नतालिया पसारिन्यो र लुइस बर्रोचो
-ब्रजिल

कोरोनाभाइरस महामारी सुरु भएको एक वर्षभन्दा बढी समय हुँदा ब्रजिलमा अहिले कोभिडका कारण हुने मृत्युदर उच्च तहमा पुगेको छ।

धेरै प्रमाणहरूका अनुसार कोभिड-१९ ले दुर्लभ रूपमा मात्र भर्खरैका बालबालिकाको ज्यान लिन्छ। तर ब्रजिलमा कोरोनाभाइरसबाटै १,३०० भन्दा बढी शिशुको ज्यान गइसकेको छ।

एक चिकित्सकले जेसिका रिकार्टेको एक वर्षीय छोराको कोभिड परीक्षण गर्न अस्वीकार गरे।

ती चिकित्सकले उनका छोरामा देखिएका लक्षणहरू कोरोनाभाइरससँग नमिल्ने बताएका थिए।

दुई महिनापछि ती बालकको सोही रोगका कारण निधन भयो।

दुई वर्षको प्रयास र सन्तान जन्माउनका लागि गरिएको उपचारको असफलतापछि शिक्षक रहेकी जेसिका रिकार्टेले आफ्ना छोराछोरी हुँदैनन् भन्ने ठानेकी थिइन्।

तर उनी गर्भवती भइन् र लुकसको जन्म भयो।

"उसको नाम लुमिनसबाट राखिएको हो। ऊ हाम्रो जीवनको प्रकाश थियो। उसले हामीलाई खुसी हामीले सोचेभन्दा धेरै हो भन्ने देखाएको थियो," उनी भन्छिन्।

रोगको आरम्भ

सुरुमा उनले सधैँ राम्ररी खाने लुकसमा भोक हराएपछि आमा चिन्तित भइन्। पहिले त उनलाई ती शिशुको दाँत आउन लागेको जस्तो लागेको थियो।

नर्स समेत रहेकी लुकसकी हजुरआमाले उसको घाँटीमा खसखस हुन सक्ने बताइन्।

तर त्यसपछि उसलाई एक्कासि ज्वरो आयो र उसले सास फेर्न अप्ठेरो महसुस गर्न थाल्यो।

उनले लुकसलाई अस्पताल लगिन् र कोभिड परीक्षणका लागि आग्रह गरिन्।

"डाक्टरले अक्सिमिटर लगाए। लुकसको अक्सिजनको मात्रा ८६ प्रतिशत थियो। अहिले त्यो सामान्य हो भन्ने मलाई थाहा छ," जेसिकाले भनिन्।

तर उसलाई ज्वरो थिएन। त्यसैले चिकित्सकले भने: "चिन्ता नलिनूस्। कोभिड परीक्षण गर्नुपर्दैन। सायद घाँटीमा सामान्य खसखस भएको हो।"

उनले बालबालिकामा कोभिड-१९ एकदमै दुर्लभ भएको बताए र केही एन्टिबायोटिक दिएर घर पठाए।

सन्देह
उनमा सन्देह हुँदाहुँदै पनि त्यस बेला लुकसको परीक्षण निजी स्तरमा गर्ने सुविधा थिएन।

दश दिनसम्म एन्टिबायोटिक खुवाएपछि उनका केही लक्षणहरू हराए तर थकान भने कायम थियो। त्यसले उनलाई लुकसलाई कोरोनाभाइरस भयो कि भन्ने चिन्ता लागिरह्यो।

उनी भन्छिन्, "मैले कैयौँ भिडिओ मेरा आमाबुवा र मेरी सासूलाई पठाएँ। तर सबैले मैले बढाइचढाइ गरेको भने। मलाई समाचार नहेर्न सुझाव दिए। त्यसले मलाई त्रसित बनायो। तर मलाई थाहा थियो -मेरो छोराले राम्ररी सास फेर्न सकिरहेको छैन।"

त्यो २०२० मे को कुरा हो र त्यस बेला कोरोनाभाइरस महामारी बढिरहेको थियो।

उत्तरपूर्वी ब्रजिलको सेअरास्थित टम्बोरिलमा दुई जनाको निधन भइरसकेको थियो।

उनी भन्छिन्, "यहाँ सबैले एकअर्कालाई चिन्छन्, सहर शोकमा थियो।"

जेसिकाका पति इजरेल अर्को अस्पताल जाँदा लुकस र आमालाई नै सङ्क्रमण हुन सक्छ भनेर चिन्तित थिए।

हप्तौँ बिते र लुकस खालि सुत्न मात्र थाले। जुन ३ मा खाना खाएपछि लुकसले बान्ता गरेकोगर्‍यै गर्न थालेपछि जेसिकाले केही गर्नैपर्ने भयो।

