-अनिलकुमार उपाध्याय(प्रमुख कार्यकारी अधिकृत)-कृषि विकास बैंक लिमीटेड

कोभिड–१९ को प्रभावका बीच सरकारले बजेट ल्यायो । बजेटलाई सपोर्ट गर्ने मौद्रिक नीति पनि आयो । दुवैले कृषिलाई विशेष जोड दिए । मौद्रिक नीतिले कृषि विकास बैंकलाई कृषि क्षेत्रको ‘लिड बैंक’ बनाउने कुरा गरेको छ । तपाईहरु कत्तिको उत्साहित हुनुहुन्छ ?
-यो वर्ष कोभिडले आक्रान्त भएको अवस्था छ । देश मात्र होइन, विश्व परिवेश र पूरा व्यापार चेन नै अस्तव्यस्त भएको अवस्था छ । निराशाबाट आशामा जानुपर्ने र आशाबाट उत्साहित हुनुपर्ने अवस्था आएको छ । बजेट तथा मौद्रिक नीतिले खासगरी कृषि क्षेत्रलाई समेटेको छ । यसले  स्वरोजगार बनाउने, रोजगारी वृद्धि गर्ने र आयातलाई पनि प्रतिस्थापन गर्ने गरी काम गर्ने देखिएको छ । खाद्यसंकट आउने प्रक्षेपण भइरहेको बेला मौद्रिक नीतिले ५३–५४ वर्षको कृषि क्षेत्रको लामो अनुभव बोकेको कृषि विकास बैंकलाई एउटा ऐतिहासिक जिम्मेवारी दिएको छ । हामीसँग लामो अनुभव र पूर्वाधार भएका कारणले पनि राष्ट्रबैंकले विश्वास गरेको छ, त्यो विश्वासका कारण हाम्रो आत्मविश्वासमा वृद्धि भएको छ । एक हिसाबले भन्दा यो अवसरसँगै चुनौती पनि हो । हामी नेतृत्वमा बस्नेहरुले सही ढंगबाट यो चुनौतीलाई अवसरमा परिणत गरी ‘लिड बैंक’ बन्ने ऐतिहासिक परिस्थिति सिर्जना भएको छ । 

हिजोको दिनमा पनि कृषि विकास बैंकले कृषिकै लागि काम गरेको थियो । विभिन्न कालखण्डमा सरकारकै स्वामित्वमा रहेर पछि पूँजीको पुनरसंचरना भए पनि सरकारको बढी स्वामित्व राखेर यसलाई अगाडि बढाइयो । अझ सरकारको कार्यक्रम मात्र नभई देशकै आवश्यकतालाई सपोर्ट गर्ने खालको कृषिसँग जोडिएका क्रियाकलाप, कृषिसँग जोडिएका लघुउद्यमता, पर्यटन लगायतका वृहत क्षेत्रहरुमा समेत लगानी गर्ने गरी हामीलाई थप जिम्मेवारी दिइएको छ । 

यहाँ एउटा कुरा महत्वपूर्ण छ । व्यवसाय संरक्षण गर्ने बैंकहरु पनि संरक्षित हुनुपर्यो, उद्यमीहरु पनि संरक्षित हुनुपर्यो । किसानहरु पनि संरक्षित हुनुपर्यो । किसानले पनि पाउने सुविधाहरु, जस्तै खरीदबिक्रीदेखि लिएर आफ्नो उपजको मूल्यका कुुराहरु पनि थाहा पाउनुपर्यो । यी सबै कुरालाई हेरेर मौद्रिक नीतिले बैंकहरुका लागि स्रोतको समेत व्यवस्थापन गर्ने गरी टूल्सहरु पनि ल्याइदिएको छ । 

सबैभन्दा ठूलो कुरा स्रोत र साधनलाई हामीले सही र समयमै प्रयोग गर्न सक्यौं भने त्यसले राम्रो प्रतिफल दिनसक्छ । कृषि विकास बैंकले त स्वरोजगारहरु उत्पादन गर्ने देशको अभियानमा वित्तीय सहुलियत प्रदान गर्ने हो । तर यो अभियानमा प्रविधिसँग सरोकार राख्ने विषयगत विभाग, मन्त्रालय वा त्यसका अन्य स्टेक(सरोकारवाला) जति छन्, उहाँहरुको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । त्यसकारण यो सबै पक्षको मिश्रित सहकार्यमा हुने काम हो । 

नियामकले केही नयाँ ढंगबाट जानलाई हामीलाई एउटा अवसर दियो । मौद्रिक नीतिमा फलफूल खेतीको नोक्सान व्यवस्थापनसम्मको कुरा गरिएको छ । यो सकारात्मक पक्ष हो । अहिलेसम्म बैंकहरु कृषि क्षेत्रमा नीतिगत कमजोरीका कारणले पनि ह्वात्तै जान सकेका थिएनन् । तर, अब भने जानसक्ने वातावरण सिर्जना भएको छ । हामी पनि पछिल्लो चरणमा स्रोत पनि छोटो अवधिको पाउने र छोटो अवधिमा छोटो कमाई गरी आफ्नो ब्यालेन्ससिटलाई राम्रो देखाउनुपर्ने बाध्यतामा थियौं । ब्यालेन्ससिट बजारमा राम्रो देखियो भने मात्र सफल हुने र सूचना सम्प्रेषण तथा विश्लेषण पनि त्यसैका आधारमा हुने हुँदा कोर–बैंकिङ गर्नुपर्ने अवस्था बन्यो । कृषिलाई पनि समग्र रुपमा एउटै बास्केटमा राखेर हेर्दा हिजोको दिनमा द्विविधा सिर्जना भयो । 

