काठमाण्डौ । कोरोना पीडितहरुका लागि बिमा समितिको निर्देशनमा निर्जीवन बिमा कम्पनीहरुले बिक्री गरिरहेका कोरोना बिमालेखमा सर्वसाधारणको सहभागिता उत्साहजनक रहेको छ । 

बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेलका अनुसार बिमालेख सम्बन्धी व्यवस्था भएको एकहप्तामै २७ हजार पोलिसी बिक्री भइसकेको छ । यी पोलिसी बिक्रीबापत बिमा कम्पनीहरुले १ करोड ३५ लाख बिमाशुल्क संकलन गर्न सफल भएका छन् । 

स्थानीय निकायका निम्न आय भएका वर्गलाई फोकस गरी एक वर्षे अवधिका लागि कोरोना बीमालेख ल्याइएको पौडेलले जानकारी दिए ।

बीमाको स्किमभन्दा पनि सामाजिक सुरक्षा र राहात प्याकेजको रुपमा यो प्रडक्ट ल्याइएको उल्लेख गर्दै कार्यकारी निर्देशक पौडेलले कोरोना बीमामा निकै राम्रो प्रतिक्रिया आइरहेको जिकिर गरे । 

‘यो प्रडक्ट अन्तर्गत पोलिसी खरीद गरेकाहरुलाई खरीद गरेको १५ दिनपछि स्वास्थ्य जाँच गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएमा त्यसकै आधारमा भुक्तानीका लागि दाबी गर्न सकिन्छ ।’ पौडेलले भने–‘बिरामीका लागि आवश्यक सन्तुुलित आहार, आवतजावत खर्च अनि राहतका रुपमा प्रयोग गर्ने ध्येयले यो अल्पकालीन( १ वर्षे) बीमा पोलिसी ल्याइएको हो ।’

कोरोनाको प्रकोप समाप्त भएपछिको अवस्थामा कोरोना बीमालेख भनेर संकलन गरिएका प्रिमियम रकम भने बीमा कम्पनीहरुले नाफाका रुपमा लाभांश वितरण गर्न नपाइने पौडेलको भनाइ छ । ‘यो प्रिमियम रकम के गर्ने भन्ने विषयमा छलफल र सल्लाह हुुुँदैछ।’ उनले भने–‘सम्भवतः सामाजिक हित अस्पताल निर्माणलगायतमा खर्च हुुनेछ।’

कोरोना बीमालेख ५० हजार र १ लाख रुपैयाँ रहेको छ । दुुुवैको समयावधि भने १ वर्ष कायम हुुने बीमा समितिले जनाएको छ ।

कोरोना बीमालेख व्यक्तिगत तथा पारिवारिक रुपमा लिन सकिन्छ । ५० हजारको बीमालेख व्यक्तिगततर्फ ५०० रुपैयाँ र परिवारतर्फ भने प्रति व्यक्ति ३०० रुपैयाँ प्रिमियम मात्रै तिरे पुुग्छ । 

यसैगरी १ लाख रुपैयाँको पोलिसीका लागि प्रिमियम व्यक्तिगत १ हजार रुपैयाँ र परिवारकै गर्दा प्रति व्यक्ति रु.६०० तिर्नुुपर्छ ।