काठमाण्डौ। चीनको आर्थिक केन्द्र सांघाईमा कोरोनाले निकै त्रास फैलाइरहेको छ। 

सांघाईमा बिहीबार २७ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। तर, २५ हजारभन्दा बढी संक्रमितमा कोरोनाको लक्षण देखिएको छैन। राष्ट्रपति सी जिनपिङले कडाइ गर्ने भनेकै भोलिपल्टै सांघाईमा यति धेरै मामिला बाहिर आएका हुन्। 

कोरोनाबाट सांघाई अहिलेसम्मकै बढी प्रभावित भएको हो। चीनको ‘जिरो कोभिड नीति’ अन्तर्गत सांघाईमा कडा लकडाउन गरिएको छ। सांघाईको २ करोड ५० लाख जनसंख्या घरभित्रै बस्न बाध्य छन्। 

कडा लकडाउनका बाबजुद पनि त्यहाँ कोरोना संक्रमणको मामिला घटेको छैन। सांघाईमा कोरोनाका घटनामा अत्याधिक वृद्धि हुनुको मुख्य कारण ओमिक्रोन भेरिएन्टलाई मानिएको छ। 

कोरोनाबाट सांघाईको अवस्था यति नाजुक बनेको छ कि त्यहाँ संक्रमित राख्ने ठाउँ नै छैन। विद्यालय र कार्यालय भवनलाई क्वारेन्टिन सेन्टरमा परिणत गरिँदैछ। समाचार एजेन्सीका अनुसार क्वारेन्टिन सेन्टर भरिएका छन्। 

सांघाईको क्वारेन्टिन सेन्टरमा बस्ने ६० वर्षीया वृद्धाले समाचार एजेन्सीलाई भिडियो पठाएकी छन्। जसमा उनले केन्द्रमा धेरै भीडभाड भएको र मानिस–मानिसबीच एक मिटरको दूरी पनि नभएको दाबी गरेकी छन्। 

क्वारेन्टिन सेन्टरमा बालबालिकासहित २०० जना बसेको ती वृद्धाको दाबी छ। त्यहाँ नुहाउने व्यवस्था छैन। ४ वटामात्रै शौचालय निर्माण भएका छन्। बिहानको खाजामा रोटीमात्र पाइन्छ। ‘हामी भोकभोकै बस्न बाध्य छौँ’, ती वृद्धाले गुनासो गरिन्। 

चीनको शून्य कोभिड नीतिअनुसार पोजेटिभ रिपोर्ट आएपछि क्वारेन्टिन सेन्टरमा बस्नुपर्ने हुन्छ। त्यहाँ संक्रमण तीव्रगतिमा बढ्दै गएपछि विद्यालय, आवासीय भवन, कलकारखाना, कार्यालयलाई क्वारेन्टिन बनाइँदैछ। लगातार दुईपटक नेगेटिभ रिपोर्ट आएपछि मात्र क्वारेन्टिन सेन्टरबाट बाहिर निस्किन पाइन्छ। 

समाचार एजेन्सीलाई क्वारेन्टिन सेन्टरभित्रको भिडियो दिने महिलाले आफूलाई २० दिनअघि त्यहाँ ल्याएको बताइन्। यसअघि उनलाई होटेलमा आइसोलेसनमा राखिएको थियो। संक्रमणबाट निको भए पनि अहिले त्यहाँ आउने मानिसमा कफ र ज्वरोको समस्या भएकाले फेरि संक्रमण हुने खतरा रहेको ती महिला बताउँछिन्। ‘पोजिटिभ र नेगेटिभ रिपोर्ट आएका व्यक्तिलाई कसरी एकसाथ राख्न सकिन्छ ?’, उनले भिडियोमा भनेकी छन्। 

सांघाईमा मार्चदेखि अहिलेसम्म २ लाख ८० हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। संक्रमितको संख्या निरन्तर बढिरहेको छ। जसका कारण अहिले मानिसहरुलाई क्वारेन्टिनमा बस्ने ठाउँ छैन। त्यसैले अहिले आवासीय भवनलाई क्वारेन्टिनमा परिणत गरी त्यहाँ संक्रमितलाई राख्ने काम भइरहेको छ। यसले संक्रमण झनै फैलिने भन्दै त्यसको विरोध सुरु भएको छ। 

समाचार एजेन्सीकी एक महिलाले भनिन्, ‘म सहयोग गर्न चाहन्नँ भन्ने होइन तर भवनका दुई ब्लकबीचको दूरीमात्र ३० फिट हुँदा कस्तो महसुस हुन्छ, हामी सबैको रिपोर्ट नेगेटिभ छ।’

क्वारेन्टिन सेन्टरदेखि आवासीय भवनसम्म जनताले यति धेरै विरोध गरे कि प्रहरी बोलाउनुपरेको थियो। प्रहरीसँग जनताको झडप पनि भएको थियो। त्यो ठाउँ क्वारेन्टिन सेन्टर बनाउन उपयुक्त नभएकाले संक्रमित हुने जोखिम पनि रहेको ती महिला बताउँछन्।

सांघाईमा यस्तो कठोरता लिइएको छ कि मानिसहरु हैरान हुन थालेका छन्। जनताले न खानेकुरा पाइरहेका छन् न औषधि नै। मानिसहरु घरमै थुनिएका छन् र उनीहरुलाई बाहिर निस्कन दिइएको छैन। खाद्यान्न सकिएको भन्दै मानिसहरुले सामाजिक सञ्जालमा गुनासो गरिरहेका छन्।

खानेकुरासँगै औषधि पनि पाएका छैनन्। सांघाईमा बस्ने ग्रेप चेनले समाचार एजेन्सीलाई बताइन् कि उनका बुवा भर्खरै स्ट्रोकबाट निको भएका थिए र उनी उनको लागि औषधि लिन जान डराएकी थिइन्। उनले फोन गरिन् तर त्यहाँबाट पनि कुनै रेस्पोन्स पाइनन्। –एजेन्सी