विकास निर्माणजस्तै कृषि पनि लामो साइकलमा हुने काम हो । कुनै कुहिने सामान हुन्छ, कुनै नकुहिने सामान हुन्छ । त्यस्ता सामानको उत्पादन तथा वितरणका लागि हामी जुन संरचनामा काम गर्छौ, त्यो कोर्सअनुसारको यसपटकको मौद्रिक नीतिले नोक्सान व्यवस्थापन गर्ने कुराहरु, सहुलियत दिने कुुराहरु ल्याएकोले कृषि क्षेत्रमा आक्रामक रुपमा लगानी गर्न चाहने हामीजस्ता बैंकलाई उत्साहित बनाइदिएको छ । 

त्यसो भए परिस्थिति अब फरक ढंगले अगाडि बढ्छ ? तपाईहरुको काम गर्ने शैली परिवर्तन हुन्छ ? हिजोको दिनमा पनि कृषि विकास बैंकले कृषिका लागि काम गरेकै थियो, अब पनि कृषिमै काम गर्ने होला, फरक चाहिँ के हुन्छ?
-फरक ढंगले जानेभन्दा पनि मिलाएर जाने भन्ने कुरा हो । हामीले अहिले पनि बैंक तथा वित्तीय संस्थाहरुमाझ ‘लिड बैंक’कै रुपमा कृषिमा लगानी गरिरहेका छौं । हाम्रो पोर्टफोलियोको करिब एक तिहाइ लगानी कृषिमै छ । कृषिलाई हामीले सधैं १० प्रतिशतभन्दा माथि राखेका छौ । 

कृषि मात्रै गर्दा अरु सेक्टरबाट हुने आम्दानी बैंकले गुमाउँदै जान्थ्यो र कृषिमा मात्र निर्भर हुँदा हामी बजार बिमुख भयौं । त्यसकारण हिजोको संरचनाले हामीलाई ‘बैंकिङ नभई बैंक चल्दैन’ भन्ने हिसाबले बैंकिङसँगै कृषिलाई पनि सँगै लैजाने नीति लियौं । हिजोका दिनमा यस्तै कारणले समग्र उद्योगलाई नै नेतृत्व गर्ने गरी पोर्टफोलियोलाई अगाडि नबढाएकै हो । 

तर अब अवस्था केही सहज बन्ने देखिएको छ । कृषिमा लगानी केन्द्रित गर्न अब अतिरिक्त स्रोत जसरी आउँछ, त्यहीअनुसारको व्यवस्थापन गर्छौ । हामीले कृषि ऋणपत्र बिक्री गर्छौ । ऋणपत्रबाट आएको स्रोतलाई बास्केटमा राखेर कृषिमा फोकस भयौं भने हामीले नेतृत्व त त्यसै पनि गरिरहेकै छौ, अझ हाम्रो प्रभावकारी नेतृत्व देखिने भयो । अन्य बैंकहरुको कृषिमा लगानीका हिस्सासमेत हामीमार्फत आएपछि देखिने भयो ।

अहिले हामीले आफ्नै सीमित स्रोतबाट कृषिलाई अगाडि बढाएको हुनाले त्यसको असर कतै पनि भएन, किनभने स्रोत आन्तरिक र सीमित थियो । अब चाहिँ घरेलु बजारको बैंक तथा वित्तीय संस्थाको स्रोतलाई पनि हामीले नै चलाउने, उहाँहरुले गर्नसक्ने सीमासम्म गर्नुहोला, नगर्ने अवस्था भयो भने हाम्रो कृषि ऋणपत्र खरिद गर्नुहुन्छ, उहाँहरुलाई पनि अनावश्यक झञ्झट भएन । अन्य बैंकहरुले यो क्षेत्रमा लगानीकै लागि गाउँ–गाउँमा जानुपरेन । प्रोभिजन बढी गर्नु परेन, ऋणपत्रमा गरेको लगानीसमेत कृषिमा गणना भयो, जरिवाना जोगियो । अनिवार्य तरलतामा उहाँहरुलाई सरलता भयो । प्रकृतिले साथ दिएन भने अर्को नोक्सानीको जोखिम हुन्थ्यो, त्यो भएन । यसरी यी सबै जोखिमबाट उहाँहरुलाई एक किसिमको मुक्ति मिल्ने अवस्था सिर्जना भयो । 

हामी कृषि सेक्टरमा अलिक बढी जानकार छौं । हाम्रो जनशक्ति पनि त्यही किसिमको छ । तालिम केन्द्रहरु पनि त्यहीअनुसारका छन् । त्यसलाई हामीले व्यवस्थित गरेर ‘मोर प्रोएक्टिभ’ गर्ने कुराहरु पनि छन् । तलसम्म डेलिभर गर्ने च्यानल बलियो बनाउने र कर्मचारीको क्षमता बढाउने विषयमा पनि काम गर्नुपर्नेछ । प्रडक्ट पोलिसीहरुलाई राम्रो बनाउने, सेक्टर–सेक्टर डिफाइन गरेर जाने । स्रोतको व्यवस्थापन जसरी हुन्छ, त्यहीअनुसार हामी हाम्रो व्यावसायिक योजनाहरुलाई बनाएर अगाडि बढाउनेछौं । यो राम्रो अवसर आएको छ । 

