काठमाण्डौ । बलकुमार खत्री यसअघि आफ्नो जन्मथलो नेपालमै खेती किसानी गर्ने गर्थे। यसका साथै उनी ट्रेकिङ गाइडका रुपमा समेत काम गर्दथे। तर, यो वर्ष २६ वर्षीय खत्री नेपालमा नभई बेलायतको नर्थ नटिङ्घमसायरको पोलिटलेनमा स्ट्रबरी टिप्ने काम गरिरहेका छन्। 

प्रत्येक वसन्त ऋतुका दौरान हजारौँ विदेशी मौसमी कामदारहरु कृषि फार्मको काम गर्न बेलायत जाने गर्छन्। तर यो वर्ष टाढा–टाढाका देशहरुबाट समेत विदेशी कामदारहरु बेलायतका कृषि फार्ममा काम गर्न पुगिरहेका छन्। 

युरोपबाट अलग हुनुअघि बेलायतमा पोल्यान्ड, रोमानिया र बुलगेरियाबाट खेती किसानीको काम गर्ने मौसमी कामदारहरु जाने गर्थे। तर, अहिले बेलायतका कृषि फार्महरुले नेपालसहित इन्डोनेसिया, मैगोलिया, ताजिकिस्तान, किर्जिस्तान र कजाकस्तानका कामदारहरुलाई रोजगारी दिइरहेको छ।
बलकुमार खत्री बेलायत आएको धेरै समय भएको छैन। तर, पनि उनी केही अंग्रेजी बोल्छन् र उनी बेलायत आएपछि फर्मका मालिकहरु खुसी र ढुक्क छन्। 

बेलायतमा वसन्त ऋतुमा पर्याप्त कामदार पाउनु सधैँ नै चुनौतीपूर्ण हुने गर्छ। तर, यो वर्ष फलफुल (सफ्ट फ्रुट्स)को मौसम सुरु हुनै लाग्दा धेरैजसो फर्म मालिकहरु कामदार अभाव हुने हो कि भनेर पहिलेभन्दा बढी चिन्तित छन्।  

वेइट्रोज, टेस्को, मार्क र स्पेन्सर आपूर्ति गर्ने जेनी टास्करले सञ्चालन गरिरहेको हारविल फर्ममा सधैँ नै विभिन्न देशका कामदारहरुको सम्मिश्रण हुने गर्छ। तर, यो जेनी टास्करको फर्ममा पहिलोपटक नेपालसहित ९ वटा देशका कामदार आएका छन्। यसमा ३५ जना नेपाली र ४५ जना ताजिकिस्तान र इन्डोनेसियाका कामदार छन्। 

टास्करका अनुसार नयाँ कामदारहरु काममा राम्रोसँग फिट भइहरेका छन्। यद्यपि यसमा केही चुनौतीहरु पनि छन्। ‘यो भनेको दुवै पक्षतर्फ धैयर्ता हुनु हो’, टास्कर भन्छिन्। तर, टास्कर पनि अन्य फर्म मालिकहरु जस्तै बेरिजहरु बिग्रनुअघि नै टिप्न नपाइने हो कि भनेर चिन्तित छिन्। 

ब्रिटिस बेरी ग्रोअर्स(बीबीजी)का अनुसार बेलायतमा सफ्ट फ्रुट्सको उत्पादनमा वृद्धि भइरहेको छ। तर, यसबीचमा सफ्ट फ्रुट्स खेर जाने क्रम पनि बढ्दो छ। बेरिजहरु केतिबेला टिप्न योग्य हुन्छन् र कति बेला हुँदैनन् भन्ने अनुमान गर्न गाह्रो हुनेगर्छ।  

बीबीजी सदस्यहरुले गरेको सर्भेका अनुसार बितेका दुई वर्षमा श्रमिक अभावका कारण गुमेको उत्पादन मूल्य प्रत्येक वर्ष झन्डै दोब्बरले वृद्धि भएको छ। गत वर्ष ७६० मिलियन पाउन्ड स्ट्रलिङ कुल उत्पादनमा ३६ मिलियन पाउन्डबराबरको सफ्ट फ्रुट्स खेर गएको बीबीजीले जनाएको छ। 

कामदारमा डर चिन्ता

हारविल फर्ममा काम गर्ने बलकुमार खत्री र उनका दाइजस्ता अन्य कामदारहरुलाई बासस्थान र निःशुल्क वाईफाई जडान गरिएको छ। युरोपबाट अलग्गिएसँगै ईयू देशका कामदारहरु बेलायतबाट फिर्ता हुने क्रममा तीव्रता आएपछि बेलायतका फर्महरुले कामदारहरुलाई प्रत्येक वर्ष फर्किनका लागि फकाउन धेरै कसरत गरिरहेका छन्। 

गत वर्ष कामदार अभावका खाडल युक्रेनीहरुले पुरेका थिए। तर, यो वर्ष १८ देखि ६० वर्ष पुगेका युक्रेनी नागरिकहरुलाई त्यहाँको सरकारले घरमै बस्न र युद्ध लड्न निर्देशन दिएको छ। 

