काठमाण्डौ । नेपाल उद्योग परिसंघ र नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो माइकलसेन डेन हार्टोगबीच छलफल भएको छ।
ब्राजिलले इन्धनका रुपमा प्रयोग गर्दै आएको इथानल प्रविधि, ब्राजिलमा निर्यात हुने नेपाली वस्तु, छात्रवृत्ति, एवं पर्यटन क्षेत्रका विषयमा परिसंघ र राजदूतबीच छलफल भएको हो।
राजदूत हार्टोगलाई परिसंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष विष्णुकुमार अग्रवालले कृषि, सेवा, उत्पादनमूलक उद्योगको प्रवर्द्धनसहित समग्र देशको आर्थिक समृद्धिका लागि काम गर्दै आएको बताए। परिसंघले स्वदेशी उत्पादन बढाउन जोड दिँदै आएको र कृषि क्षेत्रमा ब्राजिलले प्रयोग गरिरहेको प्रविधि नेपालमा भित्र्याउन सहयोग गर्न राजदूतलाई आग्रह गरे। त्यसका लागि परिसंघ र राजदूतावासले सहकार्य गर्दै अगाडि बढ्ने सहमतिसमेत भएको छ।
राजदूत हार्टोगले लामो समयदेखि ब्राजिलको व्यापार नीतिमा काम गर्दै आएको अनुभवका आधारमा व्यापारमार्फत विश्व बजारमा स्थापित हुन सकिने बताए। ब्राजिल कफी, चिनी, भटमास, सोयाविन तेल उत्पादनमा विश्वको अग्रणी मुलुक हो।
प्रविधिको प्रयोगका कारण कृषि क्षेत्रमा ब्राजिलले गरेको प्रगती, र त्यस्तो प्रविधि नेपालमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो।
राजदूत हार्टोगले नेपालले निर्यातमा जोड दिँदै प्रविधिको प्रयोग बढाउनुपर्ने बताए। ‘ब्राजिल कृषि विज्ञानमा निकै अगाडि रहेछ। हाम्रो ज्ञान, र प्रविधि नेपालको कृषि क्षेत्रको विकास लागि हामी प्राविधिक सहकार्य गर्न तयार छौँ’, उनले भने।
राजदूत हार्टोगले ब्राजिलले विकासशील मुलुकका लागि दिँदै आएको छात्रवृत्तिबाट नेपालले पनि लाभ लिन सक्ने बताए।
भेटमा नेपालबाट निर्यात हुने हस्तकला सामग्रीको प्रवर्द्धन र दुई देशबीच पर्यटन प्रवर्द्धनमा पनि सहकार्य गर्नेलगायतका विषयमा छलफल भएको थियो। यसका लागि नेपाली निजी क्षेत्र र ब्राजिलको निजी क्षेत्रसँग समन्वय गराउनसमेत आफूले भूमिका खेल्ने प्रतिबद्धता उनले व्यक्त गरे।
छलफलमा परिसंघका निवर्तमान अध्यक्ष शतिस कुमार मोर, कृषि परिषद् सभापति विकास दुगडसहित राहुल अग्रवाल, हितेश गोल्छा, सागर गौतम, सतिश श्रेष्ठ, महानिर्देशक दिपकराज जोशी सहभागी थिए।
15 minutes ago
24 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
13 hours ago
13 hours ago
13 hours ago