काठमाण्डौ। कोजेन्ट हेल्थले भक्तपुर अस्पताल र मेचीअञ्चल अस्पतालबाट बीमा व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस) सँग एकीकृत स्वास्थ्य बीमा व्यवस्थापन प्रणालीको सुरुआत गरेको छ। योसँगै कोजेन्ट हेल्थ स्वास्थ्य बीमा बोर्डद्वारा प्रबर्द्घित आईएमआईएस प्रणालीमा जोडिने पहिलो इलेक्ट्रोनिक हेल्थ रेकर्ड सेवा प्रदायक कम्पनी बनेको छ।  

एकीकृत प्रणालीको सुरुआतसँगै स्वास्थ्य बीमामा आबद्घ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बिरामीहरू स्वास्थ्य बीमा योजनामा आबद्ध भए नभएको जाँच गर्न र आबद्ध भएका बिरामीहरूको हकमा स्वास्थ्य बीमासम्बन्धी आवश्यक विवरणको जानकारीका लागि कोजेन्ट हेल्थको इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणालीको उपयोग गर्न सक्नेछन्। यसका साथै स्वास्थ्य संस्थाहरूले सफ्टवयेरमार्फत् डिजिटल रुपमै बिरामीको बीमा दाबी गर्न सक्षम हुने भएका छन्। योसँगै हालसम्म स्वास्थ्य सेवा प्रदायकले बीमा दाबी गर्न बीमितलाई स्वास्थ्य सेवाप्रवाहका क्रममा दिइएको सेवाको कागजात छुट्टै साइटमा प्रविष्ट गरिरहनुपर्ने दोहोरो र समय खपतहुने अवस्थाको अन्त्य हुने भएको छ। 

इलेक्ट्रोनिक हेल्थ रेकर्ड र बीमा सूचना प्रणालीजस्ता दुर्ई महत्वपूर्ण प्रणाली एकीकृत हुँदा नेपालमा अत्यावश्यक डिजिटल स्वास्थ्य इकोसिस्टम निर्माणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ। कोजेन्ट हेल्थले पहिले नै फिनटेक र भुक्तानी प्रणालीसँग आफ्नो प्रणालीलाई एकीकृत गरीसकेको छ र डिजिटल स्वास्थ्यको क्षेत्रमा आवश्यक पर्ने महत्वपूर्ण प्रविधि निर्माण गर्दै आएको छ। 

कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो। कम्पनीले  इलेक्ट्रोनिक हेल्थ रेकर्ड (ईएचआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ। कोजेन्ट हेल्थद्वारा निर्मित कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब, ई–अपोइन्टमेन्ट र स्मार्ट स्वास्थ्यजस्ता प्रविधिहरु नेपालभरका ५० भन्दा बढी अस्पताल र स्वास्थ्य संस्थामा प्रयोग भइरहेका छन्।