काठमाण्डौ । कोभिड प्रभावकै बीच बैंक तथा वित्तीय संस्थाहरुले कर्जालाई विस्तार गरिरहेको देखिएको छ । योसँगै उनीहरुले निक्षेप परिचालनमा पनि गति दिन थालेका छन् । 

नेपाल राष्ट्रबैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा कर्जा र निक्षेप परिचालन अघिल्लो महिनाको तुलनामा निकै राम्रो ढंगले बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । चालु आबको २ महिनाको अवधिमा भने बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.५ प्रतिशतले मात्र बढेको थियो । 

अर्थतन्त्र चलायमान हुँदै जाँदा बैंकहरुको कर्जाको माग समेत बिस्तारै बढ्दै गएको यो तथ्यांकले देखाउँछ । 

यस्तै, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ४.९ प्रतिशतले बढेको छ । जब कि २ महिनाको अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ०.५ प्रतिशतले मात्र बढेको थियो । 

यसैगरी, बैंकहरुको ब्याजदर पनि घटिरहेको देखिएको छ । चालु आबको पहिलो २ महिनासम्म वाणिज्य बैंकहरुको आधार दर ७.८३ प्रतिशत रहेको थियो । तेश्रो महिनामा भने यो दर घटेर ७.७३ प्रतिशत कायम भएको हो । 

२०७७ असोजमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.४५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ९.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.७५ प्रतिशत र ११.९८ प्रतिशत रहेका थिए । २०७६ असोजमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ४.३३ प्रतिशत रहेकोमा २०७७ असोजमा ०.६३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ असोजको ४.६२ प्रतिशतको तुलनामा २०७७ असोजमा ०.११ प्रतिशत कायम भएको छ । मौद्रिक नीतिको संचालन लक्ष्यको
रुपमा लिइने औसत अन्तर–बैंक दर २०७७ असोजमा ०.१६ प्रतिशत कायम भएको छ ।

२०७७ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.६१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १०.१८ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.८० प्रतिशत र ११.९७ प्रतिशत रहेका थिए । २०७६ भदौमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर २.७३ प्रतिशत रहेकोमा २०७७ भदौमा ०.१३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ भदौको १.६९ प्रतिशतको तुलनामा २०७७ भदौमा ०.०८ प्रतिशत कायम भएको छ ।