काठमाण्डौ । कुबेतमा रोजगारको सिलसिलामा पुगेका ३०० नेपाली आज बिहीबार स्वदेश फर्किंदैछन्।

कुवेत सरकारकै पहलमा स्वदेश फर्किन चाहने नेपाली कामदारहरु दुईवटा फ्लाइटमा स्वदेश फर्किन लागेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले जनाएको छ । जजिरा एयरलाइन्सका दुई विमान उनीहरु बिहान साढे ११ र दिउँसो साढे १ बजे गरी दुई फ्लाइटमा आउने सीसीएमसीले बतायो।

कुवेतबाट बिहीबार स्वदेश फर्किन लागेका नेपालीमा अधिकांश महिलाहरु रहेका बताइएको छ । उनीहरु त्यहाँ घरेलु कामदारका रुपमा कार्यरत छन्।

कुवेतमा विमानमा चढ्नुअगाडि स्वास्थ्य परीक्षण हुने र संक्रमणको शंका देखिएकालाई रोकिन सक्ने सीसीएमसीले जनाएको छ। दुई विमानमा १५० का दरले नेपाली कामदार आउनेछन्। 

कुवेतबाट फर्किने नेपालीहरुलाई सुरक्षित रुपमा विमानस्थलबाट बाहिर निकाल्ने र क्वारेन्टाइनमा लगेर राख्ने तयारी भइरहेको सीसीएमसीले जनाएको छ ।

यसअघि गत शुक्रबार दुबईबाट १६८ र म्यानमारबाट पनि २६ नेपाली स्वदेश फर्किसकेका छन्। उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको छ।