कृषिमा हाम्रो ठूलो जनशक्ति छ, अनुभव छ र पहिलादेखि नै हामीले नेतृत्व पनि गरिरहेको तथा यो सेक्टर हाम्रा लागि सजिलो भएको हुनाले नेतृत्व गर्ने जुन अवसर पाएका छौं, यसमा भएको चुनौतीलाई अवसरमा बदल्ने राम्रो वातावरण बनाउँदै अगाडि बढ्नेछौं । 

कृषि क्षेत्रको ‘लिड बैंक’ बन्नका लागि आवश्यक स्रोतको व्यवस्थापन ऋणपत्रमार्फत पनि हुने देखियो । स्रोतसँगै कृषि क्षेत्रमा गरिएको लगानीमा जोखिम पनि अधिक हुन्छ । मौसमको भरमा हुने खेतीपाती, मल बिउ लगायत सधैं अभाव हुने मुलुकको कृषि क्षेत्रमा हुने लगानी उसै पनि जोखिममै हुन्छ । यसरी हेर्दा जोखिम अधिक देखिन्छ । आउने दिनमा यस्ता जोखिमहरुको व्यवस्थापन चाहिँ कसरी गर्ने सोच बनाउनुभएको छ ?
-केही पक्षमा मौद्रिक नीतिले अहिले बोलिसकेको छ । काम गर्दै गएपछि आउने जटिलताहरुलाई सहजीकरण गर्ने गरी बाँकी कुराहरु पनि आउँदै जाला भन्ने अपेक्षा गरेका छौं । जसरी अरु सेक्टरका लागि पुनर्संरचना तथा पुनर्तालिकीकरणको नीति आयो, भोलिका दिनमा यो सेक्टरमा यस्ता विषयसमेत आउन सक्लान् । त्यसै पनि यो मौद्रिक नीति अन्तिम होइन, हरेक त्रैमासमा समीक्षा पनि हुन्छ नै । हामीले परिस्थिति बुझाइदिएपछि उहाँहरु(केन्द्रीय बैंक)ले पनि सहयोग गर्नुहुन्छ भन्ने लाग्छ । अहिलेदेखि नै नहुने कुराको कल्पना गरेर किन हिँड्ने ? अहिलेको परिवेशमा काम गर्ने हो, यो क्रममा कुनै असहजता आयो भने नियामकसँग छलफल गर्छौं । 

डेलिभर गर्ने कुरा सबैभन्दा ठूलो कुरा हो । पसलमा आज सामान ल्याएर भरे बेच्ने हो, तर कृषि त आजै रोपेर आजै फल्दैन । खेत र मौसमअनुकूल हुनुपर्छ, सिँचाइ हुनुपर्यो, बिउ तथा बोटहरु त्यही क्वालिटीको चाहियो । यीबाहेक प्राविधिक पक्षहरु पनि छन्, व्यवस्थापन राम्रो हुनुपर्यो, राम्रो उत्पादन हुनुपर्यो, उत्पादन भइसकेपछि टेस्टेड हुनुपर्यो । बजारमा जाने प्रणालीहरु विकास हुनुपर्यो । बीचमा अन्य शक्तिहरु भए भने किसानले उचित मूल्य पाउँदैनन् । बजारमा जाँदा पनि प्रोसेसिङ प्लान्ट हुनुपर्यो, उद्योग नै खोल्ने अवस्था पनि आउला, हामी त्यतातर्फ पनि लगानी गर्दै अगाडि बढ्छौं । 

वितरण प्रणालीमा पनि हामी सहयोग गर्नसक्छौ । भोलिको दिनमा एग्रीकल्चर मार्केट पनि बढ्ने भयो । किन्ने र बेच्नेको रेट थाहा हुनुपर्छ । प्रविधिमैत्री हुनुपर्छ । कृषि, फलफूल तथा मासुजन्य वस्तुको बजार बिस्तार लगायतका विषयका समान समस्या छन्, त्योअनुसार हामीले काम गर्नुपर्छ । हिजो धेरै अनुभव बोकेर आएको हुनाले हामीले यसमा छिटो बुझ्छौ । हाम्रा जनशक्तिले त्यो भाषाहरु छिटो बुझ्नुहुन्छ । हामी अहिले हाम्रा तालिम केन्द्रहरुलाई ज्ञानकेन्द्रका रुपमा विकास गरिरहेका छौं । हामीले सकेसम्म हाम्रा ग्राहकहरुलाई तालिम पनि दिने व्यवस्था मिलाउँछौं । नेपाल सरकारका विभिन्न इकाइहरुले पनि तालिम दिनसक्ने ठाउँहरु छन् । यी सबैसँग इन्टीग्रेसन तथा नेटवर्किङ गरेर सँगसँगै कसरी जाने भन्ने बारेमा मन्त्रालय तथा मातहतका विभिन्न इकाइहरुसँग छलफल गरिरहेका छौं । 

