काठमाण्डौ । कैलाश विकास बैंकलाई प्राप्तिपछि प्राइम कमर्सियल बैंक लिमिटेडको नाममा यही फागुन २९ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ।

नेपाल राष्ट्र बैंकले कैलाशलाई प्राप्ति गर्न प्राइमलाई अन्तिम स्वीकृति दिएसँगै एकीकृत कारोबार सुरु हुने भएको हो। बैंकको मुख्य कार्यालय भने काठमाण्डौको कमलपोखरीमा हुनेछ।  

प्राइमले कैलाश बैंकलाई १००ः९४ हाराहारीको सेयर स्वाप रेसियोमा गाभ्ने गरी असोज १५ गते प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो। 

यी दुवै बैंकको पुस २५ गते सम्पन्न साधारणसभाले आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गरी अन्तिम स्वीकृतिका लागि राष्ट्रबैंकसँग माग गरेका थिए। आवश्यक सबै प्रक्रिया पूरा भएका कारण प्राइमलाई कैलाशलाई प्राप्तिको अन्तिम अनुमति दिइएको राष्ट्रबैंकले जनाएको छ।

मर्जर सम्झौतापछि प्राइमको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको १६ प्रतिशत बोनस सेयर वितरणको निर्णय पारित गरिसकेको छ भने कैलाशको वार्षिक साधारणसमा पनि गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको चुक्तापुँजीको १६ प्रतिशत बोनस सेयर र २.७७ प्रतिशत नगद लाभांश वितरणको निर्णय भई कार्यान्वयनमा आइसकेको छ। 

ओम डेभलपमेन्ट बैंकसँगको मर्जर असफल भएपछि अप्ठ्यारोमा परेको प्राइम बैंक पछिल्लो समय साना संस्थाहरुलाई गाभेर बलियो बन्ने दौडमा छ।

कैलाशलाई प्राप्तिपछि बैंकको नाम प्राइम कमर्सियल बैंक लिमिटेड रहेनछ र रजिस्टर्ड तथा कर्पोरेट कार्यालय काठमाण्डौको कमलापोखरीमा रहनेछ।

कैलाशको प्राप्तिपछि प्राइम बैंकको चुक्तापुँजी १३ अर्ब ९५ करोडको उचाईमा पुग्नेछ। बैंकको पुँजी कोष १९ अर्ब, निक्षेप १ खर्ब २८ अर्ब र कर्जा १ खर्ब १५ अर्ब रुपैयाँको उचाईमा पुग्नेछ।