काठमाण्डौ । अब नेपालका बिमा कम्पनीहरुले पनि कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न कोरोना भाइरससम्बन्धी बिमालेख जारी गर्नुपर्ने भएको छ । 

बिमा समितिले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै कोरोना भाइरससँग सम्बन्धित बिमालेख समेत जारी गर्न कम्पनीहरुलाई निर्देशन दिइसकिएको बताएको हो । 

सबै निर्जीवन बिमा कम्पनीहरुको बिमा पुलमार्फत यस्ता बिमालेख जारी गर्न सकिने समितिको परिपत्रमा उल्लेख छ । 

कोरोना भाइरससँग सम्बन्धित बिमा लेखमा हुनुपर्ने विशेषता समेत समितिले तोकिदिएको छ । जसअनुसार हाल विद्यमान रहेको घातक रोग सरहको बिमालेख अनुसार हुने गरी गर्नुपर्ने र यस्तो बिमा अन्तर्गत क र ख श्रेणी कायम गरी बिमांक कायम गर्नुपर्नेछ । 

समितिका अनुसार 'क' वर्गमा १ लाखको बिमांक तोकिएको छ । जसअनुसार यस्तो श्रेणी अन्तर्गत व्यक्तिगत रुपमा बिमा गर्दा प्रति व्यक्ति रु. १ हजार बिमाशुलक कायम गर्नुपर्नेछ । तर, परिवारका सम्पूर्ण सदस्यहरुको समेत गर्ने गरी बिमा समावेश भएमा प्रतिव्यक्ति रु. ६ सय बिमाशुल्क तिरे पुग्नेछ । 

'ख' श्रेणी अन्तरगत रु. ५० हजारसम्मको बिमा गर्न सकिनेछ । यो अन्तर्गत व्यक्तिगत रुपमा बिमा गर्दा बिमाशूल्कको रुपमा रु. ५०० र सबै परिवारका सदस्यको गर्दा प्रतिव्यक्ति रु. ३०० बिमाशुल्क कायम गर्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ । 

यस्तो बिमामा दाबीका लागि बिमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि कायम हुने, दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर टेस्ट पोजिटिभ हुनासाथ योग्य हुनेछ । 

कोरोना भाइरस बिमाको व्यवस्थापन लघुबिमा अन्तर्गत मौजुदा लघु बिमा पुलमार्फत गर्नुपर्ने, यस्ता बिमालेख जारी गर्दा हाल कृषि बिमा तथा घुम्ती बिमाका लागि तोकिएको जिल्लाहरुमा कार्यरत बिमा कम्पनीहरुले अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने समेत तोकिएको छ।