काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले स्थापनाकालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभई कृषिलाई पहिलो प्राथमिकता दिई कर्जा प्रवाह गर्न कृषि विकास बैंकलाई निर्देशन दिएका छन्।

कृषि विकास बैंकको ५५ औँ वार्षिकोत्सवलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन्। नेपाल सरकारले अगाडि सारेका लोककल्याणकारी कार्य र उत्पादनमुखी कार्यलाई समेत प्राथमिक दिई समग्र वाणिज्य बैंकिङ व्यवसाय सञ्चालन गर्न पनि शर्माले निर्देशन दिए। 

कृषि विकास बैंकलाई स्थापनाकालदेखि हाल ५५ औँ वर्षसम्ममा सफलतापूर्वक ल्याई पुर्याउने सम्पूर्ण बैंक परिवार र सम्बद्ध पक्षलाई बधाइ दिँदै मन्त्री शर्माले आगामी दिनमा थप सफलताका लागि शुभकामनासमेत व्यक्त गरे। 

कार्यक्रमका विशिष्ठ अतिथि तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कृषि विकास बैंक पछिल्लो समय “क” वर्गको वाणिज्य बैंकका रुपमा संचालन भए पनि कृषिलाई पहिलो प्राथामिकता दिएर नै आफ्नो बैंकिङ व्यवसाय सञ्चालन गरिरहेको देखिएको बताए। ‘गत वर्षको मौद्रिक नीतिले कृषि क्षेत्रमा थप लगानी अवसर सिर्जना गर्नका लाागि कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकका रुपमा रहने गरी कृषि बन्ड जारी गर्ने अवसर प्रदान गरेअनुरुप कृषि बण्ड जारी गरिसकेको छ’, उनले भने।

किसानहरुको सुविधाका लागि किसान क्रेडिटकार्डको व्यवस्था गरेको र आगामी दिनहरुमा वाणिज्य बैंकिङलगायत कषि र किसानहरुको प्रगतिका लागिसमेत टेवा पुग्ने खालका कार्यक्रम सञ्चालन गर्न निर्देशन पनि अधिकारीले दिए। 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैंकका गतिविधिहरु प्रस्तुत गरेका थिए। करिब १५ लाख निक्षेपग्राहीको १ खर्ब ५८ अर्ब निक्षेप संकलन, १ लाख ५६ हजार कर्जाग्राहीलाई करिब १ खर्ब ७५ अर्ब कर्जा प्रवाह गरेकोमा करिब ४० प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह, सुन कर्जा, सुन खरिदबिक्री, विदेशी मुद्रा खरिदबिक्री, लकर सेवा, प्रतितपत्र कारोबार, ट्रस्ट रिसिप्ट कर्जा, जमानत कारोबार, सेयर धितोमा कर्जालगायतका विषय माथि उनले प्रकाश पारेका थिए। 

बैंकलाई प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग पुर्याउने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जलगायतलगायत सबै निकाय र दातृ निकायहरुप्रति उपाध्यायले आभार व्यक्त गरे। 

कुशल एवं प्रभावकारी बैंकिङ सेवा प्रवाहका माध्यमबाट उच्च गुणस्तरयुक्त सम्पत्तिको निरन्तर सिर्जना र त्यसबाट प्राप्त प्रतिफल बैंकका सबै हिस्सेदारसमक्ष न्यायपूर्ण ढंगबाट वितरण गर्न सम्पूर्ण बैंक परिवारका तर्फबाट उपाध्यायले प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रमको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष रमेशकुमार केसीले गरेका थिए।