काठमाण्डौ । घरबाट निस्कनेबित्तिकै १५ मिनेटको दूरीमा विद्यालय, अस्पताल, हाटबजार सबै कुरा भेटियो भने कस्तो होला ? ट्राफिक जामदेखि सडक दुर्घटना कम हुनेछ। वातावरण पनि राम्रो हुनेछ। 

यही सोचका साथ बेलायत र युरोपमा १५ मिनेटको सहरको अवधारणा ल्याउने कुरा भए पनि जनताले हंगामा मच्चाएका छन्। ‘वास्तवमा यो एउटा षडयन्त्र हो, जसका कारण सोही क्षेत्रमा मानिसलाई नजरबन्दमा राखिन्छ’, उनीहरुको भनाइ छ। 

नियम तोडे ७० पाउन्ड जरिवाना

यो फरक किसिमको षडयन्त्रको सिद्धान्त रहेको भन्दै विरोधमा अक्सफोर्डको ठूलो जनसंख्या सडकमा उत्रिएका छन्। बेलायतका ती सहरहरुमध्ये अक्सफोर्ड पहिलो हो। जहाँ कुनै पनि क्षेत्रका मानिसहरुले निश्चित क्षेत्रभन्दा बाहिर गाडी चलाउन सक्दैनन्। यद्यपि प्रत्येक वयस्कले सहरभन्दा बाहिर जान १०० दिनको पास पाउनेछन्। यदि उनीहरुले नियम तोड्छन् भने ७० पाउन्ड जरिवाना हुनेछ।

गाडीहरु पहिचान गरी रोक्न सहरमा फिल्टर जडान गरिने

यो योजनालाई अक्सफोर्ड ट्राफिक फिल्टर योजना भनिन्थ्यो। जसमा सहरमा ६ फिल्टरहरु हुनेछन्। जसले निजी सवारीहरुलाई लामो दूरीमा यात्रा गर्नबाट रोक्नेछ। यसमा थोरै छुट पनि छ । बस, ट्याक्सी, भ्यान, मोटरसाइकल र एम्बुलेन्सजस्ता सवारीसाधनमा यो नियम लागू हुने छैन । नियम कार्यान्वयनको चर्चा सुरु हुनासाथ जनताले आक्रोश पोखे। जनता एउटै क्षेत्रमा सीमित रहन, बाहिरका मानिसलाई भेट्न नपाउने, संसारको बाँकी भागमा के भइरहेको छ भन्नेबारे सही जानकारी पाउन नपाउने गरी सरकारहरु मिलेर षड्यन्त्र गरिरहेका छन् भन्ने धेरैजसोको आरोप छ। 

के छ पक्षमा तर्क ?

१५ मिनेट सिटीको पहिलो वार्ता सन् २०१५ मा भएको थियो। त्यतिबेला पेरिसको सोर्बोन विश्वविद्यालयका प्रोफेसर कार्लोस मोरेनोले यति मिनेटको दूरीमा एउटै क्षेत्रमा सबै कुरा बनाइदिने हो भने ट्राफिक नियम तोड्ने कम हुने र मानिसले कम गाडी चलाउने भएकाले प्रदूषण पनि कम हुने बताएका थिए । वैज्ञानिकहरुले यसको पक्षमा धेरै तर्कहरु दिए, यसले मानिसहरुको समय बचत गर्नेछ र उनीहरु आफ्नो छिमेकसँग राम्रोसँग जोडिन सक्षम हुनेछन्।

त्यसो भए समस्या कहाँ छ ?

वैज्ञानिक र वातावरणविद्हरुले यसको फाइदाहरु गणना गरिरहेका छन्। कार्बन फुटप्रिन्ट घटाउने र आउने पुस्तालाई स्वच्छ हावा दिने कुरा पनि। यो मानिसहरुलाई लोभ्याउन पर्याप्त छ तर यो उल्टो भएको छ। यो सबैलाई एउटै क्षेत्रमा थुन्ने षड्यन्त्र भएको जनताको भनाइ छ । मेयर वा सरकारहरुले फ्ल्याट नम्बरका आधारमा निर्णय गर्नेछन्। जहाँ तपाईं जान सक्नुहुन्न।

सामाजिक सञ्जालमा विभिन्न किसिमका ह्यासट्याग चलिरहेका छन्। जसमा कसैले यसलाई संयुक्त राष्ट्र संघको एजेन्डा र कसैले वर्ल्ड इकोनोमिक फोरमको एजेन्डा भएको आरोप लगाएका छन् । सरकारले चाहेमा निश्चित ठाउँलाई पूर्ण रुपमा खाली गरेर त्यहाँका जनतालाई स्मार्ट सिटीमा पठाउने पनि बताइन्छ । जनतासँग कहाँ बस्ने भन्ने विकल्प छैन। यसलाई #15minuteprisons पनि भनिन्छ।

धेरै देशले गरेका छन् प्रस्ताव 

षड्यन्त्र सिद्धान्तको सत्य वा असत्य थाहा छैन तर विभिन्न देशका सरकारहरुले यस दिशामा काम गर्न थालेका छन्। अमेरिकाको ओटावा राज्यमा १५ मिनेटको छिमेक प्रस्ताव गरिएको छ भने अस्ट्रेलियाको मेलबर्नमा २० मिनेटको सहर छ। स्पेनको बार्सिलोनामा यसलाई कार–फ्री सुपरब्लक भनिन्छ। यो यति ठूलो क्षेत्र हुनेछ। जहाँ सबै फ्रिलहरु १५ मिनेटमा साइकल वा पैदलमा पाउन सकिन्छ।लडाइँमा ठूला नेता र वैज्ञानिक पनि विभाजित भएका छन्। यही फेब्रुअरीको सुरुमा बेलायती नेता निक फ्लेचरले संसदमा यसलाई अन्तर्राष्ट्रिय षड्यन्त्र भएको भन्दै यसलाई कार्यान्वयन गरे जनताको स्वतन्त्रता खोस्ने आरोप लगाएका थिए। –एजेन्सी