काठमाण्डौ। वैज्ञानिकहरुको टोलीले विश्व महामारी कोरोनाभाइरसबाट हुने मृत्युदर घटाउन नयाँ उपाय सुझाएका छन्। 

वैज्ञानिकहरुको टोलीले ५० दिनको कडा लकडाउनको अवधिमा अन्तिम ३० दिन प्रतिबन्धहरुमा खुकुलो पार्दा मृत्युदर घटाउन सघाउ पुग्ने दाबी गरेका छन्। 

विभिन्न ९ देशका वैज्ञानिकहरु सम्मिलित टोलीले विभिन्न खाले लकडाउन योजनाले कसरी कोरोनाभाइरसको फैलावट रोक्न सक्छ भन्ने आफ्नो राय बुधबार प्रस्तुत गरेको हो। 

विश्वका विभिन्न देशका सरकारले सुरुमा यो संक्रमण फैलिन नदिने हिसाबले लकडाउन गरेका थिए । तर अहिले नीति निर्माताहरुले यो भाइरसका कारण अर्थतन्त्रमा ठूलो आघात पुर्याएपछि लकडाउन केही खुकुलो पार्ने रणनीति तयार गरेका छन्। 

वैज्ञानिकहरुले टोलीले तयार पारेको नयाँ प्रतिवेदनमा एउटा वैकल्पिक तर, निकै प्रभावकारी रणनीति अपनाएर अनिश्चितकालीन वा मामुली लकडाउनलाई खुकुलो पार्न सकिने उल्लेख गरिएको छ। जसमा प्रभावकारी टेस्टिङ, कन्ट्याक्ट ट्रेसिङ र आइसोलेसनजस्ता रणनीतिका साथै समाजलाई सुरक्षा प्रदान गर्ने योजना अपनाउन सकिने जनाइएको छ। 

यो टोलीले अस्ट्रेलिया, मेक्सिको, बेल्जियम, साउथ कोरिया, नाइजेरियालगायत १६ देशका हालको अवस्थालाई ध्यानमा राखेर लकडाउनका केही रुपरेखा तयार पारेको छ। 

पहिलो परिदृश्य 
सामाजिक दूरी र भाइरस रोकथामका प्रयासहरु लागू नगरिएको अवस्थामा। यो अवस्थामा हरेक देशमा आईसीयूमा उपचार आवश्यक बिरामीको संख्या बढ्नुका साथै उपलब्धता क्षमता पनि बढ्न सक्ने देखियो। अन्ततः यो रणनीतिले विश्वभर ७.८ मिलियन मानिसको मृत्युको परिणाम देखिन सकिने प्रतिवेदनमा उल्लेख छ। 

यसले त्यस्ता देशहरुमा महामारी अवधिमा २०० दिनसम्म रहने पनि जनाइएको छ। 
 

दोस्रो परिदृश्य 
यस परिदृश्यअन्तर्गत ५० दिने खुकुला रणनीतिहरु अवलम्बन गरिन्छन्। जसमा ३० दिनको अवधिमा केही प्रतिबन्धहरु खुकुलो पारिन्छ। 

विश्लेषकहरुका अनुसार यो खुकुुलो रणनीतिले विस्तारै नयाँ संक्रमणको घटना घटाउनुका साथै सामाजिक दूरी, स्वस्थकर नियम, व्यक्तिगत आइसोलेन, स्कुल बन्द, धेरै भीडभाड हुने सार्वजनिक समारोहहरुमा खुकुलो पारिन्छ। यसले पूर्ण लकडाउन अवस्था सिर्जना गर्दैन। 

प्रतिवेदनअनुसार यो परिदृश्यले सबै देशमा भाइरसको उत्पादन (आर नम्बर) घटाएर ०.८ पुर्याउँछ। यो परिदृश्यपछि तीन महिनासम्मका लागि प्रभावकारी हुन सक्ने प्रमाणित गरेको छ। 

यो सहज अवधिमा अस्पतालमा आईसीयूको उपलब्धता बढ्ने बताइएको छ। 

तेस्रो परिदृश्य
वैज्ञानिकहरुले तेस्रो परिदृश्य पनि तयार पारेका छन्। जसमा ५० दिनको कडा प्रतिबन्धबीच ३० दिनको सहजता अवधि तोकिएको छ। 

कडा प्रतिबन्धमा नयाँ संक्रमणको दर छिटो घटाउन मद्दत पुग्नेछ। 

तेस्रो कडा परिदृश्यमा आर नम्बर ०.५ सम्म घट्न सक्छ र आईसीयूको माग विश्वभर त्यस देशको क्षमतामा आउन सक्ने बताइएको छ। 

यो परिदृश्यमा महामारीबाट ज्यान गुमाउनेको संख्या घटेर ती १६ देशमा १ लाख ३० हजारमा सीमित हुने अनुमान गरिएको छ। 

वैज्ञानिकहरुले प्रत्येक देशले आफ्नो घरेलु आवश्यकता र सुविधालाई ध्यानमा राखेर कति लामो अवधिका परिदृश्यहरु अँगाल्ने हुन् निक्र्यौल गर्नुपर्ने बताएका छन्। 

लगातार तीन महिना लामो कडा प्रतिबन्धहरु लागू गर्दा छिटो यो महामारीबाट छुटकारा पाइने र अधिकांश देशहरु नयाँ संक्रमण शून्यमा झार्न सफल हुने यो अन्तिम परिदृश्यले देखाएको वैज्ञानिकहरु बताउँछन्। 

यसैगरी यदि नरम प्रतिबन्धका लगातार लागू गर्दा नयाँ संक्रमण मामिलालाई शूून्यमा झार्न ६ महिनाभन्दा बढी लाग्ने वैज्ञानिकहरुको कथन छ। 

क्याम्ब्रिज विश्वविद्यालयमा महामारी विज्ञ राजीव चौधरीले तेस्रो परिदृश्य यो महामारी घटाउन उपयुक्त हुने बताउँछन्। ‘यो गरिब मुलुकहरुलाई हकमा उत्तम उपाय हुन सक्छ’, उनले भने। 

स्विट्जरल्यान्डस्थित बर्न विश्वविद्यालयमा इन्स्टिच्युट अफ सोसल एन्ड प्रिभेन्टिभ मेडिसनका निर्देशक अस्कर फ्रान्कोले वैज्ञानिकहरुबाट प्रस्तुत परिदृश्यहरुबाट विश्वभरका देशहरुका लागि महामारी नियन्त्रणका लागि राम्रो उपाय हुनसक्ने बताएका छन्। 

यता अन्तर्राष्ट्रिय मुद्रा कोषले यो महामारीका कारण विश्व सन् १९३० को महामन्दीको अवस्थामा पुग्नसक्ने चेतावनी दिएको छ। – एजेन्सी