काठमाण्डौ । कोभिड–१९ रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने अत्यावश्यक मालवस्तुको पैठारीमा सहजीकरण गरी शीघ्र भन्सार जाँचपास गर्ने बाटो खुलेको छ। 

अर्थमन्त्रालयअन्तर्गत भन्सार विभागले कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि, २०७८ सञ्चालनमा ल्याएसँग शीघ्र भन्सार जाँचपास गर्ने बाटो खुलेको हो। कार्यविधिअनुसार पैठारीकर्ताले अत्यावश्यक मालवस्तु पैठारी गर्नका लागि नियमित प्रक्रियाबमोजिम आवश्यक कागजातसहित त्यस्ता मालवस्तु घोषणा गर्नुपर्नेछ। यदि त्यस्ता मालवस्तु पैठारीका क्रममा प्रज्ञापनपत्र पेस गर्नुपर्ने कुने कागजपत्र तत्काल पेस गर्न नसकेको खण्डमा कागजात पछि पेस गर्ने सर्तमा भन्सार अधिकृतले त्यस्ता मालवस्तु जाँचपास गर्न सक्नेछ। मालवस्तु जाँचपास भएकोमा मनासिव समयभित्र पैठारीकर्ताले त्यस्ता कागजपत्र विद्युतीय माध्यमबाट वा भौतिक रुपमा भन्सार अधिकृतसमक्ष पेस गर्नुपर्नेछ। 

यसैगरी कोभिड रोकथाम तथा उपचारका लागि आवश्यक अत्यावश्यक अत्यावश्यक मालवस्तुलाई भन्सार अधिकृतले उच्च प्राथमिकता दिई शीघ्र जाँचपास गर्नुपर्ने कार्यविधिमा उल्लेख्य छ। त्यसका लागि भन्सार कार्यालयका प्रमुखले आफ्नो कार्यालयमा आवश्यक कर्मचारीको व्यवस्थासहित छुट्टै इकाइ खडा गर्नुपर्नेछ। 

आपूर्ति व्यवस्थालाई सहज एवं शीघ्र बनाउन कार्यालयको नियमित समयभन्दा अघि वा पछि र सार्वजनिक बिदाका दिनमा पनि यात्रु जाँचपास कक्ष वा काउन्टरबाट समेत अत्यावश्यक मालवस्तुको जाँचपास गर्ने गरी भन्सार प्रमुखले आवश्यक व्यवस्था गर्नुपर्नेछ। यस प्रक्रियामा कुनै समस्या देखिए समाधान गरी आवश्यक सहजीकरण गर्नका लागि विभागमा उपमहानिर्देशकको संयोजकत्वमा एक द्रुत कार्यदल रहनेछ। 

आवश्यक मालवस्तुको शीघ्र जाँचपासलाई सहजीकरण गर्न विभागले छनोट प्रणालीको उपयुक्त विधि अवलम्बन गर्न सक्ने कार्यविधिमा उल्लेख छ।

यसैगरी अत्यावश्यक मालवस्तुमध्ये गुणस्तर प्रमाणित भएपछि मात्र जाँचपास गर्नुपर्ने प्रकृतिका मालवस्तु गुणस्तर प्रमाणित भएपश्चात मात्र जाँचपास गर्नुपर्ने कार्यविधिमा स्पष्ट पारिएको छ। स्वास्थ्य एवं जनसंख्या मन्त्रालय वा तोकिएको निकायले सिफारिस गरेको अवस्थामा भन्सार अधिकृतले सो व्यहोरा प्रज्ञापनपत्रमा उल्लेख गरी त्यस्ता मालवस्तु जाँचपास गर्न सक्ने पनि कार्यविधिले अधिकार दिएको छ।

अत्यावश्यक मालवस्तु जाँचपासका क्रममा स्थानीयस्तरमा कुनै समस्या उत्पन्न भएमा सम्बन्धित भन्सार कार्यालयका प्रमुखले जिल्ला अधिकारी तथा सुरक्षा नियकासँग आवश्यक समन्वय गर्नुपर्नेछ। त्यस्तै अत्यावश्यक मालवस्तुको पैठारीलाई सहज गराउने सम्बन्धमा भन्सार कार्यालयका प्रमुखले सीमावर्ती समकक्षी भन्सार प्रशासनसँग आवश्यक समन्वय र सहकार्य गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।