काठमाण्डौ । कुमारी बैंक लिमीटेड अन्य बैंकमा गएर नमिसिने, बरु बलिया कम्पनीलाई गाभेर ठूलो बैंक बन्ने अभियानमा लाग्ने भएको छ ।

बैंकका एक उच्च अधिकारीले बिजशालालाई दिएको जानकारी अनुसार कुमारी बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग बिलय नहुने, बरु अरुलाई प्राप्ति गरी ठूलो आकारको बैंक बन्ने रणनीतिमा छ।

‘मौद्रिक नीति पनि भर्खरै आएको छ । अब हामी पनि मर्जरको उपयुक्त पार्टनर खोज्नतर्फ लाग्छौ ।’ ती अधिकारीले भने–‘तर, हामी अरुसँग बिलाएर नजाने, बरु अरुलाई ल्याएर बलियो बैंक बन्ने रणनीतिमा दृढ छौ, त्यही अनुसारको अभियान पनि सुरु भइसकेको छ।’ 

यो क्रममा कुमारी बैंकले केही कमजोर वाणिज्य बैंक र विकास बैंकहरुसँग कुराकानी अगाडि बढाउन सक्ने उनले संकेत गरे । 

ती अधिकारीले अरुमा बिलय नहुने, बरु अरुलाई ल्याएर आफूमा बिलय गराउने रणनीति सुनाइरहेको बेला आइतबार बैंकको टंगालस्थित मुख्य कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले भने बैंकले उपयुक्त मर्जर पार्टनर खोजिरहेको मात्र बताए ।

‘हामी उपयुक्त मर्जर पार्टनर भेटिएमा मर्जमा जानेछौ र ५–६ महिनाभित्रै यो काम सकिन पनि सक्छ ।’ उनले भने–‘नेपालमा आवश्यक भन्दा बढी बैंक भए भन्ने मेरो प्रष्ट धारणा छ । मर्जरमा लगेर संख्या घटाउन आवश्यक छ ।’ 

कतिपय बैंकहरुले मर्जर पार्टनरका लागि गृहकार्य गरिरहँदा समेत कुमारी बैंक भने मौद्रिक नीतिको प्रतिक्षामा थियो । मौद्रिक नीतिमा हुने व्यवस्था पछि मात्र कसरी अगाडि बढ्ने भन्ने रणनीतिमा रहेको यो बैंकले नीति आएपछि अरुलाई गाभेर ठूलो आकारको बैंक बन्ने निश्कर्ष निकालेको हो ।