काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमण अमेरिकामाथि अहिलेसम्म भएका हरेक खालका आक्रमणभन्दा घातक भएको बताएका छन्।​ उनले महामारीले अहिलेको स्वरूप लिनुमा चीनमाथि आरोप दोहोर्‍याए।

ह्वाइट हाउसमा संवाददातालाई गर्दै आएको नियमित सम्बोधनमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको प्रभावलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका हुन्। उनले दोस्रो विश्वयुद्धका बेला जापानी बमवर्षक विमानद्वारा पर्ल हार्बरमा गरिएको बमबारी र दुई दशकअघि न्यूयोर्कस्थित ट्वीन टावरमाथि भएको आतङ्कवादी हमलाभन्दा पनि कोरोनाभाइरसको महामारी घातक देखिएको बताए।

ट्रम्प प्रशासनले महामारी रोक्न समयमै आवश्यक कदम नउठाएको भन्दै चीनको आलोचना गरिरहेको छ। ट्रम्पले भने, "चीनमा रहेको भाइरसको मुहानै यो रोकिनुपर्थ्यो तर त्यसो भएन।"

ट्रम्पका भनाइमा यदि चीनले तत्काल कदम चालेको भए यसले विश्वव्यापी महामारीको रूप लिने थिएन।

विदेशमन्त्री माइक पोम्पेओले पनि चीनविरुद्धको आफ्नो कठोर आलोचना दोहोर्‍याएका छन्। चीनको अपारदर्शी व्यवहारकै कारण भइरसले महामारी बन्न पुगेको उनको भनाइ छ।

पोम्पेओले चीनको प्रयोगशालाबाट भाइरस फैलिएको भन्ने यथेष्ट प्रमाणहरू रहेको पनि दोहोर्‍याए। तर अमेरिकाले अहिलेसम्म कुनै प्रमाण भने प्रस्तुत गरेको छैन।

चीनले उक्त आरोप अस्वीका गर्दै आएको छ। उसले अमेरकामाथि भाइरसविरूद्ध प्रभावकारी कदम उठाउन नसकेको आरोप लगाउँदै मानिसहरूको ध्यान अन्तै मोड्न खोजिरहेको भनि प्रतिवाद गरेको छ।

अमेरिकामा अहिलेसम्म ७३ हजार जनाको मृत्यु भएको छ भने १२ लाख जना सङ्क्रमित भएका छन्। अमेरिका विश्वमै सबैभन्दा प्रभावित देश हो। – बीबीसी