काठमाण्डौ । विगत केही दिनदेखि लगानीयोग्य रकमको चरम अभावले देशका अधिकांश वाणिज्य बैंकहरु फिटफिटी परिरहेका छन् । वाणिज्य बैंकहरु निक्षेपको स्रोत जसरी पनि बढाउनुपर्ने दवाबमा रहेका कारण उनीहरुमध्ये केहीले मुद्धती निक्षेपलाई ९ प्रतिशतसम्म ब्याज दिने तयारी गरिरहेका बेला ग वर्गका बित्तीय संस्थाहरुले भने ब्याजदर परिवर्तन नगर्ने भद्र सहमति गरेका छन् । 

फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको मंगलबार बसेको बैठकले यस्तो भद्र सहमति गरेको हो । सहमतिअनुसार फाइनान्स कम्पनीहरुले ब्याजदरलाई यो महिना बढाउने छैनन् । साबिकको झै ब्याजदर भोलि(बुधबार) प्रकाशित गर्ने सहमति बनेको एक फाइनान्स कम्पनीका सीइओले बिजशालालाई जानकारी दिए । 

'हामीलाई फाइनान्स कम्पनीहरुलाई वाणिज्य बैंकहरुलाई जस्तो तरलताको फिटफिटी परेको छैन ।' उनले भने-'यसकारण समेत ब्याजदर बढाउन आवश्यक छैन भनेर अधिकतम ८.५ प्रतिशतसम्मको ब्याजदर मुद्धती निक्षेपका लागि दिन सकिने सहमति गरेका हौं । यो अघिल्लो महिनाकै ब्याजदरको निरन्तरता समेत हो ।' 

यसअघि समेत फाइनान्स कम्पनीहरुले एक वर्षे मुद्धती निक्षेपलाई ८.५ प्रतिशतसम्म ब्याजदर दिएर उठाइरहेका थिए । यही व्यवस्थालाई निरन्तरता दिने गरी सहमति बनेको ती सीइओले जानकारी दिए । 

उनका अनुसार पछिल्लो केही दिन अधिकांश वाणिज्य बैंकहरुलाई तरलताको तीव्र दवाब परिरहेको छ । 'कतिपय वाणिज्य बैंकहरुले दैनिकजसो हामीबाट अन्तरबैंक सापटीका लागि अनुरोध गरिरहनुहुन्छ ।' ती सीइओले भने-'हामीले सकेसम्म सहयोग गरिरहेका छौं ।' 

उता, वाणिज्य बैंकहरु भने ब्याजदर बढाउने पक्षमा देखिएका छन् । प्रणालीका अधिकांश वाणिज्य बैंकहरुसँग तरलता संकट देखिएका कारण उनीहरु महंगो दर हालेर समेत निक्षेप तान्ने प्रयासमा छन् । केही बैंकहरुले एक वर्षे मुद्धती निक्षेपमा ९ प्रतिशतसम्म ब्याजदरको अफरसहितको प्रडक्ट समेत डिजाइन गरिसकेका स्रोतहरु बताउँछन्। 

वाणिज्य बैंकहरुको अवस्था यस्तै रहने हो भने निक्षेपकै ब्याजदर निकट भविष्यमै डबल डिजिटसम्म पुग्नसक्ने संभावना बढी देखिएको छ ।