काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बिहीबार रु. ३० अर्बको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ। 

बैंकिङ प्रणालीमा तरलता कायम राख्न केन्द्रीय बैंकले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत निक्षेप संकलन उपलकरण निष्कासन गर्न लागेको हो। बोलकबोल अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ। यसको ब्याजदर पनि बोलकबोलका माध्यमबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ। 

यो उपकरणको साँवा तथा ब्याज भुक्तानी मिति आउँदो पुस २ गते हुनेछ। यसमा घटीमा रु. ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने छ।

यसको राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिनेछ। यो निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। 

निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलबपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ। निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ। समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा प्रो–राटा आधारमा बाँडफाँट गरिनेछ। 

यो उपकरणको खुला बजार कारोबार सञ्चालन समितिले कटअफ रेट निर्धारण गर्न सक्नेछ। आह्वान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहनेछ। 

\सफल बोलवालाहरुको स्वीकृत रकम निष्कासन मितिका दिन राष्ट्र बैंकमा रहेको खाता खर्च गरी निक्षेप संकलनको लागि खोलिएको अलग्गै खातामा जम्मा गरिनेछ। तसर्थ, बोलबाला बैंक तथा वित्तीय संस्थाले आफ्नो खातामा पर्याप्त मौज्दात कायम गर्नुपर्नेछ। 

बोल स्वीकृत भएका बोलवालाको खातामा सो उपकरण निष्कासन गरिने दिनमा मौज्दात रकम पर्याप्त नभएमा त्यस्ता बोलवालाको अर्नेष्ट मनि बापतको रकम जफत गरी निजलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ। निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजसहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ। 

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी एयचतायष्यि हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन। तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नुपर्ने एसएलआर तथा लिक्विडिटी रेसियोमा गणना गर्न पाइनेछ। 

संकलित निक्षेप रकम भुक्तानी मितिअगावै सम्बन्धित बोलवालालाई फिर्ता भुक्तानी वा प्रिमेचुअर भुक्तानी नहुने राष्ट्र बैंकले जनाएको छ।