– अर्जुन तिमिल्सिना

काठमाण्डौ । केही समय साइडवेजमा रहेको सेयर बजार साताको पहिलो दिन आइतबार झन्डै ७५ अंक बढ्यो। आज सोमबार पनि सुरुआती चरणमा बढेको बजार अन्ततः झन्डै ४५ अंकले घटेर बन्द भयो। 

बजार घटबढ हुने कारण जे भए पनि प्राविधिक भाषामा आज सेयर बजारले रातो मारुबुजु मैनबत्ती बनाएको छ। यसले बजार केही दिन अझै साइडवेज जान सक्ने तथा बजारमा बिक्रीचाप पर्न सक्ने अनुमान लगाउन सकिन्छ। विभिन्न औजारबाट बजारको विश्लेषण गर्दा एमएसीडी लाइनले बजार बुलिस हुने संकेत देखाउँछ भने अन्य सबैजसो औजारले बजारमा बिक्रीचाप पर्न सक्ने देखिन्छ। 

प्राविधिक भाषामै भन्दा लामो समय बढेको बजार अब ३०० अंकसम्मको करेक्सन स्वाभाविक मन्न सकिन्छ। 

मैनबत्ती विश्लेषणका आधारमा 

मैनबत्ती विश्लेषणअन्तर्गत हिजो र आजको कारोबारमा बियरिस इङ्गल्फिङ बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ (हेनुहोस् रातो एरो)। हरियो मैनबत्तीपछि त्यसलाई ढाक्ने गरी त्योभन्दा लामो रातो मैनबत्ती बन्छ भने त्यसलाई बियरिस इङ्गल्फिङ प्याट्रन भनिन्छ। यदि रातोलाई ढाक्ने गरी त्योभन्दा पछि हरियो मैनबत्ती बन्छ भने त्यसलाई बुलिस इङ्गल्फिङ भनिन्छ। यस्तो आकृति गत अप्रिल २६–२७ मा नेप्से इन्डेक्स २५०७ को विन्दु हुँदा बनेको थियो (हेर्नुहोस् हरियो एरो)। त्यसपछि बजार झन्डै ५०० अंकभन्दा बढी बढेको थियो। 

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। गत नोभेम्बरदेखि हालसम्मको बजारले बनाएको रोखाचित्रलाई आधार मानेर  इलिअट वेभलाई विश्लेषण गर्ने हो भने हाल इन्टरमिडियट डिग्रीअन्तर्गत वेभ (५) को ए, बी र सी चल्दै गरेको अनुमान लगाउन सकिन्छ । यसअन्तर्गत पनि वेभ ए लगभग २७८० मा सकिएर वेभ बी लगभग २९२८ मा आज पूरा गरी यही डिग्रीको सी बनाउन बजार अब लगभग २५०८ सम्म आउन सक्ने अनुमान बलियो हुँदै गएको छ। किनकि अघिल्लो विश्लेषणमा नै हामीले यो अनुमान गरेर हाम्रा पाठकलाई भनिसकेका थियौँ। (हेर्नुहोस् माथि मुख्य तस्बिर) 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवा २९१८, ०.३८ प्रतिशतको टेवा २८३८ तथा ०.५ प्रतिशतको टेवा २७७१ र ०.६१ प्रतिशतको टेवा २७२० तथा ०.७८ प्रतिशतको टेवा २६२१ र १ प्रतिशतको टेवा २५०८ सम्म बजार आउन सक्ने देखिन्छ। (जुन तस्बिरमा हेर्न सकिन्छ)

एमएसीडी लाइनका आधारमा

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत गएको १७ जुनमा बियरिस क्रसओभर बनेको छ। सिग्नल बियरिस नै देखिन्छ  हिस्टोग्रामहरु (कालो एरोले देखाएको) छोटा–छोटा हुँदै गएका छन्। हिस्टोग्राम छोटा–छोटा हुनु भनेको एमएसीडी लाइन र सिग्नल लाइन नजिक–नजिक हुँदै गएको र बजार केही समयमा बुलिस क्रस ओभर (हेर्नुहोस् हरियो एरो) पनि हुन सक्ने सम्भवना हो । यसले बजार बुलिस नै रहेको केही समयमा बुलिस क्रस ओभर हुने संकेत गरेको छ। 

बोलिंगर ब्यान्डका आधारमा

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले केही समय पहिला लोअर ब्यान्डलाई छोएको तर ब्रेक आउट हुन सकेको छैन। आजको बजार मध्य रेखामा नै रहेकोले बजार साइडवेज हुन सक्ने देखिन्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ५० रहेको छ। जसको अर्थ हुन्छ न्युट्रल जोनमा छ र अघिल्लोपटक यो विन्दु ७८.९७ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई ३७.८२ मा आउँदा अघिल्लोपटक बजारमा बुलिस यात्रा तय भएको थियो। हाल आरएसआई ५० को जोनमा छ र यो पछिल्लोपटक ४२ को तहबाट माथि जान थाले पनि बजारले गति लिन सकेको छैन। यसले बजार केही समय साइडवेजमा जान सक्ने अनुमान लगाउन सकिन्छ ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।