गत अप्रिल महिनामा बेलायतको संसदीय समितिले युद्ध, ब्रेक्जिट र कोभिडको संयोजनका कारण उत्पन्न भएको श्रम अभावको समस्यालाई बेलैमा सम्बोधन नगरिए खाद्यान्न सुरक्षमा खतरा उत्पन्न हुने चेतावनी दिएको थियो। 

बीएसएफका अध्यक्ष निक मार्टसनका अनुसार संसदीय समितिको त्यो चेतावनीपछि मौसमी कामदारहरुलाई भिजा जारी गर्ने प्रक्रिया ठप्प भएको देखिएकोे छ। निकले ‘लिग अफ नेसन्स’को प्रस्तावलाई स्वागत गरेका छन्। यसका साथै उनी टाढाको देशबाट आएका कामदारहरु ढिला पुग्ने गरेकामा भने चिन्तित छन्। 

विदेशी श्रमिक भित्र्याउने मान्यता पाएको चारवटा फर्ममध्ये एक फ्रुटफुल जब्सका निर्देशक जस्टिन इमेरीका अनुसार बेलायत आउन चाहने कामदारको संख्या धेरै छ। फ्रुटफुल जब्सले दक्षिण अफ्रिकादेखि कुरर्दिस्तान र क्यानडादेखि मंगोलियासम्मका ३७ वटा देशहरुबाट श्रमिक भित्र्याइरहेको छ। यद्यपि विदेशी श्रमिकहरुले भिसाका लागि २४४ पाउन्ड र रिर्टन टिकटको व्यवस्था गर्नुपर्ने हुन्छ। यसका अतिरिक्त प्रशासनिक झन्झट र भाषाको समस्याका कारण टाढाका नयाँ देशहरुबाट भर्ती गर्ने प्रक्रिया त्यति छिटोछरितो देखिएको छैन। 

पाकेका फलफूललाई बिग्रनबाट जोगाउनका लागि छिट्टै टिपेर प्याक गर्नुपर्छ। 

बेलायतमा युक्रेनी शरणार्थीको आगमनले स्रोतहरुलाई विचलित गरेको र भिसा प्रक्रिया रोकिएको इमेरी बताउँछन्। 

दक्षिण पूर्वी बेलायतमा २४ वटा फर्मको सञ्जालका मालिक टिम च्याम्बर्सले रिक्रुटमेन्ट फर्मलाई इन्डोनेसिया, भियतनाम र फिलिपिन्सबाट कामदारहरु नल्याउन भनेका छन्। ‘जात, धर्म वा रङका आधारमा मैले यसो भनेको होइन। एउटा भिन्न संस्कृति र परम्परा भएको देशका कामदारलाई फर्ममा ल्याउनुहुन्छ भने यसले समस्या निम्त्याउन सक्छ।’

‘प्रभावकारीका आधारमा कुरा गर्ने हो भने नयाँ भर्ना गरिएको कामदारहरु पहिलो सिजनमा २५ प्रतिशत कम उत्पादक देखिएका छन्। यहाँ सांस्कृतिक र जीवनशैलीका कुराहरु पनि जोडिएका छन्’, च्याम्बर्स भन्छन्। 

आफ्नो फर्ममा मध्य र पूर्वी युुरोपका अनुभवी कामदारको संख्या धेरै रहेको र उनीहरु अझै पनि आफ्नो फर्ममा काम गर्न फर्किरहेको च्याम्बर्स बताउँछन्। यस्तै उनले झडपबाट बच्नका लागि युक्रेनी र रुसी कामदारलाई सँगै बस्ने व्यवस्था नगरिएको बताएका छन्। 

श्रमिकका लागि प्रतिस्पर्धा निकै बढेको र नयाँ स्रोतबाट समेत कामदार स्वीकार्नुपर्ने अवस्था आएको च्याम्बर्स बताउँछन्। उनले सरकारले पर्याप्त भिसा जारी नगरेको आरोप लगाएका छन्। 

यो वर्ष बेलायत सरकारले ३० हजार कामदारको सीमा तोकेको छ र आवश्यक परे थप १० हजार थप्ने सकिने जनाइएको छ। बेलायती कामदारलाई प्राथमिकता दिने र स्वचालित प्रविधिको प्रयोगको व्यवस्थाका कारण सन् २०२३ देखि भिसाको संख्या घट्न थाल्ने जनाइएको छ। 

ल्याङडोन म्यानोर फर्मका मालिक एलिस्टर बु्रकले विदेशी कामदारलाई प्रतिघन्टा १०.१० पाउन्ड पारिश्रमिक दिनुपर्ने व्यवस्था रहेको बताएका छन्। जुन ९.५० पाउन्डको न्यूनतम ज्यालाभन्दा बढी हो। आफ्ना वर्तमान कामदारलाई नयाँ कामदारको तुलनामा कम ज्याला दिन नसक्ने उनी बताउँछन्। जसका कारण समग्र उद्योगको ज्यालामा वृद्धि भएको छ उनको भनाइ छ। 

बेलायतमा मौसमी कामदारको योजना सन् २०२४ का सञ्चालन हुने जनाइएको छ। – बीबीसीबाट भावानुवादित