काठमाण्डौ । कोरोनाभाइरसको जोखिम फेरि एकपटक बढ्न थालेको छ। 

विश्वका २९ देशमा कोरोनाको नयाँ भेरिएन्टका केसहरु बढ्दै गएका छन्। यसपटक कोरोनाको क्राकेन (एक्सबीबी.१.५) र आर्कटुरस (एक्सबीबी १.१६) भेरिएन्टले कहर मच्चाइरहेको छ। यी भाइरसहरुले तीव्र गतिमा रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर पार्दै गएको विश्वभर नै देखिएको छ। यसलाई इम्युन इभेसन भनिन्छ। 

विशेषज्ञहरु यो भाइरसहरु निरन्तर बढिरहेको बताउँछन्। तिनीहरुको रुप परिवर्तन भइरहेको छ। भाइरसका रुप बदल्नुलाई उत्परिवर्तन भनिन्छ। एकभन्दा बढी उत्परिवर्तन भएको भाइरसलाई भेरिएन्ट भनिन्छ। नयाँ भेरियन्टहरु पहिलेभन्दा कम घातक वा बढी खतरनाक हुन सक्छन्। 

इम्युन इभेसन भनेको भाइरसको क्षमताको नाम हो। जसका माध्यमबाट यो शरीरको प्रतिरोधात्मक क्षमताबाट बच्छ। इम्युन इभेजनका कारण भाइरसहरुले टेस्टिङका क्रममा गलत नतिजा दिन सक्छ। एक व्यक्ति संक्रमित हुन सक्छ र परीक्षण नकारात्मक हुन सक्छ।

आर्कटुरसको ल्याब परीक्षणले पत्ता लगाएको छ कि यसको स्पाइक प्रोटिनमा अर्को उत्परिवर्तन छ। जसले यसको संक्रामक क्षमता बढाएको छ। अनुसन्धानका अनुसार अर्कटुरस पहिलेको भेरिएन्ट क्राकेनभन्दा १.१७ देखि १.२७ गुणा बढी संक्रामक छ। 

युनिभर्सिटी अफ टोकियोका वैज्ञानिकहरुले यसलाई एन्टिबडीका लागि कडा प्रतिरोधी भएको बताएका छन्। यससँगै यो विश्वभर फैलिन सक्ने उनीहरुको चेतावनी छ। विज्ञहरु भन्छन्, ‘नयाँ भाइरसले प्रतिरोधात्मक क्षमतालाई बेवास्ता गर्न सक्छ र गम्भीर संक्रमण र जटिलताहरु निम्त्याउन सक्छ।’

खोपले संक्रमणबाट जोगाउँछ तर भाइरसको उत्परिवर्तनका कारण खोप लगाइएका व्यक्तिहरु पनि संक्रमित हुन सक्छन्। विज्ञहरु भन्छन्, ‘खोप नलिएका व्यक्तिहरुभन्दा खोप लगाइएका मानिसहरु सुरक्षित छन्। खोपले त्यस्ता मानिसहरुको अस्पतालमा भर्ना हुने सम्भावना कम गर्नेछ।’
रिपोर्टहरुका अनुसार आर्कटुरस भेरिएन्टले अहिले युवाहरुलाई संक्रमित बनाइरहेको छ। ज्वरो, खोकी, कफ, घाँटी दुख्नेजस्ता समस्या संक्रमित व्यक्तिमा देखिएको छ। –एजेन्सी