काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौको नक्सालस्थित केन्द्रीय बहिरा क्याम्पसलाई बिहीबार रु. १० लाख आर्थिक सहयोग गरेको छ ।

एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्राडा प्रभा हमाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । बहिरा विद्यार्थीहरुलाई सांकेतिक भाषामा उच्च शिक्षा प्रदान गर्न सामुदायिक कलेजका रुपमा ६ बर्ष अगाडि स्थापना गरिएको केन्द्रीय बहिरा क्याम्पसलाई बैंकले विगत ४ बर्षदेखि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

क्याम्पसमा हाल छात्रछात्रा गरी १०४ जना बहिरा बिद्यार्थीहरु स्नातक तहमा अध्ययनरत छन् । अध्यक्ष हमालका अनुसार हाल नक्सालस्थित बालमन्दिरमा शिक्षाशास्त्र संकायको बीएड कक्षा सञ्चालन गरिरहेको क्याम्पसले आफ्नै भवन निर्माण गरी व्यवस्थापन संकायको पढाइसमेत सञ्चालन गर्ने योजना बनाएको छ ।

सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यलाई महत्वपूर्ण जिम्मेवारीको रुपमा लिएको यस बैंकले देशका विभिन्न क्षेत्रमा स्वास्थ्य तथा शिक्षालाई प्राथमिकतामा राखी सामाजिक कार्यहरु गर्दै आएको छ ।