एउटा बिउलाई सिजन आइसकेपछि अंकुर भई फल्दासम्म एउटा समय लाग्छ । मौद्रिक नीतिले तयारीका लागि एउटा कोर्स दिएको छ । तयारी गर्नुपर्यो, बण्ड(ऋणपत्र) निकाल्नुपर्यो, स्रोत व्यवस्थापन गरी प्रविधिलाई अझ बढी एड्भान्स बनाउनुपर्यो । तालिम दिनुपर्यो । सिधैं किसान भन्नेबित्तिकै ऋण दिन पाइन्न । ऊ पनि ससूचित हुनुपर्यो, ज्ञान हुनुपर्यो । उसले के गर्ने खोजिरहेको छ भनेर हामीले स्क्रिनिङ गर्नुपर्यो । त्यसको माध्यम भनेको कि त उसले तालिम पाएको हुनुपर्यो, वा उसले कहीँ सिकेको हुनुपर्यो । कसैले मलाई ५० लाख चाहियो भनेर मात्र हुन्न, दिने तथा लिनेबीचको विश्वसनीयता पनि त हुनुपर्छ । आज आउनेबित्तिकै ऋण पाइएन भनेर बोल्ने चलन रोक्नुपर्छ । किन पाउने हो वा किन नपाउने हो भन्ने कुरा बुझ्न जरुरी छ । वित्तीय साक्षरता तथा ज्ञानको जरुरत छ । स्थानीय निकाय वा स्थानीय नेटवर्कहरुले पनि यसमा सहयोग गर्नुपर्छ । 

कृषक र उनीहरुका उत्पादनलाई बजारसँग जोडिदिने काम गर्नुपर्छ, यसमा कृषि विकास बैंकले त्यस्ता बजारहरुमा पनि लगानी गर्नसक्छ । यसरी हामीले इकोसिस्टम बनाउँदै जानुपर्छ । हाम्रो अनुभवले पनि यो कुरा सिकाएको हुनाले त्यति गर्नै नसक्ने अवस्था होइन । गर्नसक्नेका लागि अवसर चाहिँ हो । पहिलो चरण वा अबको एकवर्षमा कति गर्नसक्छौं भन्ने कुरा एउटा होला । तर, अब हामी जानसक्छौ है भन्ने कुराको बलियो आधार बनेको छ । प्रगतिको मात्रा वा पहुँचको मात्रा कमबेसी हुनसक्ला । सीमित जनशक्तिबाट देशकै ३ करोड जनसंख्यामा हामीले पुग्ने कुरा आएन वा सबै युवाहरु नै कृषि विकास बैंककै ग्राहक हुन् भन्ने कुरा पनि भएन । तर, हिजो १०–२० लाख लगानी गरिएको थियो भने अब भने नेतृत्वदायी भूमिका खेल्ने भन्ने कुरा चाहिँ पक्का हो । 

कर्जा जोखिमको समस्या एकातिर छ । पब्लिकको पैसा भएको संस्थाले धेरै सिएसआर(सामाजिक उत्तरदायीत्व)को मोडलबाट जान पनि नसक्ला । जोखिम बढी भएपछि ब्यालेन्ससिटमा प्रभाव पर्ला । पब्लिकको पनि लगानी भएकोले उनीहरुले रिटर्न पनि खोजिरहेका हुन्छन् । यी दुईवटा कुरालाई कसरी मिलाउनुहुन्छ ?
-नेतृत्वले यही कुरालाई सहज बनाउने हो । हामी नेतृत्व र संचालक समितिले यसलाई गम्भीरतापूर्वक लिएर अगाडि बढ्ने हो । कृषि विकास बैंकको अहिलेको संरचना पनि कमर्सियल एक्टिभिटिज र एग्रीकल्चर एक्टिभिटिजलाई सँगसँगै लिएर अगाडि जाने खालकै छ । कमर्सियल मात्र होइन, अब एग्रीकल्चर बैंकिङ भनेर अगाडि बढिरहेका छौं । किनभने अहिले पनि कृषि विकास बैंकका ८८ प्रतिशत ग्राहकहरु साना ऋणि हुनुहुन्छ, १५–२० लाखमुनिका । ती ग्राहकहरुको संख्याले हामीलाई राम्रो साथ दिएको छ । हामीले मसिना ऋण धेरै दिएका छौं । यो बैंकलाई एग्रीकल्चर बैंकिङको मोडलबाट अगाडि बढाउन खोजिएको हो । त्यसकारण हामीले अब किसानका लागि प्रविधिमैत्री ढंगबाट काम गर्नुपर्छ । जस्तो किसान कार्ड दियो भने मलखाद त्योमार्फत किन्न सक्छ । किसान कार्डमा किसान एप पनि समाहित गर्छौ, जसले बेच्ने ठाउँको मार्केटको रेट पनि थाहा पाउन सहज हुन्छ । एउटा किसानले न्यूनतम सूचना त्यो कार्डभित्र पनि पाउँछ । उसले सामान कहाँ बेच्ने थाहा पाओस् । जो मर्चेन्ट छ, उसले कुन किसानसँग कति स्टक छ भन्ने कुरा पनि त्यहीँबाट थाहा पाउँछ । त्यो व्यवस्था हामीले मिलाउँदैछौं । सकेसम्म बीचका लेयर(बिचौलिया)हरुले धेरै नखेलुन् । गुल्मीको किसानले बुटवलमा के छ र हाइवेमा आएपछिको रेट के छ भन्ने कुरा थाहा पाएपछि उसको उत्पादनले राम्रो मूल्य पाउँछ ।

कार्डको महत्वपूर्ण विशेषता भनेको मलखाद तथा बिउ किन्दा कार्डबाटै भुक्तानी गर्ने भन्ने हो । एउटा एप बनाएर सकेसम्म धेरै जानकारीहरु त्यहाँ समेट्नेछौं । यसले पनि किसानहरुलाई बैंकप्रति आकर्षित बनाउँछ । यसलाई हामीले सिएसआरमार्फत लैजाने भनेका छौं । 

