काठमाण्डौ । कोरोना संक्रमणको डरले अकुपेन्सी दर अत्यन्त न्यून बनेपछि काठमाण्डौका तारे होटलहरु बन्द हुने क्रम बढेर गएको छ । 

केही दिनअघिदेखि नै हायातले एक सूचना प्रकाशित गर्दै होटल बन्दको घोषणा गरेको थियो । 

योसँगै काठमाण्डौका अन्य पाँच तारे होटलले समेत सबै सेवा बन्दको तयारी गरिरहेकै बेला शनिवार दरबारमार्गस्थित याक एण्ड यति होटलले समेत एक सूचना टाँसेर होटल अनिश्चितकालका लागि बन्दको घोषणा गरेको हो । 

सो होटलले कर्मचारी तथा कामदारलाई २५ प्रतिशत सुविधा दिने गरी विदा दिएको छ । 

शुक्रबार १३ वटा कोठामा ३५ जना गेष्ट रहेको होटेलले शनिबार बिहान ब्रेकफास्ट खुवाएर उनीहरुको बिदाई गर्दै होटल बन्द गरेको हो । 

काठमाण्डौका अन्य तारे होटलको अकुपेन्सी शून्य नजिक पुगेसँगै उनीहरुले समेत सेवा बन्द गर्ने तयारी गरेका छन् । कतिपयले कर्मचारीहरुलाई विदामा समेत पठाइसकेका छन् । 

सोल्टी होटलेले साताअघि नै कर्मचारीलाई विदामा बस्न भनिसकेको छ । शुक्रबारसम्म सोल्टी होटेलमा ३९ प्रतिशत अकुपेन्सी थियो । होटल स्रोतका अुनसार सोल्टीका करिब ९० प्रतिशत कर्मचारी विदा भइसकेका छन् । 

यस्तै, काठमाण्डौकै म्यारियट होटल, र्याडिसन, होटल डेल अन्नपूर्ण, एभरेष्ट, होटल हिमालयन, एलफ्ट लगायतका होटल समेत बन्द हुने अवस्थामा पुगेका छन् ।