काठमाण्डौ । कोरोना संक्रमणका कारण २४ घण्टाको अवधिमा नेपालमा हालसम्मकै सर्वाधिक धेरै व्यक्तिको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण गत २४ घण्टामा देशभर ३५ संक्रमितको मृत्यु भएको हो । यो भनेको एक दिनमा कोरोनाका कारण मर्ने सबैभन्दा धेरै संख्या हो । 

नेपालमा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएयता गत वर्षको कार्तिक १९ गते ३० जनाको निधन भएको थियो।

योसँगै नेपालमा कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३,२४६ पुगेको छ।

गत २४ घण्टाको अवधिमा देशभर थप ४ हजार ८३१ ज्नामा कोरोना संक्रमण पुष्टि भएको छ । 

तथ्यांकअनुसार १२ हजार ५९७ जनाको पीसीआर/आरटी परीक्षण गर्दा ४ हजार ८३१ जनामा र ९६२ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जनामा गरी कुल ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा १ हजार ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएका छन्। काठमाण्डौमा १ हजार १२७ जना, ललितपुरमा २५२ जना र भक्तपुर १८२ जनामा कोरोना पुष्टि भएको हो।

यो अवधिमा ८८८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ। 

अझै पनि ३४ हजार ११७ जना सक्रिय संक्रमित छन्।