशियनले ५० प्रतिशत हकप्रदको प्रस्ताव गरेको छ भने अन्यले ५ देखि २५ प्रतिशतसम्मको हाराहारीमा बोनस सेयर प्रस्ताव गरेका छन् । 

निर्जीवन बिमा कम्पनीतर्फ


१५ वटा निर्जीवन बिमा कम्पनीहरुमध्ये ८ वटाको चुक्तापूँजी ५० करोड भन्दा तल छ । सबैभन्दा नाजुक अवस्था एभरेष्ट इन्स्योरेन्सको रहेको छ । यो कम्पनीको चुक्तापूँजी १० करोड मात्र छ । यो हिसाबले यो कम्पनीले तोकिएको चुक्तापूँजीका लागि १० गुणा बढी पुँजी थप्नुपर्ने ठूलो चुनौति छ । यस्तै, राष्टिय विमा कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, एनबी इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्सको अवस्था पनि उस्तै नाजुक छ । यी कम्पनीहरुको हाल चुक्तापूँजी क्रमशः १२ करोड ४४ लाख, २८ करोड ७६ लाख, २७ करोड र ३० करोड २४ लाख रहेको छ । यीमध्ये एनबी इन्स्योरेन्सल सतप्रतिशत हकप्रद प्रस्ताव गरेको छ । हकप्रद निश्कासनपछि पनि यसको अवस्था निकै सकसपूर्ण नै हुनेछ । 

एफपीओ निश्कासन प्रस्ताव गरेको प्रिमियर इन्स्योरेन्सको हाल चुक्तापूँजी ४५ करोडको हाराहारीमा छ । ३० प्रतिशत हकप्रदको प्रस्ताव गरेको प्रूडेन्सियल इन्स्योरेन्सको चुक्तापूँजी ४३ करोडको हाराहारीमा छ । यस्तै, सिद्धार्थ इन्स्योेरेन्सको ४५ करोडको हाराहारी, एनएलजी इन्स्योरेन्सको ५१ करोड, सगरमाथा इन्स्योरेन्सको ५४ करोडको हाराहारी र हिमालयन जनरल इन्स्योरेन्सको ३८ करोड ५२ लाख चुक्तापुँजी रहेको छ । सगरमाथाले पनि एफपीओ निश्कासनको प्रस्ताव गरेको छ । 

प्रभूू इन्स्योरेन्सको चुक्तापूँजी ५८ करोडको हाराहारी, सतप्रतिशत हकप्रद निश्कासनको प्रस्ताव गरेको लुम्बिनी जनरल इन्स्योरेन्सको चुक्तापूँजी ३९ करोड, नेको इन्स्योेरेन्सको ७१ करोड २९ लाख चुक्तापूँजी रहेको छ । प्रतिकित्ता १६२० रुपैयाँमा एफपीओ निश्कासनको प्रस्ताव गरेको शिखर इन्स्योरेन्सको चुक्तापूँजी ८२ करोडको हाराहारीमा छ ।