काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संक्रमण एकातिर लाखौँ मानिसको ज्यान गइसकेको छ। अर्कोतिर यसको रोकथामका लागि गरिएको लकडाउनले समस्यामा परेको जीविकोपार्जनको वैकल्पिक उपाय खोज्दा सयौँको ज्यान गइरहेको छ। 

भारतमा गत मार्च २५ बाट लकडाउन जारी छ। अर्कोतिर कोरोनाबाट बच्न र यसको रोकथामका लागि जारी गरिएको लकडाउनका कारण संकटमा परेको जीविका बचाउन अपनाइएका विभिन्न उपाय अपनाउने क्रममा ज्यान गइरहेको भारतीय अधिकारीहरुले बताएका छन्।

भारतमा देशव्यापी लकडाउनको घोषणा गरिएको २ महिना बढी भइसकेको छ। अचानकको लकडाउनमा फसेका हजारौँ प्रवासी मजुदरहरु आफ्नो घर फर्किन विभिन्न उपाय गरिरहेका छन्। बस तथा रेल सेवा बन्द भएपछि अधिकांश पैदलै, कोही साइकल, रिक्सा वा ट्रकहरुमा आफ्नो घरतिर फर्किरहेका छन्। 

यसरी पैदल यात्राकै क्रममा भएका विभिन्न घटनामा परी भारतमा २०८ प्रवासी मजदुरको ज्यान गइसकेको छ। 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मार्च २९ सम्म कोरोनाबाट भारतमा २५ जनाको ज्यान गएको थियो। जब कि लकडाउनकै कारण उत्पन्न विभिन्न समस्याबाट २८ जनाको ज्यान गयो। गत २० मेसम्म देशमा पैदल वा विभिन्न साधानको प्रयोग गरेर घर फर्किरहेका बेला विभिन्न घटनामा परी २०८ प्रवासी मजदुरको ज्यान गइसकेको छ। 

लकडाउनको अवधिभर भारतमा ४२ वटा सडक दुर्घटना, ३२ स्वास्थ्य समस्या र ५ रेल दुर्घटना भएका छन्। यी घटनामा प्रवासी मजदुरहरुको ज्यान गएको हो। 

सडक दुर्घटनापछि सबैभन्दा बढी बाटोमा हिँड्दाहिँड्दै ज्यान गुमाउने प्रवासी मजदुरको संख्या बढी देखिएको छ। लगातारको हिँडाइ उत्पन्न थकान वा शारीरिक दर्बलाताका कारण ज्यान गुमाउने हरेक उमेर समूहका छन्। 

मुम्बईबाट उत्तरप्रदेशस्थित आफ्नो घर फर्किरहेका ६५ वर्षीय रामकृपालको लकडाउनका क्रममा हिँडेरै घर पुगे पनि मृत्यु भयो। कारण थियो लगातारको हिँडाइबाट उत्पन्न थकान। उनले करिब १५ सय किलोमिटर यात्रा तय गरेर घर पुगेको थिए  तर सोही दिन उनको निधन भयो। 

त्यस्तै छत्तीसगढबाट बिजापुर हिँड्दै घर फर्किरहेकी एक १२ वर्षीया बालिकाको पनि बाटोमै निधन भयो। उनी तीन दिन लगातार हिँडेकी थिइन्। 

उता मे महिनाको सुरुआतमा महाराष्ट्रको औरंगाबादनजिकै भएको रेल दुर्घटनामा १६ मजदुरले ज्यान गुमाए। ती मजदुर लकडाउनकै कारण समस्यामा परेपछि घर फर्किने क्रममा पैदलयात्रामा थिए। लगातार हिँडेर थाकेपछि रेलवे ट्रकमा उनीहरु आराम गरिरहेका थिए। त्यही बेला आएको ट्रेनले किच्दा उनीहरुको ज्यान गयो।

लकडाउनमा जीविका चलाउन गाह्रो भएपछि घर फर्किने क्रममा भएका यी घटनाले अहिले निकै मानिसलाई भावुक बनाएको छ। एकातिर कोरोनाले र अर्कोतिर यस्ता घटनाले धेरैको परिवार उजाडिएको छ। – बीबीसीबाट भावानुवादित