-अनन्त्य सुन्दर
काठमाण्डौ । नेपाली सेयर बजार विगत केही दिनदेखि घट्दो क्रममा छ। नेप्से परिसूचक साथै कारोबार रकममा भारी अङ्कको गिरावटसँगै सेयर किनेर बसेका लगानीकर्ताहरू आफूसँग भएको सेयर अब के गर्ने ? साथै सेयर बेचिसकेका लगानीकर्ताहरू बजार कहिले प्रवेश गर्ने ? भन्नेजस्ता अन्यौलमा रुमल्लिएका छन् । 

पछिल्ला दिनहरूमा नेपाल धितोपत्र बोर्डको विज्ञप्ति, सेयर धितो कर्जामा कडाइ, राष्ट्र बैङ्कको सर्कुलर लगायत विविध कारणहरूले बजारमा उत्तर–चढाव आएको थियो। अहिले ब्याजदर बढ्नसक्ने हल्लाले बजारमा लगानीकर्तामा डर र त्रासको वातावरण सिर्जना भएको छ । 

‘राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइँ गरिसकेको छ । अब ब्याजदर पनि निरन्तर बढ्ने क्रममा देखिन्छ। त्यसैले सेयर बजारमा ठूलो करेक्सन आउने देखिन्छ ।’–बजारका सक्रिय लगानीकर्ता आहन बञ्जाराले भने।

सेयर कारोबारमा गिरावट आएसँगै केही दिन बजार घट्ने बजारका सक्रिय लगानीकर्ता किशोरकुमार न्यौपाने बताउँछन्। न्यौपाने भन्छन्–‘ठूला लगानीकर्ताहरूले सेयर बेचिसकेका हल्ला सुनिन्छ। त्यसैले बजारमा लगानीकर्ताहरूमा ‘प्यानिकनेस’ देखिन्छ। तर लगानीकर्ताहरूले आफूले लगानी गरेको कम्पनीहरूमा विश्वास गर्नु अत्यावश्यक छ।’

सेयर बजारका सक्रिय लगानीकर्ता दुर्गा घिमिरे सेयर धितो कर्जामा कडाइँले गर्दा ठूला लगानीकर्ताहरू बजारमा प्रवेश नगरेकाले बजार घटेको बताउँछन्। ‘अहिले ब्याजदर बढ्ने हल्लाले बजारमा चलखेल हुँदै छ। के ब्याजदर एकै पटक ५–१० प्रतिशतले बढ्छ र ?’ उनले प्रश्न गर्दै भने–‘राम्रा कम्पनीहरूमा लगानी गर्ने लगानीकर्ताहरू आत्तिने समय आएको छैन। बजार अझै पनि बुलिस नै छ।’

बजारका अर्का सक्रिय लगानीकर्ता आशिष कुशवाहा भन्छन्–‘ब्याजदर बढेमा बजारमा भारी अंकको गिरावट आउने निश्चित छ। बजारका ठूला लगानीकर्ताहरू बेलैमा सेयर बेचेर बस्छन्। नियामक निकायदेखि लिएर अर्थसम्म उनीहरूको पहुँच हुन्छ। त्यसैले ब्याजदर बढेमा यसले हामीजस्ता साना लगानीकर्ताहरूलाई नै बढी असर गर्ने हो। ’

प्रतिनिधिमूलक रुपमा लगानीकर्ताहरुको मनोविज्ञान बुझ्दा अधिकांशमा ब्याजदर बढ्ने त्रास देखिएको छ । यहीकारण बजार घटिरहेको समेत यसले देखाउँछ ।