परीक्षण
उनीहरू स्थानीय अस्पतालमा गए। त्यहाँ चिकित्सकले लुकसमा कोभिड छैन भन्ने देखाउनका लागि भाइरस परीक्षण गरे।

लुकसकी हजुरआमा उक्त अस्पतालमा नर्सका रूपमा काम गर्छिन्। त्यसैले उनले नै ती दम्पतीलाई लुकसलाई कोभिड भएको खबर दिइन्।

"त्यस बेला अस्पतालमा एउटा रिससिटेटर (सास फेर्न सघाउने उपकरण) थिएन," उनी भन्छिन्।

लुकसलाई दुई घण्टा टाढा सोब्रलस्थित बालबालिकाको सघन उपचार यूनिटमा सारियो।

त्यहाँ उसमा मल्टी-सिस्टम इन्फ्लमेटरी सिन्ड्रोम (एमआईएस) भएको थाहा भयो।

यो भाइरसप्रति प्रतिरक्षा प्रणालीको चरम प्रतिक्रियाको अवस्था हो। त्यसका कारण मुख्य अङ्गहरू सुन्निने अवस्था आउँछ।

बालबालिकाहरू कोरोनाभाइरस सङ्क्रमित भएमा यस्तो अवस्था छ सातासम्म रहने विज्ञहरू बताउँछन्, तर यो दुर्लभ हो।

यूनिभर्सिटी अफ साओ पाउलोकी प्रमुख सङ्क्रामक रोगविज्ञ डा. फतिमा मारिन्हो महामारीका बेला पहिलेभन्दा बढी एमआईएसका बिरामीहरू फेला परेको बताउँछिन्।

यद्यपि यो समस्या ती सबै मृत्युको कारण होइन।

लुकसलाई अस्पतालमा भर्ना गरिएपछि जेसिकालाई उही कोठामा बस्ने अनुमति थिएन।

उनले आफैँलाई भुलाउनका लागि आफ्नी नन्दलाई बोलाइन्।

उनी भन्छिन्, "हामी मशीन बजेको आवाज सुन्न सक्थ्यौँ। जबसम्म मशीन बन्द हुँदैन तबसम्म बजेको आवाज आइरहन्छ। र, हामीलाई थाहा थियो कि जब मानिस मर्छन् तब त्यो बन्द हुन्छ। केही मिनेटसम्म मशीन भएर फेरि चल्न सुरु गर्‍यो अनि हामी रुन थाल्यौँ।"

आशा
डाक्टरका अनुसार लुकसलाई हृदयाघात भएको र उनलाई बचाउन सफल भएको बताए।

बालरोग विशेषज्ञ डा. म्यानुएल मोन्तेले एक महिनासम्म लुकसको सोब्रलको आईसीयूमा उपचार गरिन्।

उनी लुकसमा गम्भीर लक्षण हुनुपर्ने कुनै कारण नभए पनि उसको अवस्था चिन्ताजनक रहेको थियो भन्छिन्।

उक्त राज्यको राजधानी फोर्टलेजाको अल्बर्ट सबिन बाल अस्पतालकका बाल रोग विशेषज्ञ लोहाना टभरेजका अनुसार जुन बच्चामा कोभिड भयो उनीहरूमा मधुमेह, मुटुसम्बन्धी रोग र मोटोपनजस्ता रोग थिए। तर लुकसमा त्यस्तो केही थिएन।

आईसीयूमा ३३ दिन राख्दा जम्मा लुकसलाई जेसिकाले तीन पटक मात्र भेट्न पाइन्।

लुकसको स्वास्थ्यमा केही सुधार आएपछि डाक्टरले जेसिका र इजरेललाई भिडिओ कल गरे।

त्यस बेला आफ्नो आवाज सुनेर छोरो रोएको उनी बताउँछिन्।

तर उनीहरूको खुसी धेरै दिन रहेन।

लुकसको मृत्यु
एक दिन चिकित्सकले लुकसको अक्सिजनको तह र मुटुको चाल धेरै तल खसेको र निधन भएको जेसिकालाई बताए।

जेसिकालाई मेमा उनले माग गरेकै बेला लुकसको कोभिड परीक्षण भएको भए उसको ज्यान जादैन थियो भन्ने लाग्छ।

उनी भन्छिन्, "यदि चिकित्सकलाई यो कोभिड होइन भन्ने लाग्छ भने त्यसका लागि परीक्षण गरिनुपर्छ। बच्चाले उसलाई कस्तो महसुस भइरहेको छ भन्ने बताउँ नसक्ने भएकाले हामी परीक्षणमा निर्भर हुनुपर्छ।"

