काठमाण्डौ । उपत्यकामा निषेधाज्ञा भोलिबाट केही खुकुलो पारिए पनि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सरकारले आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकोले अत्यावश्यक नपरुन्जेल अझै पनि घरबाहिर ननिस्किन मन्त्रालयले आग्रह गरेको छ।

निस्किनै परे सधैँ मास्कको प्रयोग गर्न र भौतिक दूरी कायम गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ। बेलाबेलामा साबुनपानीले हात धुनेलगायत सबै स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न पनि सूचनामा आग्रह गरिएको छ।

सामान्य हेलचेक्र्याइँ पनि कोभिड संक्रमण फैलिन सक्नेतर्फ पनि मन्त्रालयले सचेत गराएको छ।