काठमाण्डौ । विश्वका अधिकांश देशमा फेरि कोरोना कहर बढ्न थालेको छ। विभिन्न देश कोरोना नियन्त्रणका लागि आआफ्नो स्तरबाट प्रयास थालेका छन्।

यही अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको संयुक्त मन्त्रिस्तरी समितिले वक्तव्य जारी गर्दै यो महामारीबाटै छिटै छुट्कारा पाउने कम रहेको संकेत गरेको छ। संयुक्त समितिले यो महामारी अझै थुप्रै वर्षसम्म देखिने जनाएको छ। त्यसैले सबै देशहरुलाई सुरक्षित र प्रभावकारी खोपको आपूर्ति सुनिश्चितता गर्न दुवै निकायले आग्रह गरेका छन्।

समितिले विशेषगरी विकासशील राष्ट्रलाई हालको स्थितिलाई गम्भीरताका साथ लिन र खोपको पहुँच तथा विस्तारमा ध्यान दिने चेतावनी दिएको छ। ‘अहिले देखिएको यो भाइरसको नयाँ रुप झनै खतरनाक छ’, वक्तव्यमा भनिएको छ, ‘त्यसैले विकासशील राष्ट्रले खोप अभियानको तयारी पूरा गर्दै सही रणनीतिका माध्यमबाट कमजोर आवादीसम्म पुर्याउन आवश्यक छ।’

समितिले विकासशील राष्ट्रहरुलाई खोप उत्पादन क्षमता र महामारीसँग जुध्न आवश्यक स्वास्थ्य सामग्री आपूर्तिको समर्थनका प्रयासहरु दुईगुणाले बढाउनुपर्ने सुझाव दिएको छ। 

दुवै नियकाले कोरोना महामारी बढ्न थालेसँगै स्वास्थ्य, आर्थिक र सामाजिक संकट उत्पन्न भएको ठहर गरेको छ। यसले करोडौँ मानिसको जीवन र जीविकोपार्जनमा खतरामा परेको उनीहरुको भनाइ छ। 

संयुक्त समितिले कोरोनाकै कारण आर्थिक स्थिति डामाडोल हुँदा गरिबी र असमानता झनै बढेको तथा पहिले हासिल विकास लाभमा संकट गहिरिएको जनाएको छ। 

विश्व अर्थव्यवस्थामा सुस्त गतिमा सुधार हुँदै गए पनि पहिलेकै अवस्थामा पुग्ने सम्भावना अनिश्चित भएको संयुक्त समितिले जनाएको छ।  

जोन हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म कोरोनाबाट विश्वभर १३ करोड ५४ लाख ४५ हजार ९९ मानिस संक्रमित भइसकेका छन्। तीमध्ये २९ लाख १४ हजार ५९० जनाको ज्यान गइसकेको छ। – एजेन्सी