काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कृषि विकास बैंक लिमिटेडको वित्तीय प्रदर्शन सन्तोषजनक रहेको छैन।

आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले १२ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ।

दोस्रो त्रैमाससम्म बैंकलाई ११ करोड १५ करोड सञ्चालन घाटा भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी ३ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो। 

चुक्तापुँजी १८ अर्ब ६२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भ थोरै बढेर ११ अर्ब ९५ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ११ अर्ब २१ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ४.५२ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल २.०८ प्रतिशतमा सीमित रहेको थियो। यो हिसाबले एनपीएल ११७.३१ प्रतिशतले बढेको छ। 

सीडी रेसियो ८७.५४ प्रतिशत रहेको बैंकको आधार दर ११.०६ प्रतिशत रहेको छ। 

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४.४३ रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस १९.१० रुपैयाँ रहेको थियो।

बैंकको प्रतिसेयर नेटवर्थ २०९.८२ रुपैयाँ र तरलता अनुपात २४.१० प्रतिशत रहेको छ।