काठमाण्डौ । कोरोनाभाइरसको सन्त्रास अहिले विश्वरभर रहेको छ।

यो संक्रमण फैलिन नदिन विश्वका अधिकांश देश लकडाउनमा छन्। लकडाउनका कारण स्थलमार्ग र हवाईमार्ग ठप्पप्रायः छ। 

स्थलमार्गकै कुरा गर्ने हो भने अत्यावश्यक वस्तु आयातनिर्यातसँगै अत्यावश्यक सेवा र अलपत्रमा परेकाहरुलाई पठाउन केही खुकुलो पारिएका छन्। तर संक्रमणको त्रास मानिसमा यति धेरै रहेको कुरा भारतको एउटा घटनाले प्रस्ट पारेको छ। 

कोरोना संक्रमण फैलिन नदिन भारतको एउटा प्रदेशले अर्को प्रदेशबाट आउने मानिसलाई रोक्न नाकामै पर्खाल निर्माण गरेका छन्। सुन्दा अचम्म लाग्ला तर यो सत्य हो। 

भारतको तमिलनाडु प्रदेशले आन्ध्र प्रदेशसँग जोडिएको सीमामा पर्खाल निर्माण गरेको हो। तमिलनाडुको वेल्लोर र आन्ध्र प्रदेशको चित्तुर जिल्लाबीच रहेको उक्त सीममा ५ फिट उचाइको पर्खाल निर्माण गरिएको छ। जसका कारण अहिले त्यहाँ आवतजावत पूर्ण रुपमा रोकिन पुगेको छ।

वेल्लोर जिल्लाका एक अधिकारीले कोरोना संक्रमण रोक्नका लागि निर्माण गरिएको यो पर्खालले प्रवासी मजदुरको आवातजावतमा रोक लगाउन निकै सहयोग पुगेको बताए। लकडाउनका बाबजुद पनि मानिसको ओहोरदोहोर बढेपछि पर्खाल खडा गर्नुपरेको उनको भनाइ छ। – एजेन्सी