काठमाण्डौ । कोरोनाको दोश्रो लहरले कतिपय सुन्दर जीवनहरु तहसनहस बनाइदिएको छ । जोडिइसकेका जीवन भत्किएका छन् भने जोडिँदै गरेका जीवन बर्बाद पार्न समेत भाइरस उद्यत देखिएको छ । हाम्रै असावधानीका कारण हाम्रै देश र छिमेकमा हृदयविदारक घटनाहरु हुन थालेका छन् । 

नेपालको भक्तपुरमा केही दिनअिघ विवाह भएको केही दिनमै दुलहीको कोरोना संक्रमणका कारण ज्यान गएको घटना भयो । उता, हाम्रो नजिकको छिमेकी भारतको नेपालसँग जोडिएको बिहार राज्यमा त्योभन्दा हृदयविदारक घटना भएको छ, जहाँ विवाहको ५ घण्टामा दुलहीको कोरोना संक्रमणका कारण ज्यान गएको छ । 

भारतीय मिडियाहरुका अनुसार बिहारको मुंगेरमा यस्तै घटना भयो, जसका कारण खुशीको माहौल केही घण्टामै शोकमा परिणत भयो । किनभने विवाहको मात्र ५ घण्टापछि दुलहीको मृत्यु भयो । सात फेरा र सिन्दूरपोतेको कार्यक्रम सकिएलगत्तै दुलहीको स्वास्थ्य गडबड भयो । त्यसको केही घण्टामै एक निजी अस्पतालमा ती दुलहीको मृत्यु भयो । ५ घण्टाअघि मात्र सिन्दूर हालेकी पत्नीलाई पतिले दागबत्ती दिएर विदाई गर्नुपर्यो । 

तारापुर अनुमण्डल क्षेत्रको आफजल नगर पञ्चायतमा यस्तो घटना भएको आजतकले जनाएको छ । गत मे ८ मा सो पञ्चायतको खुदिया गाउँमा रञ्जन यादवका घरवेटी निशाकुमारीको विवाहका कारण परिवारका मानिसहरु खुशीले गदगद थिए । 

हवेली खडकपुर प्रखण्ड अन्तर्गतको महकोला गाउँबाट सुरेश यादवका पुत्र रवीश जन्ती लिएर बेहुलीको घर पुगे । धूमधामका साथ विवाह भयो । मृतककी आमा रीतादेवीलाई उद्धृत गर्दै समाचारमा जनाएअनुसार सात फेरो लिइसकेपछि बेहुलीको स्वास्थ्यमा एकाएक समस्या देखियो । त्यसपछि उनलाई हतार हतार भागलपुरको एक निजी अस्पताल लगियो, जहाँ उनको केही समयपछि मृत्यु भयो । 

माइतीबाट विवाहपछि औपचारिक विदाई पनि भएको थिएन दुलहीको । उनी औपचारिक रुपमा विवाह गरेको घरमा प्रवेश गर्न समेत पाएकी थिइनन् । तर, ती दुलहीलाई कोरोनाले आफ्नो शिकार बनाएको समाचारमा उल्लेख छ । 

सात फेरो लिइसकेपछि आफ्नी पत्नी कायम निशाको मृत्यु भएपछि उनका पति कायम रवीश कुमारले सुल्तानगञ्जस्थित श्यमसानघाटमा दागबत्ती दिएका थिए । निशालाई यसअघि कुनै स्वास्थ्य समस्या थिएन । विवाह सकिँदै गर्दा अचानक बेहोस भएकी थिइन् । अस्पताल पुगेपछि मात्र उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।