काठमाण्डौ। चिनियाँ प्रधानमन्त्री ली केकियाङले चिनियाँ श्रम बजारको अवस्था नाजुक रहेको बताएका छन्।

चीनको कम्युनिष्ट पार्टीमा दोस्रो वरियताका नेता केकियाङले कोरोना नियन्त्रण गर्न जारी गरिएको लकडाउनका कारण अर्थतन्त्र प्रभावित बन्दा देशको श्रमबजारको अवस्था नाजुक भएको बताएका हुन्। श्रमबजारमा रहेको समस्या समाधान गर्न केकियाङले सबै तहका सरकारलाई रोजगार वृद्धि गर्न र स्थिरता कायम राख्न निर्देशन दिएका छन्। यसमा साना व्यवसायीलाई सहायता प्रदान गर्ने, इन्टरनेट अर्थतन्त्र(डिजिटल अर्थतन्त्र)लाई सहयोग गर्ने, मानिसहरुलाई आफ्नै व्यवसाय सञ्चालनका लागि प्रात्साहित गर्न अनुदान प्रदान गर्ने र कामविहीन कामदारहरुलाई बेरोजगार भत्ता उपलब्ध गराउने जस्ता विषयहरु समावेश छन्। 

‘मानिसहरुको जीविकोपार्जनका लागि रोजगारीलाई स्थिर बनाइराख्नु एकदमै महत्वपूर्ण रहेको छ र अर्थतन्त्रलाई सहायता प्रदान गर्न अर्थव्यवस्था उचित दायराभित्र सञ्चालन गर्न जरुरी रहेको छ’, केकियाङले भने। 

चीनमा बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा पुगेका बेला प्रधानमन्त्री केकियाङको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो। अर्थतन्त्रलाई चलायमान बनाइराख्नका लागि चीनले प्रत्येक वर्ष लाखौँ रोजगार सिर्जना गर्न आवश्यक पर्छ। यसका लागि चीन सरकारले सन् २०२२ मा साना–ठूला सहरमा १ करोड १० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। तर, गत मार्चमा केकियाङले कलेज ग्राजुयट र ग्रामीण प्रवासी कामदारहरुलाई समेत समेटर यस वर्ष करोड १३ लाख रोजगार सिर्जना गरिने बताएका थिए। 

चीनमा ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिएसँगै चीन यतिबेला बितेको दुई वर्षकै खराब महामारीको अवस्थाबाट गुज्रिरहेको छ। यतिबेला चीनका ३१ वटा सहरहरुमा पूर्ण वा आंशिक लकडाउन जारी गरिएको छ। जसका कारण २१ करोड ४० लाख मानिसहरु प्रभावित बनेका छन्। 

कोरोना महामारीको दुई वर्षभन्दा बढी समय व्यतित हुँदा बाँकी विश्व भाइरससँगै जिउने प्रयास गरिरहेका बेला चीनका राष्ट्रपति भने शून्य कोभिडको नीतिलाई थप कडाइ गर्दैछन्। यसमा अनिवार्य कोरोना परीक्षण र कडा लकडाउन समावेश छन्। 

गत बिहीबार राष्ट्रपति सीले यी नीतिहरुमाथि प्रश्न उठाउनेलाई कडा कारबाही गरिने बताएका थिए। 

कोरोना नियन्त्रण गर्न जारी गरिएका लकडाउनले चीनको अर्थतन्त्र निकै प्रभावित बनेको छ। यसले चीनको उत्पादन क्षेत्रका साथै साना व्यवसायमा तीव्र गिरावट आएको छ। प्राविधिक कम्पनीहरुमा समेत कामदारको अभाव देखिन थालेको छ। –एजेन्सी