हाम्रा धेरै स्टाफहरुले कृषिका टर्मोलोजीहरु बुझ्नुहुन्छ । बुझ्ने भएपछि लोनको अप्रेजल छिटो हुने भयो । सानो स्केलको लोनलाई फास्ट ट्रयाकमा गर्ने र ठूलोलाई हेड अफिसले हेर्छ । उत्पादन गर्ने, प्रोसेसिङ, मार्केट र कस्टूमरसम्म जाने चेनमै हामीले लगानी गर्ने हो । 

बैंकका सेयरधनीका लागि चाहिँ तपाईको के प्रतिबद्धता छ नि ?
-मैले अघि पनि भनेँ नि हामीले टोटल लोनमा ८८ प्रतिशत साना कर्जा प्रवाह गरेका छौं । हामी उद्योगमै प्रतिफलको हिसाबले दोश्रोमा छौं । हामीबाट कर्जा उपभोग गर्ने अधिकांश ग्राहकहरु इमानदार हुनुहुन्छ, कर्जा तिर्ने कुरामा बिलम्ब भएको छैन । यसले हाम्रो वितरणयोग्य मुनाफा बढाइदिएको छ । अहिले पनि वितरणयोग्य मुनाफाको हिसाबले बजारमा हामी नराम्रो अवस्थामा छैनौं । किनभने त्यो वर्ग इमानदार छ, ती ८८ प्रतिशत ऋणिहरुमा ९० प्रतिशसम्म वित्तीय अनुशासन कायम भएको देख्छु । उहाँहरुको एउटै मात्र कमजोरी भनेको डकूमेन्टेसनमा हो । डकूमेन्ट बनाउन जान्नुहुन्न । विजिनेश प्रपोजल पनि गतिलो बन्दैन । डकूमेन्टेसन प्रक्रियालाई केही सहज बनाउने कुरामा राष्ट्रबैंकले हामीलाई सहजीकरण गरिदिनुपर्छ । जस्तो यसपटकको मौद्रिक नीतिमा केवाइसी सेन्ट्रलाइज गर्ने भन्ने कुरा आएको छ । 

काम गर्ने सहजता हुनुपर्छ । एउटा किसानले उत्पादन गर्ने सामाग्री, जस्तै ‘गोलभेंडाको स्टक देखा’ भनियो भने कसरी देखाउने ? देखिन्न नि । ‘माछा देखा’ भनेर देखिन्न नि, किनभने यस्ता चिज उत्पादन भएर आएपछि कि बिक्री हुनुपर्यो, भएन भने कुहिन्छ । त्यसकारण कृषिमा जाने लोनहरुलाई बाँकी लोनहरुकै बास्केटमा हालेर हेर्नुहुन्न । केन्द्रीय बैंकले आउँदा दिनमा यस्ता व्यवधानहरुमा सहजीकरण गरिदिनुपर्छ । 

मौद्रिक नीतिमा कृषि ऋणपत्रको कुरा आएको छ । यसको मोडल कस्तो हुन्छ ?
-हामीले पहिलो चरणमा ‘क’ वर्गका बैंकहरुसँग यो विषयमा सहकार्य गर्नेछौं । जुन–जुन बैंकको कृषिमा तोकिएको न्यूनतम सीमासम्मको लगानी पुगेको छैन, उनीहरुसँग काम गर्छौं । कृषिमा अब १५ प्रतिशतको सीमा छ, त्यो सीमा नपुगेका बैंकहरुले हाम्रा ऋणपत्र खरीद गर्न सक्नुहुन्छ । पहिलो चरणको यो प्रयास सफल भयो भने ‘ख’, ‘ग’ वर्गका वित्तीय संस्थाका लागि पनि यो टूल्स काम लाग्छ । भोलिका दिनमा अरुले पनि ‘म पनि गर्छु’ भन्न पाउला । तर, हामीसँग एउटा अनुभव छ, सरकार तथा राष्ट्रबैंकले हामीलाई विश्वास गरेका छन् । हामीसँग पूर्वाधारहरु पनि छन्, नेटवर्क पनि गाउँ–गाउँसम्म छ । तालिम केन्द्र तथा जनशक्ति भएका कारणले हामीले यो चिजको अभ्यास गर्दा सफल हुने संभावना बढी देखिएको हुनाले र हामीमा पनि आत्मविश्वास बलियो भएका कारणले पहिलो चरणमा विश्वास गरेर यो स्रोत पनि लिनुस्, नेतृत्व पनि गर्नुस् भनेर अवसर दिइएको छ।

कोभिड १९ का कारण धेरै बेरोजगार भएका छन् । विदेशबाट युवाहरु फर्किने क्रम पनि बढ्यो । गाउँ–गाउँका बाँझो जमिनहरुमा खेती हुन थाले भन्ने खबरहरु आइरहेका छन् । धेरै युवाहरु कृषिमा केन्द्रीत भएका छन् । युवाहरु प्रविधिमैत्री पनि छन् । कृषि विकास पनि प्रविधिमैत्री हुनुपर्ने, अहिले जे छ, त्योभन्दा बढी एड्भान्स हुनुपर्ने अवस्था पनि देखियो । यो चुनौतीको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
-प्रविधिमा हामी अहिले पनि अगाडि छौं । हामी प्रविधिमैत्री बैंक हौ । हाम्रो सफ्टवेयर संसारकै अब्बलमध्येमा पर्छ । गत आर्थिक वर्षको क्लोजिङको भोलिपल्ट १० बजे बैंकको अपरेशन खुलिसकेको थियो । हाम्रा एटीएमहरु सबै बिहान ५ बजे नै खुलिसकेका थिए । प्रविधिले साथ नदिएको भए हामीले टाइममा यी सेवाहरु खोल्नसक्ने थिएनौं नि । यसले प्रष्ट के गर्छ भने हाम्रो टेक्नोलोजी राम्रो छ । तर, टेक्नोलोजी फ्रेण्ड्ली बनाउने वा बन्ने विषयमा चाहिँ केही चुनौतीहरु छन् । 

