काठमाण्डौ । कोभिड १९ को दोश्रो लहर सुरु भएसँगै सेयर बजारका लगानीकर्ताहरुमा मनोवैज्ञानिक त्रास सिर्जना भएको छ । गत वर्ष कोरोना संक्रमण बढेर लकडाउन भएसँगै सेयर बजार समेत लामो समय बन्द भएको थियो । कतै यो वर्ष पनि त्यही नियति दोहोरिने पो हो कि ? भन्ने धेरैमा त्रास देखिएको छ । 

लगानीकर्ताहरुमा एकातिर कोरोना प्रभावका कारण बजार नै बन्द हुने हो कि भन्ने त्रास छ भने अर्कोतर्फ कोरोनाकै कारण बजारमा गिरावटको पट्यारलाग्दो यात्रा सुरु होला कि भन्ने पनि आशंका देखिन थालेको छ । 

सरकारले कोभिड १९ को दोश्रो लहरलाई भयावह हुन नदिन सेमीलकडाउनका विभिन्न उपायमा जाने निर्णय गरिरहँदा लकडाउन सन्निकट देखिन्छ । तर, सरकारका जिम्मेवार व्यक्तिहरुले पटक पटक अब पूर्ण लकडाउन हुँदै नहुने प्रष्टीकरण दिइसकेका छन् । 

नेपालसँग खुल्ला सीमा नाका रहेको भारतमा कोरोनाको दोश्रो लहर भूसको आगो झै फैलिइरहँदा रोकथामका लागि त्यहाँ भएका कतिपय प्रयासहरुको नेपालले कपीपेष्ट गर्ने गरेको छ । लकडाउन गर्ने या नगर्ने नीति पनि भारतको नीतिबाट प्रभावित हुने गरेको देखिन्छ । भारतको राजधानी नयाँदिल्लीमा एकसाताको लकडाउन लागेको छ । तर, भारतका केन्द्रीय वित्त मन्त्रीले छोटो अवधिको बाहेक पहिलाको जस्तो लामो लकडाउन नहुने र आर्थिक गतिविधि नरोकिने प्रष्ट पारिसकेका छन् । यसले नेपालमा समेत सकारात्मक प्रभाव पार्ने दाबी गरिएको छ । भारतले कार्यान्वयनमा ल्याउने अभ्यासहरु नेपालमा समेत हुने भएकोले यहाँ पनि पूर्ण लकडाउन नहुने र अघिल्लो वर्षको त्यो गल्ती नदोहोरिने आम अनुमान छ । 

तर, कोरोनाको संक्रमण नियन्त्रणबाहिर गयो, स्वास्थ्य मापदण्ड पालनामा सर्वसाधारण गम्भीर भएनन् भने देश नै ठप्प पार्नुपर्ने अवस्था समेत आउनसक्ने स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले बताइसकेका छन् । यसको अर्थ यदि भोलिको दिनमा लकडाउन भयो भने सेयर बजार के हुन्छ ? भन्ने त्रास उत्पन्न हुनु स्वभाविक देखिन्छ । के अन्य क्षेत्रमा लकडाउन भयो भने अब फेरि पनि सेयर बजार बन्द हुन्छ ? अघिल्लो वर्ष बजार लामो समय बन्द गरिनुलाई सबै सरोकारवालाले अक्षम्य गल्ती भनी स्वीकार गरिसकेको अवस्थामा त्यही गल्ती यो पटक दोहोरिने संभावना छैन । 

बजारको फ्रन्ट लाइन रेगुलेटर(बजार संचालक) नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अब कोरोना संक्रमण नियन्त्रणबाहिर गएर देश नै ठप्प भयो भने पनि सेयर बजार बन्द नहुने प्रष्ट पारे । ‘लगानीकर्ताहरु अहिलेदेखि नै त्रसित हुनुपर्ने आवश्यकता देख्दिँन ।’ उनले भने–‘जस्तोसुकै अवस्था आओस्, अब नेपालको सेयर बजार कहिल्यै बन्द हुँदैन ।’ 

उनका अनुसार सरकारले जारी गरेका नयाँ मापदण्डको पालनाका लागि नेप्से कार्यालय, ब्रोकर हाउसहरु लगायतका क्षेत्रमा केही कडाई हुनेछ । जस्तो, ५ जनाभन्दा बढी एकैठाउँमा एकैपटक जम्मा हुन नपाइने नियम लागू गर्ने गरी ब्रोकरहरुलाई मंगलबार नै विशेष निर्देशन आउनसक्नेछ । ब्रोकरहरुलाई सकेसम्म कारोबार र यससँग जोडिएका सबै काम डिजीटल माध्यमबाट गर्न समेत निर्देशन दिइनेछ । धेरै ठूला ब्रोकर हाउसहरुले कर्मचारीहरुलाई काम लगाउँदा सिफ्ट सिस्टम वा वर्क फ्रम होमको अवधारणा पालना गर्नुपर्ने व्यवस्था समेत हुनसक्नेछ । 

‘हुन त अहिले पनि दैनिक कारोबारको ९० प्रतिशतमाथि कारोबार डिजीटल माध्यमबाटै हुन्छ ।’ साउदले भने–‘पूर्ण लकडाउन नै हुने अवस्था भयो भने पनि नेप्से पूर्ण स्वचालित प्रणालीमा आबद्ध रहेका कारण बजार संचालन हुन्छ ।’ 

यता, विश्लेषकहरुले होटल, रेष्टुराँ, यातायात लगायतका क्षेत्रमा कोरोनाको प्रभाव परेर गतिविधि कम भएको खण्डमा त्यसले सेयर बजारलाई निकै ठूलो सपोर्ट प्राप्त हुने दाबी गर्छन् । ‘अन्य क्षेत्रमा लगानी गर्नेहरु सुस्ताए भने उनीहरुले सेयर बजारमा पैसा खन्याउँछन् ।’ विश्लेषकहरुको तर्क छ–‘अरु सेक्टरका लगानीकर्ता पनि बजारमा आएपछि बजार बुम हुन्छ, त्यसकारण लगानीकर्ता अनावश्यक रुपमा आत्तिने अवस्था छैन । कोरोनाको हाउगुजी देखाएर बजार घटाउने गिरोहदेखि सावधान भएर खरीदबिक्रीको निर्णय गर्नु उचित हुन्छ ।’