काठमाण्डौ । विश्वका धनी देशहरुले कोरोनाभाइरस विरुद्धको खोपको ठूलो हिस्सा प्राप्त गरेका छन् । त्यहीँ विश्वका गरिब देशहरुले प्राप्त गरेको कोरोनाविरुद्धको खोपको हिस्सा भने नगण्य नै रहेको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार विश्वका गरिब देशहरुले विश्वमा कुल आपूर्तिको १ प्रतिशतभन्दा कम डोज भ्याक्सिन प्राप्त गरेका छन्। ‘विश्वभर करिब ७०० मिलियन डोज वितरण गरिएकोमा यसको ८७ प्रतिशतभन्दा बढी हिस्सा उच्च तथा मध्यम आय भएका देशहरुले प्राप्त गरेका छन्। यस क्रममा निम्न आय भएका देशहरुले भने ०.२ प्रतिशत डोज भ्याक्सिन प्राप्त गरेका छन्’, विश्व स्वास्थ्य संगठनका निर्देशक टेड्रोस आदहानोम गेब्रीयससले भने। 

टेड्रोसका अनुसार उच्च आय भएका देशहरुमा औसतमा ४ जनामा १ जनाले कोरोनाविरुद्धको भ्याक्सिन प्राप्त गरेका छन्। कम आय भएका देशहरुमा भने प्रत्येक ५०० जनामा १ जनाले मात्रै कोरोनाविरुद्धको भ्याक्सिन प्राप्त गरेका छन्। ‘भ्याक्सिनको वितरणमा देखिएको यो अचम्मित पार्ने असन्तुलन हो’, उनले भने। 

यस्तै टेड्रोसले विश्वका गरिब देशहरुलाई भ्याक्सिन उपलब्ध गराउने उद्देश्य बोकेको साझेदार कोभ्याक्सको डोजको अभाव देखिएको र भ्याक्सिनको उत्पादन तथा आपूर्तिको तीव्रताका लागि रणनीतिहरु बनाइन लागिएको बताए। – एजेन्सी