कोभिड अवधिको कारोबार हेर्ने हो भने उल्लेख्य संख्यामा अनलाइनबाट खाता खोलिएका छन् । अनलाइन बैंकिङ गर्नेको संख्या पनि अधिक छ । इन्टरनेट बैंकिङहरुबाट अर्बौको कारोबार भएका छन् । यो अवधिमा कुनै पनि एटीएम बन्द भएनन्, भुक्तानी प्रणालीमा कुनै अवरोध समेत आएन । कोभिडका बीचमा हामीले अझ बढी विश्वास आर्जन गरेका छौं । हिजोका दिनमा मान्छेहरुमा कम विश्वास थियो, अहिलेको अवस्थामा मानिस बाध्य भए । अहिले हामीमा देश–विदेशबाट खाता खोलिएका छन् । हालै मात्र राष्ट्रिय खेलाडी गौरिका सिंहले पनि अनलाइनबाट खाता खोल्नु भएको छ, यो भनेको हामीप्रतिको विश्वास हो । कोभिडको अवधिमा घरमै बसेर हाम्रो अकाउण्टमा उहाँहरुले इन्जोए गर्नुभयो । यसले के देखाउँछ भने कृषि विकास बैंक प्रविधिमैत्री छ, तर प्रविधिलाई ट्रान्सफर चाहिँ गर्न सकेको छैन । अब हामी ट्रान्सफर गर्ने फेजमा छौं । किसान कार्ड त्यही अवधारणाअन्तर्गत आएको हो । अबको एकवर्षमा हामी प्रविधिमैत्री बन्ने कुरामा केन्द्रीत हुनेछौं । कम्तीमा किसानले लोनका लागि पनि अनलाइनबाटै आवेदन दिन सकोस् भन्ने कोणबाट पनि हामीले सोचिरहेका छौं । तर, किसानले सक्छ कि सक्दैन भन्ने कुरा पनि महत्वपूर्ण पाटो हो । युवाहरुले सक्छन्, यसकारण समेत हामीले अनलाइनबाटै लोनको अप्लाई गर्ने फिचरसहितको टेक्नोलोजी विकास गर्न खोजिरहेका छौं । यो अवसर आएको छ, यसलाई हामी फुत्किन दिँदैनौं । 

कृषि विकास बैंकसँग जोडिएर तपाईले लामो अनुभव प्राप्त गर्नुभएको छ । पछिल्लो कालमा बजेटले अबको दशक कृषिको दशक भनेको छ । सबैतिर कृषि, कृषि मात्र भन्न थालिएको छ । कृषिमा पुनर्जागरण हुन लागेको हो ?
-व्यावसायिकीकरणको युग सुरु हुन लागेको हो । हिजो निर्वाहमुखी कृषि थियो, खान पुगेपछि पुग्यो भन्ने थियो । बजारमा कृषि उपज बिक्री गर्नुपर्छ भन्ने मान्यता नै थिएन । म केटाकेटी हुँदा मेरै बगैंचामा आँप फल्थ्यो, आँप कुहिएर जान्थ्यो, बजारमा बिक्री गर्दैन थियौं । बेच्यो भने ‘यसलाई त खान पुगेन कि क्या हो’ भन्थे । हिजो एउटा परिवेश थियो । हिजो निर्वाहमुखी थियो, अहिले व्यावसायिक हुनुपर्छ । 

देशमा कृषि उपजकै आयात दिनानुदिन बढिरहेको छ, त्यो प्रतिस्थापन हुनुपर्यो । कोभिडका कारण धेरै फर्किएका जनशक्तिलाई कृषिमा समेट्न सक्नुपर्यो । कृषिमा धेरै ठूलो सम्भाव्यता छ । म एउटा उदाहरण दिन्छु, अहिले पानीका कारण तराईका धेरै क्षेत्र जलमग्न छन् । यस्तो बेलामा फलफूल पनि हुँदैन, गोलभेंडा पनि हुँदैन । भूँइमा फल्ने तरकारी पनि हुन गाह्रो छ। नेपालमा भिरालो जग्गा छ, यस्तो बेलामा गोलभेंडा, फलफूल तथा तरकारी तयार गर्ने हो भने कुनै न कुनै तरिकाले बिक्री गर्न त्यहाँ पुगिन्छ । हामीले व्यावसायिक बनेको भए, त्यहाँको बजारले हाम्रो उत्पादनलाई कुरेर बस्थ्यो । त्यो बजारले अहिले बाहिरको मार्केटसँग लिंक भएर काम गरिरहेको छ । एउटा स्केलमा उत्पादन हुनुपर्यो । आँप स्केलमा गरिरहेका छौं, माछा स्केलमा आइसक्यो । अन्य फलफूल तथा तरकारी पनि स्केलमा उत्पादन हुनुपर्छ । संसारको कुनै पनि मुलुक वा क्षेत्रमा हाम्रो उत्पादन पुर्याउन अहिलेको अवस्थामा समस्या छैन । संसारको कुनै पनि मुलुकमा हाम्रो भूमिमा उत्पादन भएका फलफूल पठाउन सक्छौं । आलुको बिउ बेच्न सक्छौं । यी सबै कुराभित्र रिसर्च पनि सँगै चाहिन्छ । बजारले के खोजेको छ भन्ने कुरा पनि हेर्नुपर्छ । 

