काठमाण्डौ । चीनमा फेरि कोरोनाको सन्त्रास फैलिएको छ। 

लगातार ५ दिनदेखि चीनमा कोरोना संक्रमणको मामिला बढेको छ। देशका विभिन्न भागमा कोरोना संक्रमणको मामिला बढ्न थालेपछि हवाई उडान स्थगित गरिएको छ भने स्कुलहरु पनि बन्द गरिएका छन्। 

चीनको उत्तरी प्रान्तमा लकडाउन लगाइएको छ। मानिसहरुलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन भनिएको छ। 

ग्लोबल टाइम्सका अनुसार इनर मंगोलियामा नयाँ संक्रमणको मामिला बढ्न थालेपछि त्यहाँबाट कोइलाको आयात प्रभावित भएको छ। 

चीनको नेसनल हेल्थ कमिसनका अनुसार इनर मंगोलियामा लगातार संक्रमणको मामिला बढ्दै गइरहेको छ। हुनान र शान्ग्जी प्रान्तबाट पनि नयाँ संक्रमणको मामिला देखिन थालेको खबर आइरहेका छन्। 

विदेशबाट आएका २५ जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएको कमिसनले जनाएको छ। हाल कोरोनाबाट कसैले ज्यान गुमाएको खबर नआए पनि ठूलो परिमाणमा परीक्षण सुरु गरिएको चिनियाँ स्वास्थ्य अधिकारीहरु बताउँछन्।

ताजा खबरअनुसार एक वृद्ध दम्पतीसँग कोरोना संक्रमणको मामिला जोडिएको छ। यो जोडीले अन्य थुप्रै पर्यटकका साथ संघाई आउनुअघि शियान, गान्सु प्रान्त र इनर मंगोलियामा यात्रा गरेको थियो। उनीहरुको यात्रामा जोडिएका दर्जनौँ व्यक्तिमा संक्रमणको मामिला देखिएको छ। उनीहरु कम से कम ५ प्रान्त र क्षेत्रहरुका मानिस सम्पर्कमा आए, जसमा राजधानी बेइजिङ पनि समावेश छ। 

संक्रमणको मामिला बढ्न थालेपछि चीनमा स्वास्थ्य परीक्षणको दायरा बढाइएको छ। प्रभावित इलाकाहरुका पर्यटकीय गन्तव्य, स्कुल र मनोरञ्जन स्थलहरुमा परीक्षण तीव्र पारिएको छ। केही ठाउँमा लकडाउन लगाउने तयारी पनि गरिएको छ।

त्यसो त हिजोबाट लन्जओ सहरमा लकडाउन जारी गरिएको छ। यो सहरमा करिब ४० लाख मानिसको बसोबास छ। 

प्रभावित इलाकाहरुमा सयौँ उडान स्थगित गरिएको छ। लन्जओ सहरको मुख्य विमानस्थलमा करिब ६० प्रतिशत उडान स्थगित गरिएको छ। इनर मंगोलियामा सूचना नै जारी गरी आवातजावतमा रोक लगाइएको छ। – एजेन्सी