काठमाण्डौ। कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियान यो सातादेखि पुनः सुरु हुने भएको छ।

नर्भिक अस्पतालले कोभिडको तेस्रो लहर सुरु हुनुअघिदेखि प्रत्येक शनिबार विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएको थियो। सो अभियान कोभिडको तेस्रो लहर सुरु भएपछि केही साता बन्द गर्नुपरेको थियो। 

कोभिडको तेस्रो लहरको प्रभाव निकै न्यून भएसँगै नर्भिकले प्रत्येक शनिबारको फ्री ओपीडी सेवालाई पुनः सुचारु गर्ने निर्णय गरेको हो। 

यो निर्णयअनुसार भोलि (शनिबार) नर्भिक अस्पतालको युरोलोजी टिमले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्नेछ। यो दिन प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको युरोसर्जरी तथा युरोलोजी टिमले सेवा दिनेछ। 

केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपीडी सेवा सञ्चालन हुने समयसमेत परिवर्तन भएको छ। पहिला बिहान १० देखि १२ बजेसम्म यस्तो सेवा सञ्चालन हुने गरेकोमा अबदेखि भने बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म (२ घन्टा) सञ्चालन हुनेछ। 

मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपीडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिनसक्नेछन्। 

निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधासमेत उपलब्ध छ।