बजारको सिर्जना गरिदिने काम पनि महत्वपूर्ण हुन्छ । सप्लाई गर्ने ग्रुप क्रिएट हुन्छ । दुबई कतारबाट आएको जेनेरेसनले नै यो काम गरिदिन सक्छ । बैंकले वित्तीय साधन मात्र उपलब्ध गराउने हो । हामीले समूहगत रुपमा नेटवर्किङ गरेर काम गर्न सक्यौं र राज्यका सबै इकाईहरुले मिलेर काम गर्ने हो भने छिटो रिजल्ट निकाल्न सकिन्छ । 

प्रसङ्ग बदलौं, मौद्रिक नीतिले कोभिडका कारण समस्यामा परेको निजी क्षेत्रलाई उत्साहित बनायो । बैंकहरुका लागि चाहिँ मौद्रिक नीतिले के गर्यो ? बैंकका समस्या सम्बोधन गर्न सक्यो ?
-पोर्टफोलियो केही हदसम्म सजिलो भएको छ । ग्राहकमैत्री र बैंकमैत्री मौद्रिक नीति पनि आएको छ । तरलताको अवस्था सहज बनाउने गरी सीसीडी रेसियो ८५ प्रतिशत पुगेको छ । काउण्टर बफरको कुरा हटेको छ । यस्ता २–४ वटा टूल्सहरु आएका छन्, जसले हामीलाई व्यवसाय गर्न सहज बनेको छ । ब्याजदरको कुरामा पनि कुनै स्पेश बनाइदिएकै छ । स्प्रेडमा पनि अहिले भएकै व्यवस्था कायम भएको छ । 

नाफा संकुचन हुने एक–दुईवटा आधारहरु आएका छन् । जस्तो–असल कर्जालाई कोभिडको अवधिमा भुक्तानी हुन नसकेपछि ५ प्रतिशत राख भनिएको छ, यसले सबै बैंकको नाफामा हिट गर्नसक्छ । सेवाशुल्कको कुुरा तोकिएको हुनाले यसले पनि केही गाह्रो हनसक्ला । एउटा सीमा तोकेर योभित्र काम गर भन्ने कुरा नराम्रो चाहिँ होइन । यसलाई मैले त्यति ठूलो इस्यू मान्दिँन । हामी अभ्यस्त हुनुपर्छ । राज्यले कोभिडको बेलामा ‘ठीक्क कमाऊ, तिमी पनि बाँच र समाज पनि बाँच्नुपर्छ’ भनेको जस्तो लाग्छ । अहिलेको कोभिडमा कमाउने कुराको आकांक्षा पाल्नुहुन्न । थोरै कमाईमा बाँचेर आफूलाई बलियो बनाउनुपर्छ । सेवाशुल्क तोकिएका कारण धेरै निराश बन्नुपर्दैन । हिजोको कमाई केही घट्ला, तर संकुचन भएर पनि सर्भाइभ हुने अवस्था चाहिँ छ । जस–जसलाई गाह्रो छ, प्रतिस्पर्धी बन्न नसके मर्जरको अवसर पनि दिइएको छ । मर्जरलाई बाध्यकारी बनाइएको छैन । 

वितरणयोग्य मुनाफामा केही क्याप लगाइएको छ । नगद लाभांशमा केही रोक लागेका छन् । लङटर्मका लागि राम्रो आएको छ मौद्रिक नीति । 

अर्को कुरा म संचारमाध्यमहरुसँग पनि आग्रह गर्न चाहन्छु, यो पटकको बैंकहरुको वित्तीय विवरणलाई गत वर्षसँग तुलना गरेर नहेरिदिनुहोस्, नलेखिदिनुस् । बरु औसत बनाइदिनुस् । कोभिडले कति मार्जिन घटायो, त्योसँगै औसत कति आयो भन्ने कुरा हेरिदिनुपर्यो । यहाँ प्रश्नले नै गलत व्याख्या हुने गरेको छ । पोहोर यत्ति गर्यो, अहिले नाफा घट्यो भनिन्छ । तर, तपाई कति अब्बल हुनुभयो भन्ने कुरा महत्वपूर्ण हो र हुनुपर्छ । नोक्सानबाट बच्न कति सवल हुनुभयो भन्ने पाटो संचारकर्मीले हेरिदिनुपर्छ । सामान्य परिवेशमा नाफामा मुख्य सूचक बन्ला, तर अहिलेको अवस्थामा नाफा मुख्य सूचक होइन । अहिले सबैजना सर्भाइभ गरौं, सबैलाई सम्बोधन गरौं । लगानीकर्तालाई पनि सम्बोधन गरौं, समाजमा पाउनेले पनि चित्तबुझ्ने सेवा पायो भने सबैजना विन–विनको अवस्थामा हुन्छौ । अहिले नाफा कमाएर अब्बल बन्छु भन्ने होइन, यस्तो बेलामा नोक्सान हुनबाट कति जोगाउन सकियो भन्ने महत्वपूर्ण विषय हो । ब्यालेन्ससिट बलियो बनाउनुपर्छ । पोर्टफोलियोलाई व्यवस्थित गर्ने हो । 

