– अर्जुन तिमिल्सिना

काठमाण्डौ । अहिले विश्वभर कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनसहित अन्य भेरिएन्टको संक्रमण तीव्रगतिमा फैलिरहेको छ। संक्रमण नियन्त्रण गर्न विभिन्न देशले परिस्थितिअनुसार स्वास्थ्य मापदण्ड र प्रतिबन्धहरु लागू गरेका छन्। 

नेपालमा केही समययता तीव्रगतिमा कोरोना संक्रमण फैलिरहेको छ। दैनिक संक्रमणदर उच्च देखिन थालेपछि सरकार र स्थानीय प्रशासनले संक्रमण रोकथाम तथा नियन्त्रणका नयाँ आदेश जारी गरिसकेका छन्। 

कोभिड संक्रमण बढ्न थालेसँगै सेयर बजारमा पुनः लगानीकर्ताहरु आकर्षित हुन थालेका छन्। संक्रमण बढ्दा अन्य क्षेत्र सुस्ताउने हुँदा सेयर बजारमा अन्य पेसा–व्यवसायमा रहेकाहरु प्रवेश गर्ने गर्छन्।

सेयर कारोबारमा मुख्य भूमिका निर्वाह गर्ने ब्रोकर हाउसहरुमा कोभिड महामारी बढ्न थालेसँगै लगानीकर्ताको उपस्थिति पतलो हुँदै गएको छ। यद्यपि सरकारले तोकेको स्वास्थ्य मापदण्डअनुसार सेवा प्रदान गरिरहेको ब्रोकरहरु बताउँछन्। 

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली पनि सरकारले जारी गरेको नयाँ निर्देशनको पालना गर्दै सबै ब्रोकर हाउसमा नियमित सेवा प्रवाह भइरहेको बताउँछन्। ‘अहिले सबै कारोबार टीएमएसमार्फत नै हुने भएकोले धेरै लगानीकर्ताहरु घरबाटै कारोबार गरिरहेका छन्’, उनले भने, ‘संक्रमण बढ्न थालेपछि ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति निकै पातालो छ । यसले लगानीकर्ताहरु स्वयं पनि सचेत छन् भन्ने बुझिन्छ।’ 

हिजोआज डिम्याट खाता खोल्न तथा खाता अद्यावधि गर्नबाहेक लगानीकर्ता ब्रोकर हाउस नआउने गरेको मैनाली बताउँछन्। ‘हामीले हाल स्वास्थ्य मापदण्ड पूर्ण रुपमा परिपालन गरी सेवा प्रवाह गरिरहेका छौँ’, उनले भने, ‘भविष्यमा सरकारबाट जस्तो निर्देशन जारी हुन्छ, त्यहीअनुसार नै गर्नेछौँ।’ 

मैनालीका अनुसार अहिले नै ब्रोकर हाउसहरुका कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छैन। ‘लक्षण देखिएका र बिरामी परेकालाई भने बिदा दिएर होम आइसोलेसनमा बस्न भनिएको छ’, उनले भने।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष एवं कालिका सेक्युरिटिजका सञ्चालक नरेन्द्र सिजापती पनि संक्रमण बढेसँगै ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थिति पातलिँदै गएको बताउँछन्। ‘हामीले सेवाग्राही र कर्मचारीलाई अनिवार्य रुपमा माक्स लगाउनुपर्ने र स्यानिटाइजरको प्रयोग गर्नुपर्ने व्यवस्था गरेका छौँ’, उनले भने, ‘सरकारको पछिल्लो निर्देशन नेपाल धितोपत्र बोर्डको यसअघिको गाइडलाइनअनुसार नै हामीले स्वास्थ्य मापदण्ड अपनाइरहेका छौँ।’ 

एसियन सेक्युरिटिज बुटवल शाखाका सञ्चालक दीननाथ शर्मा मोफसल बाहिर पनि सेयर लगानीकर्ता तथा ब्रोकरहरु स्वास्थ्य मापदण्ड पूरा गर्दै दैनिक कामकारबाही भइरहेको बताउँछन्। ‘स्वास्थ्य मापदण्ड पालनामा हामी सचेत छौँ’, उनले भने, ‘अनलाइन प्रविधि भएकोले धेरै लगानीकर्ता घरबाटै काम गरेका छन्।’