काठमाण्डौ । चीनकै आग्रहमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबारे विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वलाई बेलैमा खबर नगरी ढिला गरी जानकारी गराएको भन्ने आरोप गलत भएको दाबी गरिएको छ।

डब्ल्यूएचओले आइतबार एक ट्विट गर्दै यस्तो दाबी गलत र निराधार भएको जनाएको हो। हालै जर्मनीको एउटा न्युज आउटलेटमा डब्ल्यूएचओले जानीजानी चीनकै आग्रहमा कोरोनाभाइरसबारे ढिला गरी विश्वलाई जानकारी गराएको दाबी गरिएको थियो। जसमा गत जनवरी २१ मा चीनका राष्ट्रपति शी जिनपिङ र डब्ल्यूएचओ प्रमुख डा ट्रेडोसबीच यस विषयमा कुराकानी भएकोसमेत खुलासा गरिएको छ। 

उक्त आउटलेटमा दाबी गर्दै भनिएको छ, ‘जर्मनीको खुफिया एजेन्सी बीएनडीले चीनले डब्ल्यूएचओका प्रमुखलाई टेलिफोनमा सम्पर्क गरी यो भाइरसबारे विश्वलाई जानकारी गराउन केही ढिला गर्न आग्रह गरेको पत्ता लगाइसकेको छ।’

बीएनडीले यस्तो आग्रह चीनका राष्ट्रपति जिनपिङले नै टेलिफोन गरी डब्ल्यूएचओ प्रमुख डा ट्रेडोसलाई गत जनवरी२१ मा आग्रह गरेको दाबी गरेको छ। 

यता डब्ल्यूएचओले भने यो समाचारको खण्डन गरेको छ। उसले उक्त मितिमा डब्ल्यूएचओ प्रमुख ट्रेडोस र चिनियाँ राष्ट्रपति जिनपिङबीच कुनै टेलिफोन वार्ता नै नभएको दाबी गरेको छ। ‘यो पूर्ण रुपमा गलत र भ्रामक खबर हो’, डब्ल्यूएचओले भनेको छ। 

यस किसिमको खबरले डब्ल्यूएचओ र विश्वको कोरोना नियन्त्रणको कोसिसबाट ध्यान भड्काउने मात्र काम गर्ने डब्ल्यूएचओले उल्लेख गरेको छ। – एजेन्सी