कोभिड १९ को प्रभावबाहेक अहिलेको बैंकिङ सेक्टरको चुनौति के हो ?
अहिलेको बैंकिङ सेक्टरको चुनौति बजार खुलेपछि थप देखिनसक्छ । कति स्वीकृत कर्जा प्रवाह भएको छैन । काम गर्ने वातावरण बनेको छैन । विश्व बजार नै खुलेको छैन । यातायात नै खुलेको छैन, प्लेन चलेको छैन । यो बेला नर्मल कुरा गर्न सकिन्न । जसको बन्द छ, उहाँहरुले कसरी ब्रेकइभनमा ल्याउने भन्ने कुरामा जानुपर्छ । बैंकले उहाँहरुलाई राहात दिएको छ, उहाँहरुले पनि आफ्नो जिम्मेवारी भूल्न भएन । जुन सेक्टरले उत्पादन गर्छ, त्यसलाई सपोर्ट गर्नुपर्छ । कृषिमा उत्पादन होला, बजार पाएन भने के हुन्छ ? उत्पादन र इण्डष्ट्रीमा बाई ब्याकको मोडलमा जानुपर्छ । राज्य प्रणाली पनि त्यसरी जानुपर्छ । वित्तीय संस्था पनि त्यसरी जानुपर्छ । 

अहिले धैर्य राखेर बिस्तारै आफूलाई चलाएर अगाडि बढ्नुपर्छ । जसरी हामीले ब्याजदर कम गर्यौं, सेवाशुल्क कम गर्यौं, उद्योगी व्यवसायीले पनि आफ्नो नाफा कम गर्ने, कम रेटमा सेवा दिने काम गर्नुपर्छ । बजार खुलेपछि मान्छेहरु घरबाहिर निस्किन्छन्, अब कहाँ कम जोखिम छ र प्राकृतिक सुन्दरता छ भन्ने कुरा खोज्छ संसारभरको मान्छेले । त्यसका लागि म नेपाललाई राम्रो विकल्प देख्छु । संसारभरका मानिसले नेपाललाई आफ्नो गन्तव्य बनाउनसक्ने संभावना देख्छु । त्यो तयारी हामीले सुरु गर्नुपर्छ । हाम्रो सेवा, सिस्टम, डेटाबेस लगायतमा बेलैदेखि काम गर्नुपर्छ । यो मुलुकका लागि सबैभन्दा ठूलो अवसर छ । इण्डियाबाटै मानिसहरु दौडादौड गरेर आउने अवस्था बन्न सक्छ । कोभिड सधैंभरि रहन्न होला । सिजन पनि आउँदैछ । हामी सबैले गम्भीरतापूर्वक काम गर्ने हो भने हामी हासीखुशी पुरानै अवस्थामा फर्किन सक्छौं ।

कोभिडको प्रभाव बैंकिङ सेक्टरमा चाहिँ कहिलेसम्म रहला? 
मैले देखेको यो कुरा हाम्रो समाजसँग जोडिएको विषय हो । सकेसम्म टार्न पाइयोस् भन्ने खालका मानिस यो समाजमा छन् । सक्नेले पनि तिरेको छैन । एउटा वर्ग चाहि ऋण लिएको छ, तिर्नुपर्छ भन्नेमा सचेत छ । अब बजार खुलिसकेपछि समयमा असूल गर्न सकिएन भने बैंक टिक्न सक्दैनन् । कमाउँदा पनि पैसा नतिर्ने अवस्था भयो भने के हुन्छ ? त्यसकारण अब असूलउपर गर्ने कुरामा सम्झौता गर्नुहुँदैन । सुविधा र सहुलियत दिएपछि असूल पनि त हुनुपर्छ । स्रोत एउटाले मात्र होल्ड गर्ने, अरुले नपाउने ? यहाँ सबै पक्ष इमानदार बन्नुपर्छ । 

यो तीन महिनाको अवधिमा हामी सबैले खराबकर्जालाई व्यवस्थापन गर्ने अवसर आएको छ । भएन भने विधिसम्मत ढंगले हामीलाई अगाडि बढ्ने बाटोमा राज्यले सहयोग गर्नुपर्छ । राज्यले पनि भन्नुपर्छ कि अब तपाईहरुले बैंकको ऋण तिर्नुस् भनेर । तिरेन भने हामी यो पोर्टफोलियोको व्यवस्थापनमै व्यस्त हुने भयौं, अर्को काम नै गर्न सकिन्न । अहिले कृषिको काम गर भनेपछि पुरानो बिगारेर नयाँ कामको पछि लागेर त सकिन्न नि । हाम्रो कार्यसम्पादनले पनि दिंदैन । सुविधा पनि दिने र कडाई पनि सँगसँगै चाहिन्छ । राज्यले दिने कुरा दिएको छ, अब हामी नागरिक इमानदार बन्नुपर्छ । सबै इमानदार भएर अगाडि बढे मात्रै सबै क्षेत्र बाँच्छ । 

समग्रमा निराश हुने अवस्था छैन । हामीलाई प्रकृतिले पनि साथ दिएकी छिन्, हामी छिट्टै उठ्छौं । हाम्रो अर्थतन्त्र चाँडै तंग्रिन्छ ।