काठमाण्डौ । कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय सुत्केरीको १३ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ बाह्रबिसे बजारकी २९ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित उनकाका श्रीमान, माइतीतर्फकी आमा र बहिनीको पनि नमुना संकलन भएको थियो। 

नतिजा नेगेटिभ आएपछि उनीहरु सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्ने गरी सिन्धुपाल्चोकको प्रशासन र स्वास्थ्य कार्यालयको समन्वयमा धुलिखेल अस्पताबाट पठाउन लागिएको बताइएको छ। 

श्वासप्रस्वासमा समस्या आएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा बाह्रविसे–९ निवासी ती सुत्केरीको मृत्यु भएको थियो। कोरोना संक्रमणको आशंकामा गरिएका आरडीटी र पीसीआर परीक्षणका रिपोर्ट शनिबार पोजेटिभ आएको थियो। 

बिहीबारदेखि अस्पतालको गार्ड रुममा अलग्गै राखिएका शिशुसहित परिवारका सदस्य मृतकको नतिजा पोजेटिभ आएपछि धुलिखेलस्थित क्वारेन्टाइनमा राख्न लागिएकोमा प्रशासनले आइसोलेसनमा राख्न निर्देशन दिएको थियो।