काठमाण्डौ । नबिल बैंकले नेपालमै पहिलोपटक आयोजना हुन गइरहेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ मा सहकार्य गर्न आर एन्ड डी. इनोभेटिभ सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ। 

नेपाल कृषि मेसिनरी व्यवसायी संघद्वारा आउँदो माघ ५ देखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टर नारायणगढमा आयोजना हुन गइरहेको पाँचौँ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदशनीमै एकैसाथ ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’को आयोजना आर एन्ड डी इनोभेटिभ सोलुसन्सले गर्दैछ। कृषिसम्बन्धी सम्पूर्ण सरोकारवाला जस्तै– किसान, उद्यमी, कृषि व्यापारी, प्रविधि प्रदायक, वित्तीय संस्था र नीति निर्माताहरुलाई एउटै थलोमा ल्याउने उक्त मेलाको प्रमुख उदेश्य रहेको छ।

नबिल बैंकद्वारा प्रस्तुत हुन गइरहेको उक्त मेलाको प्रमुख आकर्षण ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ कार्यक्रममा कृषि लगानी सम्बन्धि समस्या समाधान गर्न वित्तीय संस्था, नीति निर्माता, किसान र स्थानीय सरकारहरुबीचको व्यावहारिक अनुभवका आधारमा खुला र रचनात्मक छलफललाई प्राथमिकता दिइने रहेको छ।

उक्त सहकार्यका लागि नबिल बैंकका तर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख निरजकुमार बस्नेत (डनिल) र आर एन्ड डी इनोभेटिभ सोलुसन्सका तर्फबाट अध्यक्ष सुनिता न्हेम्हाफुकीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

कृषि कर्जा मेलामा आयोजना हुन लागेको ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’को प्रस्तुति गर्न पाउँदा नबिल बैंक गौरवान्वित भएको बस्नेतले बताए। ‘उक्त संवाद कार्यक्रममा कृषि क्षेत्रका सबै सरोकारवालालाई एउटै थलोमा रहेर बैंकिङ संस्थाको कर्जा आवेदन प्रक्रिया र कार्यविधि, किसानहरूले भोग्ने समस्या र नीति नियमबीचको अन्तर, किसान, उद्यमी र कृषि व्यापारीको वास्तविक आवश्यकता पूरा गर्न आवश्यक नीतिहरु परिमार्जन गर्न नियामक संस्थाहरुको विचार सम्प्रेषण गर्ने वातावरण तथा अवसर प्रदान हुनेछ’, उनले भने। 

त्यस्तै न्हेम्हाफूकीले भनिन्, ‘सबै बैंक तथा वित्तीय संस्था एकै थलोमा, बुझौँ र बुझाऔँ कृषि कर्जाको बारेमा” भन्ने हाम्रो प्रयासलाई नबिल बैंकका साथले सम्रग कृषिमा वित्तीय पहुँच पुर्याउने कामका लागि यस सहकार्य कोसेढुंगा साबित हुनेछ।” 

नेपालमा नै पहिलोपटक हुन लागेको यो मेलाले कृषिमा देखिने गरेर परिवर्तन ल्याउनेछ भन्नेमा विश्वस्त रहेको उनले बताइन्। 

सन् १९८४ मा स्थापित नबिल बैंकले हाल १३५ शाखा, १८८ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको छ। बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ। यस बैंक ग्राहकको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युगको सुरुआत गर्नेतर्फ केन्द्रित रहेको छ।