उनलाई लुकसको उपचारमा ढिलाइ हुँदा अवस्था बिग्रियो भन्ने लाग्छ।

डा. मोन्तेका अनुसार एमआईएसलाई रोक्न नसकिए पनि त्यसको सुरुमै उपचार सुरु भएमा मात्र सफलता पाइन्छ।

अब जेसिका गम्भीर लक्षणलाई बेवास्ता गर्नेहरूलाई लुकसको कथा सुनाएर मद्दत गर्न चाहन्छिन्।

डा. फतिमा मारिन्हो बालबालिकामा कोभिडको केही खतरा छैन भन्ने गलत मान्यता रहेको बताउँछिन्।

उनको अध्ययनमा यो भाइरसबाट ठूलो सङ्ख्यामा बालबालिका र शिशु सङ्क्रमित भएको पाइएको छ।

शिशुमृत्यु
ब्रजिलको स्वास्थ्य मन्त्रालयका अनुसार फेब्रुअरी २०२० देखि मार्च १५, २०२१ सम्म कोभिडका कारण नौ वर्षसम्मका कम्तिमा ८५२ र एक वर्षसम्मका ५१८ बच्चाको निधन भइसकेको छ।

डा. मारिन्होको अनुमानमा चाहिँ यो सङ्ख्या दोबर हुनसक्छ। उनका अनुसार कोभिडको कम परीक्षण हुँदा यस्तो सङ्ख्या कम देखिएको हो।

डा. मारिन्होका अनुमानमा महामारीका बेला अनस्पेसिफाइड अक्यूट रेस्परिटरी सिन्ड्रमबाट हुने मृत्यु पछिल्लो वर्षको तुलनामा १० गुना छ।

उनका अनुसार १,३०० शिशुसहित नौ वर्षमुनिका २,०६० बच्चाको कोभिडले ज्यान लिइसको छ।

ब्रजिलमा कोरोनाभाइरसको सबैभन्दा धेरै सङ्क्रमण देखिनुले पनि बालबालिकामा समेत सङ्क्रमण बढेको हुन सक्ने विज्ञहरू बताउँछन्।

ब्रजिल कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्याका आधारमा अहिले विश्वमा दोस्रो स्थानमा छ।

त्यसले गर्दा त्यहाँ स्वास्थ्य व्यवस्थामा निकै समस्याहरू देखिएका छन्।

अक्सिजनको अभाव देखिएको छ भने अस्पतालहरूका आईसीयू शय्याहरू खाली छैनन्।

ब्रजिलका राष्ट्रपति जइर बोल्सोनारोले लकडाउनको विरोध गरिरहेका छन् भने देशमै थप सङ्क्रामक भनिएको नयाँ प्रकारको कोरोनाभाइरस पनि देखा परेको छ।

त्यसले गर्दा पनि त्यहाँ सङ्क्रमण बढेको बताइएको छ।

त्यस्तै विशेषगरी गरिब र विपन्न परिवारका बालबालिका कोभिडको जोखिमा धेरै परेको देखिएको विज्ञहरूले बताउने गरेका छन्।

त्यस्तै भौतिक दूरी पालन नहुनु, कुपोषण आदि पनि अन्य कारण भएको डा. मारिन्हो बताउँछिन्।

कोभिड भएका बालबालिकाकासँग अस्पतालमा अभिभावकहरू बस्न पाउँदैनन्।

त्यो क्षण निकै पीडादायी हुने अल्बर्ट सबिन बाल अस्पतालककी चिकित्सक डा. सिनारा कार्नेरो बताउँछिन्।

त्यसमा केही सहजीकरण गर्नका निम्ति कार्नेरो कार्यरत अस्पतालले अभिभावकसँग भिडिओ कल गराउन थालेको छ। त्यसले धेरै सहयोग पुगेको कार्नेरो बताउँछिन्।

"परिवार र बिरामीबीच १०० भन्दा बढी कल गरिसकेँ, यस्तो कुराकानीले तनाव कम गराउँछ," उनी भन्छिन्।

ब्रजिलमा धेरै सङ्ख्यामा शिशुको कोभिडका कारण मृत्यु भए पनि वैज्ञानिकहरू यो उमेर समूहमा मृत्युको खतरा अझै निकै कम रहेको बताउँछन्।

ब्रजिलमा अहिलेसम्म झन्डै साढे तीन लाख जनाभन्दा बढी मानिसको कोभिडका कारण मृत्यु भइसकेको छ। त्यसमा ०.५८ प्रतिशत मात्र नौ वर्षमुनिका छन्।

-बीबीसीबाट