काठमाण्डौ। हिजोआज हामी दिनभर कोरोनाभाइरसकै चर्चा गरिरहेका हुन्छौँ। अहिले हरेक मानिसमा यो भाइरसको सन्त्रास फैलएको छ।

कोरोनाको त्राससँगै अहिले पूरै विश्वमा सन् १९३० अर्थात ९० वर्षपहिले महामन्दीको डर पनि उत्तिकै बढिरहेको छ। जसरी दिनप्रतिदिने कोरोनाभाइरसको त्रास बढिरहेको छ त्यसरी नै अहिले विश्वमा देखिन थालेको मन्दीलाई उक्त महामन्दीसँग तुलना पनि गर्न थालिएको छ। 

आईएमएफले यो भाइरसले सन् १९३० महामन्दीपछि सबैभन्दा ठूलो मन्दीतिर विश्वलाई धकेलिरहेको जनाएको छ। अहिलेको अवस्था त्यतिखेरको महामन्दीसँग तुलना गर्न थालिएको छ। 

कोरोनाले डुबाउला विश्व व्यापार !

विश्व व्यापार संगठन (डब्लूटीओ) का प्रमुख रोबार्टो ऐजेवेदोका अनुसार अहिले विश्वमा सन् २००८÷९ भन्दा ठूलो आर्थिक मन्दी देखिने अवस्था छ। उनको अनुमानमा विश्व व्यापारमा एक तिहाइसम्मको कमी आउन सक्छ। ‘यद्यपि सन् २०२१ मा करिब २० प्रतिशत रिकभरी हुन सक्छ तर यो सबै कोरोना संक्रमण कहिलेसम्म रहन्छ भन्ने कुरामा निर्भर हुन्छ’, उनी भन्छन्। 

विश्वमा आउनेछ महामन्दीपछि सबैभन्दा खराब अवस्था

यता आईएमफ प्रमुख क्रिस्टलिना जर्जिवाले अहिले परिस्थिति हेर्दा विश्वमा सन् १९३० को महामन्दीपछिको सबैभन्दा खराब स्थिति आउन सक्ने बताइन्। उनले यो अवस्थालाई असाधारण अनिश्चितता पनि बताइन्। ‘यो निश्चित छ कि सन् २०२० मा विश्व आर्थिक वृद्धिदरमा निकै गिरावट आउनेछ’, उनले भनिन्, ‘यसअघि हामीले १६० सदस्य राष्ट्रको प्रतिव्यक्ति आय बढ्ने अनुमान गरेका थियौँ तर कोरोना संकटको यो अवस्थामा भने १७० भन्दा बढी देशमा प्रतिव्यक्ति आय घट्ने सम्भावना बढेको छ।’ 

कस्तो थियो सन् १९३० को महामन्दी ?

यो आर्थिक महामन्दी अमेरिकाको बाल स्ट्रिटमा न्युयोर्क स्टक एक्सचेन्जमा आएको गिरावट भएको थियो। 

सन् १९२३ बाट अमेरिकी सेयर बजार निकै उछाल आइरहेको थियो। तर सन् १९२९ देखि सेयरबजारमा अस्थिरता आउन सुरु भयो तर सोही साल अक्टोबर २४ मा भारी गिरावट आयो। यो दिनलाई सेयरबजारको कालो दिन पनि भनिन्छ। यसलाई ग्रेट डिप्रेसन अर्थात महामन्दीको सुरुआत भएको दिन पनि भनिन्छ। यो दिन लगानीकर्ताहरुको ५ अर्ब डलर स्वाह भएको थियो। 

अक्टोबर २९ सम्म अमेरिकी सेयरबजारमा लगातार गिरावट आयो र १४ अर्ब डलर नोक्सानी भयो। यो सिलसिल सन् १९३२ सम्म चल्यो। अमेरिकी सेयरबजामा ८९ प्रतिशतसम्म गिरावट आयो। भारतीय सेयरबजारमा यो अवधिमा सेन्सेक्स २३ प्रतिशतसम्म गिरेको थियो। 

यो महामन्दीबाट माथि उठ्न विश्वलाई करिब करिब १० वर्ष लागेको थियो। 

अहिलेको परिस्थितिले पनि विश्व अर्थतन्त्रलाई यही महामन्दीतिर डोर्याइरहेको अर्थविद्हरु बताउँछन्। अहिले मन्दीको अवस्था कस्तो हुने र यसबाट उकासिन कति सयम लाग्ने भन्ने विषयमा अनुसन्धान भइरहे पनि यकिन भइसकेको छैन। किनकि कोरोना संकट टरेपछि मात्र यसको अनुमान लगाउन सकिने उनीहरु बताउँछन्।

महामन्दी र अहिलेको अवस्था

महामन्दी कुनै एउटा कारणले निम्तेको भने थिएन। एउटा कारण हुँदै अर्को आउने र त्यसपछि अर्को कारण आउने गर्दा विश्व अर्थतन्त्र निकै गिरावट आएको थियो। यद्यपि अमेरिकी सेयरबजारमा आएको गिरावटलाई सन् १९३० को महामन्दीको मुख्य कारण मानिन्छ। यो अवधिमा सेयरबजारमा लगानीकर्ताको करिब ४० अर्ब डलर स्वाहा भएको थियो भने ९ हजार बैंकहरु नाजुक अवस्थामा पुगेका थिए। अन्य बैंकले आफ्नो कारोबार बन्द गर्नुपरेको थियो। 

त्यतिखेर बहुराष्ट्रिय कम्पनी, ठूला कम्पनी र उद्योगधन्दा बन्द हुँदा २३ प्रतिशत अमेरिकी बेरोजगार बनेका थिए। जब अन्य देशमा यो संख्या ३३ प्रतिशत थियो।

अहिले कोरोना संकटमा पनि यस्तो अवस्था देखिएको छ। लकडाउनका कारण कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ। उद्योगधन्दा बन्द हुँदा करोडौँको रोजगारी संकटमा परेको छ। कोरोनाकै कारण २.५ करोड मानिस बेरोजगार हुन सक्ने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को अनुमान छ। 

त्यस्तै गैसंगठित संस्थामा आबद्ध करिब ४० करोड मानिस गरिबीको रेखामुनि जान सक्ने अनुमान पनि गरिएको छ। गरिब तथा विकासशील देशहरुलाई धनी देशहरुले सहयोगका लागि तत्काल उचित कदम नचाले यो संख्या ५० करोड पुग्न सक्ने चेतावनी पनि दिइएको छ। – एजेन्सी